प्रतिरोध परीक्षणमा हिमाल दोलखा हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Oct 04, 2026 05:54 PM Merolagani



गत साता जलविद्युत उपसमूहको परिसूचक २.१३ प्रतिशत घटेको छ। अघिल्लो साता ३६०३.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ७६.७८ अंक घटेर ३५२६.६३ विन्दुमा झरेको छ।

यसै उपसमूह अन्तर्गतको एक कम्पनीको हो हिमाल दोलखा हाइड्रोपावर कम्पनी (HDHPC)।

यस कम्पनीको शेयरमूल्य गत साता समग्रमा ३० पैसा घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २२० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य गत साता २२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिरोध परीक्षणमा

गत साता कम्पनीको शेयरमूल्यले २२५ देखि २३० को प्रतिरोध परीक्षण गरेको छ। साताको अन्तिम दुई कारोबार दिन कम्पनीको शेयरमूल्यले सो क्षेत्र परीक्षण गरी सोभन्दा तल बन्द भएको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा २६० देखि २७० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, सो क्षेत्रमा प्रतिरोधको सामना गरी तल झरेमा १९० देखि १९५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

मुभिङ्ग एभरेजको बलियो साथ

हाल कम्पनीकोा शेयरमूल्य १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा माथि रहेको छ। मुभिङ्ग एभरेजहरु क्रमशः एक पछि अर्को गर्दै उकालो लाग्नुले अल्पकालीन तथा मध्यकालीन रुपमा शेयरमा बुलिश ट्रेण्ड बलियो बन्दै गएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता कम्पनीको भोल्यूम २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले प्रतिरोध क्षेत्रलाई तोड्नका लागि थप भोल्यूमको आवश्यकता पर्ने देखिन्छ।

खरिदकर्ताको दबदबा कायमै

गत साताको अन्तिम कारोबार दिन कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा रहेका छन्। यसले कम्पनीको शेयरमा खरिदकर्ताको दबदबा कायम रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने दुई रेखा बीचको दूरी र हिस्टोग्रामको उचाई घट्न थालेको देखिन्छ।

कन्सोलिडेसनको सम्भावना

गत साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट क्षेत्र नजिकैबाट थोरै तल ओर्लिएको छ, जसले अल्पकालीन रुपमा बजार केही दिन कन्सोलिडेसनमा रहन सक्ने संकेत गर्दछ।

आधारभूत विश्लेषण

नेप्सेमा कम्पनीको २ करोड ८० लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ। कम्पनीको १८० दिनको औषत मूल्य २१७ रुपैयाँ रहेको छ। कम्पनीको ५२ दिनेको उच्च मूल्य २७४ रुपैयाँ रहेको छ भने न्यून मूल्य १६५ रुपैयाँ १० पैसा रहेको छ।

वित्तीय विश्लेषण

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ११ करोड ७४ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। गत असोज महिनामा आयोजना स्थल ईलाममा भिषण वर्षा भई माई खोलामा आएको बाढीले गर्दा भौतिकरुपमा धेरै नै क्षति भई हाल आयोजनाको मर्मत तथा निर्माण कार्य सम्पन्न भइ नसकेको हुँदा विद्युत आम्दानी घट्न पुगेको हो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ६४ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ५२ लाख २३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७८ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४० पैसा ऋणात्मक रहेको छ। कम्पनीको बुकभ्यालु ७१ रुपैयाँ ९७ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.०६ गुणा रहेको छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सर्वाधिक ९३ हजार ५० कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४२ ले ७६ हजार ८५३कित्ता र ७७ ले ७१ हजार २४५ कित्ता शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्ने ब्रोकर पनि गत साता ५८ नै रहेको छ। सो ब्रोकरले गत साता कम्पनीको १ लाख २ हजार कित्ता भन्दा बढी शेयर बिक्री गरको छ।

शेयरमूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनबाट फियर जोनमा झरेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।