बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोत व्यवस्थापनमा तीव्र काम गरिरहेको बताए।
बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धारका लागि हाल २२ वटा हेलिकोप्टर परिचालन गरिएको उनले जानकारी दिए। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइएको उनको भनाइ छ।
विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन पनि सरकार सक्रिय भएको अर्थमन्त्री वाग्लेले बताए। उनका अनुसार विश्व बैंकसँगको समन्वयमा करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित गरिएको छ। चीन, भारत, जापान, एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट पनि सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले जानकारी दिए।
चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात रहेकाले तत्काल उद्धार र राहतमा स्रोतको कमी नहुने अर्थमन्त्री वाग्लेको भनाइ छ।
प्रारम्भिक विवरणअनुसार विपद्बाट २५ वटा पक्की पुल तथा निजी क्षेत्रका ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
अर्थमन्त्री वाग्लेले अहिलेको संकट समाधानका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाज सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण जस्तै वैज्ञानिक तथ्य र योजनाका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।