नुवाकोटका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला दोभानमा भदौ ३१ गते ती सामग्री फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको छ।
लकर तथा दराजका धनी पहिचान हुन नसकेपछि प्रहरीले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा पनि आज एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उक्त लकर दाबी गर्न हालसम्म कोही सम्पर्कमा नआएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले बताए।
बाढीका कारण सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई समेत नजिकको प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले आग्रह गरेको छ।