बोर्डका अनुसार २०८३ असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिप्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको थियो। उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार नै स्थगित गर्नुपरेको जानकारी प्राप्त भएपछि बोर्डले चासो देखाएको हो।
धितोपत्र कारोबार रोक्नुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्नेबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेश गर्न बोर्डले नेप्सेलाई स्पष्ट निर्देशन दिएको छ। यसैबीच, प्राविधिकलगायतका समस्या पहिचान गर्न र कारोबार स्थगित हुनुको कारण पहिल्याउन बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली समेत खटाइसकिएको छ। धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार टोलीले पेश गर्ने सुझावका आधारमा आगामी दिनहरूमा नेपालको धितोपत्र बजारलाई अझ स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन थप कार्यहरू अगाडि बढाउन बोर्ड प्रतिबद्ध रहेको छ।