सन्दर्भ विश्वकर्मा पूजाः लाटा कामी र दलवीरसिंह कामीहरुलाई विर्सिदा बाटो बिराएको नेपालको अर्थतन्त्र

Sep 17, 2026 05:57 AM Merolagani



बाबुराम ढकाल

विश्वकर्मा पूजा आउँदा नेपालले प्रत्येक वर्ष आफ्ना औजार, मेसिन र प्रविधिको पूजा गर्छ। 

नेपालमा असोज १ गते मनाइने यो पर्व मेसिन, औजार, कारखाना, कार्यस्थल र शिल्पसँग जोडिएको छ । भगवान विश्वकर्मालाई देवशिल्पी तथा निर्माणका प्रतीकका रूपमा मानिन्छ र यस दिन कारीगर, उद्योगी तथा प्राविधिकहरूले आफ्ना औजार र मेसिनको पूजा गर्ने परम्परा छ । तर यही दिन एउटा असहज प्रश्न पनि सोध्नुपर्ने हुन्छ—हामीले औजारको पूजा त गर्यौं, औजार बनाउने मानिसलाई कति सम्झियौँ ? लाटा कामी र दलवीरसिंह कामीहरुलाई कति सम्झियौं ?

किनकि नेपालमा विश्वकर्माको मूर्तिमा फूल चढाउने परम्परा छ, तर विश्वकर्माको भावनालाई जीवन्त बनाउने मानिसहरू भने इतिहासको छायामा छन् ।

प्रमाण खोज्न धेरै भौंतारिनु पर्दैन, सुर्खेतका दलबिर सिंह कामी र सल्यानका लाटा कामीका जीवन गाथा पढे पुग्छ । उनीहरुले देखाएको बाटो सम्झिदिए पुग्छ ।

तर, प्रश्न उही उठ्छ आजको टिकटक, फेसबुकका रिल्सहरुमा उधुम मच्चाइरहेको बेला उनीहरुलाई सम्झिने कसले ? शासन सत्तामा बस्नेहरु नै भाइरल मोहबाट ग्रसित भैरहेको बेला नेपालमा प्रविधिको विकासमा युगान्तकारी काम गरेका लाटा कामी र दलबिर सिंह कामीहरुलाई पढ्ने, उनीहरुका जीवन दर्शनबाट सिक्ने फुर्सद कस्लाई होस् ?

लाटा कामी: स्कुल नटेकेका महान वैज्ञानिक

लाटा कामी वि.सं १९७५ तिर सल्यानको खलङ्गामा जन्मिएका थिए। औपचारिक शिक्षा नपाएका भए पनि उनी धातु, यन्त्र र मेसिन बनाउने काममा असाधारण रुचि राख्थे। वास्तवमा उनी स्कुल टेक्न नपाएका महान वैज्ञानिक थिए भन्दा अन्यथा हुँदैन ।

उनले एयरगन,बन्दुक तथा पेस्तोलका नमुना तयार गरेको, ठूलो घडी, टाइपराइटरमा सुधार गरेका थिए । नेपालको नक्सा देखिने विशेष खुकुरी बनाएका थिए । सबैभन्दा ठूलो कुरा वाष्पशक्तिबाट चल्ने हेलिकोप्टर पनि बनाएका थिए । उनले पहिले वाफबाट आगो फुक्ने मेसिन बनाएको र त्यसपछि वाष्पशक्तिबाट चल्ने हेलिकोप्टर निर्माण गरेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनका क्रममा उनले बन्दुक बनाएर क्रान्तिकारीलाई सहयोग गरेका थिए ।

दुर्भाग्य के भयो भने उनको प्रतिभा संस्थागत हुन सकेन। अन्तिम समयमा उनी दृष्टिविहीन भए र वि.सं २०३७ मा दाङमा निधन भयो। नेपालको प्रविधिको विकासको लागि समर्पित उनलाई राज्यले खासै चासो नदिएको चर्चा जानकारहरुबीच अहिलेसम्म पनि चल्ने गर्छ ।

दलवीरसिंह कामीः आरनबाट पुल र सडकसम्म

संयोग भनौ नेपालको प्रविधि उद्योगका अर्का नायक दलवीरसिंह कामी पनि लाटाकामी जस्तै कर्णालीकै माटोमा जन्मिएका थिए । फरक यत्ति हो लाटा कामी सल्यानका थिए भने दलबिरसिंह दैलेखका ।

दलवीरसिंह कामीको जन्म वि,सं १९७८ मा दैलेखको रतीखोलामा भएको थियो। उनको पेशा आरन चलाउने र फलामका सामान बनाउने थियो। तर उनको सीप आरनको घेराभित्र रोकिएन। उनी दैलेख र सुर्खेतका विभिन्न स्थानमा पुल निर्माणमा संलग्न भए र पछि तत्कालीन जिल्ला पञ्चायतमा उप–ओभरसियरका रूपमा काम गरे।

उनकै निगरानीमा दैलेख र सुर्खेतका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण भएको तथा सुर्खेत–दैलेख–जुम्ला मोटर बाटो र सुर्खेत–नेपालगञ्ज सडकको रेखाङ्कनमा उनको भूमिका रहेको विवरण भेटिन्छ।
यो कथा नेपालका लागि विशेष अर्थपूर्ण छ।

किनकि इन्जिनियरिङको औपचारिक डिग्री नहुँदा पनि एउटा आरन चलाउने कारीगरले दुर्गम पहाडमा पुल र बाटो निर्माणको काम सम्हाल्न सके।

उनको प्रतिभा पुलमै सीमित थिएन। उपलब्ध विवरणअनुसार उनले फलामका सामानदेखि सुनका गहना, बन्दुकदेखि बिग्रेका टाइपराइटर, पेट्रोमेक्स, घडी, रेडियो र सैनिक सञ्चार उपकरणसम्म मर्मत गर्थे।

सुर्खेत विमानस्थल निर्माणका क्रममा उनले स्थानीय साधन प्रयोग गरेर जमिन सम्याउने एउटा रोलरसमेत बनाएको विवरण छ। पछि सुर्खेतको इत्राम खोलामा पानीबाट चल्ने मिल बनाएको र एकपटक दैलेखको दुर्गम क्षेत्रमा बिग्रिएको सैनिक हेलिकोप्टरलाई समेत चलाउन सफल भएका थिए । 

दुई कामी, एउटै प्रश्न

लाटा कामीले यन्त्र बनाए । दलवीरसिंहले पुल बनाए। एकजनाले आफ्नो कल्पनालाई मेसिनमा उतारे। अर्काले पहाडको भूगोललाई बाटो र पुलसँग जोड्ने काम गरे। तर दुवै कथामा एउटा समानता छ,उनीहरूको ज्ञान संस्थागत हुन सकेन।

आज हामी नेपालमा प्राविधिक जनशक्ति विदेश पलायन भयो भनेर चिन्ता गर्छौँ। गाउँमा सीप भएका मानिस छैनन् भनेर चिन्ता गर्छौँ। उद्योगका लागि दक्ष जनशक्ति चाहियो भन्छौँ। तर नेपालको इतिहासमा स्थानीय स्रोतबाट समस्या समाधान गर्ने मानिसहरू थिए कि थिएनन् ? थिए भने उनीहरुले कसरी काम गरेका थिए भनेर खोज्ने काम भने निकै कम भएको देखिन्छ।

विश्वकर्मा पूजाको वास्तविक अर्थ यहीँबाट सुरु हुन्छ । यदि विश्वकर्मा देवशिल्पीका प्रतीक हुन् भने विश्वकर्मा पूजा श्रम र सीपको सम्मान गर्ने पर्व पनि हो। तर नेपालमा यसको आर्थिक अर्थ अझ अगाडि लैजान सकिन्छ।

कृषकले हलो बनाउने कारीगरदेखि कृषि मेसिन बनाउने प्राविधिकसम्म, आरन चलाउने व्यक्तिदेखि जलविद्युत् उपकरण मर्मत गर्ने प्राविधिकसम्म, काठको काम गर्ने सिकर्मीबाट आधुनिक निर्माण इन्जिनियरसम्म ।यी सबै एउटै उत्पादन शृङ्खलाका मानिस हुन्। देशको अर्थतन्त्रमा उत्पादन बढाउने काम केवल बैंकले ऋण दिएर हुँदैन।

ऋण, सीप, औजार, प्रविधि, बजार, पूर्वाधार . उत्पादन सबै पक्षमा आवश्यकताअनुसार लगानी गर्नुपर्छ । यीमध्ये एउटा पनि कमजोर भयो भने उत्पादन प्रणाली कमजोर हुन्छ।

त्यसैले विश्वकर्मा पूजालाई केवल मेसिनमा टीका लगाउने दिन बनाएर छोड्ने कि देशको उत्पादन क्षमता पुनर्विचार गर्ने दिन बनाउनेरु प्रश्न यही हो।

अनि अर्थतन्त्रले किन बाटो नबिराओस

नेपालमा अर्थतन्त्र सही गतिमा अगाडि नबढेको बारेमा धेरै मानिसहरुको चिन्ता देखिन्छ । त्यो चिन्ता स्वभाविक पनि हो । तर, बाटो कसरी विरायो ? त्यसको जड खोज्ने हो भने लाटा कामी र दलबिर सिंह कामीहरुले भोगेको नियतिमा पुग्नु पर्छ ।

जुन देशमा उनीहरु जस्ता वैज्ञानिक उपचार नपाएर अकालमा मर्नु पर्छ, अपहेलित हुनुपर्छ, त्यस्तो देशको अवस्था कसरी राम्रो हुन्छ ? अर्थतन्त्रले सही बाटो कसरी अगाडि बढ्छ ? आजको लागि सबैभन्दा गम्भिर प्रश्न यही हो ।

नेपालमा सडक बनेका छन्। पुल बनेका छन्। विद्युत् उत्पादन बढेको छ। सूचना प्रविधि विस्तार भएको छ। बैंकिङ पहुँच बढेको छ। तर उत्पादनबाट बजारसम्म पुग्ने आर्थिक बाटो अझै अपूर्ण छ। नेपालसँग काम गर्ने हात छन्, तर उद्योग कम छन् । नेपालसँग कृषि उत्पादनको सम्भावना छ, तर प्रशोधन उद्योग कमजोर छन्। नेपालसँग जलविद्युत् छ, तर ऊर्जा प्रयोग गरेर ठूलो उत्पादन उद्योग विस्तार गर्ने क्षमता सीमित छ।

नेपालसँग युवाशक्ति छ, तर ठूलो हिस्सा रोजगारीका लागि विदेश जान्छ।

नेपालसँग स्थानीय सीप छ, तर त्यसलाई आधुनिक प्रविधि र बजारसँग जोड्ने संस्थागत संयन्त्र कमजोर छ। त्यस्तो सीप, प्रविधि र त्यसका आविश्कारकहरुलाई आवश्यक पूँजी, कच्चा पदार्थ र प्रोत्साहनको अभाव छ । यदि त्यो अभावलाई मेटाउँदै राज्यले लगानी प्रवर्धन गर्ने हो, खासगरि कृषि प्रविधिका पुजारी मानिने विश्वकर्माहरुको जीवन निर्वाहको सुनिश्चितता गर्ने हो भने नेपालको प्रविधि विकासले फड्को मार्ने छ । प्रविधिको विकासको सोझो अर्थ आर्थिक विकास नै हो भन्नेमा पनि शंका छैन ।

विश्वकर्मा पूजाको दिन हामी मेसिनको पूजा गर्छौँ। आज ती मेसिनमा कृत्रिम बुद्धिमत्ता जोडिएको छ।
तर प्रविधि जति आधुनिक भए पनि मूल प्रश्न उही हो कसले बनाउने ? कसले चलाउने ? कसले मर्मत गर्ने ? कसले सुधार गर्ने ? र त्यसबाट सिर्जना हुने मूल्य कसको अर्थतन्त्रमा बस्ने ?

नेपालले प्रविधि आयात गरेर मात्र समृद्धि हासिल गर्न सक्दैन। केही हदसम्म प्रविधि आयात आवश्यक हुन्छ, तर त्यससँगै प्रविधि बुझ्ने, सुधार गर्ने र आफ्नै आवश्यकताअनुसार नयाँ प्रविधि बनाउने क्षमता विकास गर्नुपर्छ।

लाटा कामीको कथा यही स्वदेशी प्रयोगशीलताको पुरानो स्मृति हो । दलवीरसिंहको कथा यही स्थानीय इन्जिनियरिङ क्षमताको अर्को स्मृति हो।

अब विश्वकर्मा पूजामा एउटा नयाँ सङ्कल्प किन नगर्ने ?

हरेक जिल्लामा पुराना कारीगर, स्थानीय आविष्कारक र परम्परागत प्राविधिक ज्ञानको अभिलेख तयार गर्न सकिन्छ।

कुन गाउँमा कसले पानीघट्ट बनायो ?
कसले स्थानीय कृषि औजार सुधार्यो ?
कसले सिँचाइको नयाँ तरिका निकाल्यो ?
कसले धातु, काठ वा बाँसबाट उपयोगी उपकरण बनायो ?
कसले पशुपालनका लागि स्थानीय प्रविधि विकास गर्यो ?
कसले पहाडमा पुल बनाउने नयाँ तरिका निकाल्यो ?

यस्ता प्रश्नको उत्तर खोजेर अभिलेख बनाउन सकियो भने नेपालको आफ्नै स्थानीय प्रविधि इतिहास तयार हुन सक्छ। त्यसपछि ती ज्ञानलाई प्राविधिक शिक्षालय, विश्वविद्यालय, अनुसन्धान संस्था र उद्योगसँग जोड्न सकिन्छ।

नेपालसंग कृषि छ, वन छ, जलस्रोत छ, पर्यटन छ, युवा छन्, प्रविधि छ, स्थानीय सीप छ। हराएको कुरा शायद यी सबैलाई एउटै उत्पादन प्रणालीमा जोड्ने बाटो हो। विश्वकर्मा पूजा त्यस बाटोको प्रतीक बन्न सक्छ।

लाटा कामीको सिर्जनशीलता, दलवीरसिंहको स्थानीय इन्जिनियरिङ, आजका प्राविधिक युवाको ज्ञान र आधुनिक उद्योगको पूँजीलाई एउटै शृङ्खलामा जोड्न सके नेपालको अर्थतन्त्रले नयाँ दिशा पाउन सक्छ।

त्यसैले आउनुहोस्, विश्वकर्मा पुजाको दिन दलिबिर सिंह विश्वकर्मा र लाटा कामीहरुलाई श्रद्धान्जली दिंदै एउटा राष्ट्रिय प्रण गरौं,स्वदेशी प्रविधिको प्रयोग गरौं, प्रविधिसंग सम्वन्धित अनुसन्धानकर्ता, बैज्ञानिक र विश्वकर्माहरुलाई सम्मान र प्रोत्साहन गरौं ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।