यस वर्षको सूचीमा भारतका धनी महिलाको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्ष १०० जना महिला सूचीमा रहेकामा यस वर्ष यो संख्या बढेर १३१ पुगेको छ। एचसीएल टेक्नोलोजिजकी रोशनी नाडर मल्होत्रा २ लाख ७९ हजार करोड भारतीय रुपैयाँ सम्पत्तिसहित भारतकै सबैभन्दा धनी महिला बनेकी छन्।
एलएन मित्तल तेस्रो स्थानमा
आर्सेलरमित्तलका अध्यक्ष लक्ष्मी निवास मित्तल र उनको परिवार यस वर्ष आठ स्थान माथि उक्लिँदै तेस्रो स्थानमा पुगेका छन्। उनीहरूको सम्पत्ति ९३ प्रतिशतले बढेर ३ लाख ३९ हजार करोड भारतीय रुपैयाँ पुगेको छ।
युरोपमा स्टिल आयातसम्बन्धी संरक्षणात्मक नीति तथा स्टिलको मूल्यमा भएको वृद्धिले मित्तल परिवारको सम्पत्ति बढाउन योगदान गरेको हुरुनको सूचीले देखाएको छ।
वेदान्त समूहका अनिल अग्रवाल र उनको परिवार पनि ठूलो सम्पत्ति वृद्धिसहित शीर्ष १० मा परेका छन्। उनीहरूको सम्पत्ति ८७ प्रतिशतले बढेर २ लाख ८ हजार करोड भारतीय रुपैयाँ पुगेको छ। अग्रवाल परिवार सूचीको नवौँ स्थानमा छ।
टोरन्ट फार्मास्युटिकल्सका समीर मेहता र उनको परिवारको सम्पत्ति पनि ५२ प्रतिशतले बढेको छ। १ लाख ८९ हजार करोड भारतीय रुपैयाँ सम्पत्तिसहित उनीहरू पहिलोपटक शीर्ष १० मा प्रवेश गर्दै दसौँ स्थानमा पुगेका छन्।
पहिलोपटक छुट्टै क्षेत्रका रूपमा एआई
हुरुन इन्डिया रिच लिस्टमा पहिलोपटक कृत्रिम बौद्धिकता अर्थात् एआई क्षेत्रलाई छुट्टै क्षेत्रका रूपमा समावेश गरिएको छ। यस क्षेत्रमा आबद्ध १९ जना धनी व्यक्ति सूचीमा परेका छन्। उनीहरूको संयुक्त सम्पत्ति ३ लाख ७ हजार करोड भारतीय रुपैयाँ रहेको छ।
एआई क्षेत्रका सूचीबद्ध १९ जनामध्ये १५ जना यस वर्ष पहिलोपटक हुरुनको धनीको सूचीमा समेटिएका हुन्। यी नयाँ एआई उद्यमीहरूले मात्रै १ लाख ८२ हजार करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति जोडेको रिपोर्टमा उल्लेख छ।
कन्ट्रोल एस डाटासेन्टर्स, योट्टा, एस्टेरा ल्याब्स, प्यारालल वेब सिस्टम्स, सर्वम एआई र इमर्जेन्ट एआईलगायत कम्पनीका प्रवर्द्धकहरू यस सूचीमा परेका छन्।
२८ वर्षमै एआई व्यवसायबाट ४ हजार २०० करोडको सम्पत्ति
एआई क्षेत्रमा नयाँ पुस्ताका उद्यमीहरूको उदय पनि यस वर्षको सूचीको उल्लेखनीय पक्ष बनेको छ। एआई कम्पनी विस्पर फ्लोका संस्थापक तनय कोठारी र सहज गर्ग हुरुनको सूचीमा समावेश हुने सबैभन्दा कम उमेरका एआई व्यवसायी बनेका छन्।
दुवैको उमेर २८ वर्ष रहेको छ। उनीहरू प्रत्येकको सम्पत्ति करिब ४ हजार २०० करोड भारतीय रुपैयाँ रहेको हुरुनको अनुमान छ।
भारतमा डलर अर्बपतिको संख्या ३९१ पुग्यो
भारतमा एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिको संख्या पनि निरन्तर बढिरहेको छ। पछिल्लो एक वर्षमा मात्रै भारतमा थप २७ जना डलर अर्बपति थपिएका छन्। यससँगै भारतमा डलर अर्बपतिको संख्या ३९१ पुगेको छ।
पाँच वर्षअघि भारतमा यस्तो सम्पत्ति भएका व्यक्तिको संख्या २३७ मात्रै थियो। पाँच वर्षको अवधिमा डलर अर्बपतिको संख्या १५४ ले बढेको हो।
समग्र हुरुन रिच लिस्टमा यस वर्ष १२८ नयाँ व्यक्ति तथा परिवार थपिएका छन्। पछिल्लो पाँच वर्षमा सूचीमा ८०३ नयाँ नाम थपिएका छन्। सूचीमा समावेशमध्ये करिब ७० प्रतिशत अर्थात् १ हजार २६६ जना आफ्नै व्यवसाय वा प्रयासबाट यो स्तरको सम्पत्ति निर्माण गर्न सफल भएको रिपोर्टमा उल्लेख छ।
औद्योगिक उत्पादन क्षेत्रका धनी सबैभन्दा धेरै
क्षेत्रगत रूपमा हेर्दा हुरुनको सूचीमा सबैभन्दा धेरै धनी व्यक्ति औद्योगिक उत्पादन क्षेत्रबाट रहेका छन्। यस क्षेत्रका १६६ जना सूचीमा परेका छन्।
त्यसपछि रसायन क्षेत्रका १४२ जना र औषधि क्षेत्रका १३६ जना धनी व्यक्ति सूचीमा समावेश छन्।
धनीहरूको रोजाइमा मुम्बई
भारतका धनी व्यक्तिहरूको बसोबासका हिसाबले मुम्बई पहिलो स्थानमा रहेको छ। मुम्बईमा हुरुनको सूचीमा समावेश ४६५ जना धनी व्यक्ति बसोबास गर्छन्।
राजधानी नयाँ दिल्ली २३६ जना धनीसहित दोस्रो स्थानमा छ भने बेंगलुरुमा १२९ जना धनी व्यक्ति बसोबास गर्छन्। यससँगै भारतको सम्पत्ति निर्माण र ठूलो व्यवसायको केन्द्रका रूपमा मुम्बई, नयाँ दिल्ली र बेंगलुरुको प्रभाव कायम रहेको देखिन्छ।