प्रस्तावित व्यवस्था कार्यान्वयन भए हालको नेप्से सूचकाङ्कलाई यथावत राखेर समग्र सूचीकृत शेयरको मूल्यगत अवस्था मापन गर्ने सूचकका रूपमा विकास गरिनेछ भने कारोबारयोग्य शेयरका आधारमा छुट्टै बेञ्चमार्क सूचकाङ्क गणना गरिनेछ।
नेपाल सरकार, अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते जारी गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ को बुँदा नम्बर ६ मा नयाँ आधारभूत सूचकाङ्क २०८३ मंसिर मसान्तभित्र प्रयोगमा ल्याउने उल्लेख छ। सोही कार्ययोजनाअनुसार बोर्डले सूचकाङ्कको पुनर्संरचनासम्बन्धी कार्यपत्र सार्वजनिक गरेको हो। बोर्डले प्रस्तावित कार्यपत्रमा २०८३ कात्तिक १५ गतेभित्र सुझाव दिन सरोकारवालालाई अनुरोध गरेको छ।
हाल नेप्से सूचकाङ्क गणना गर्दा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरणलाई आधार बनाइन्छ। यसमा संस्थापक, सरकारी स्वामित्व र लक–इनमा रहेका शेयरसमेत समावेश हुन्छन्। यस्ता शेयरमध्ये कतिपय दैनिक कारोबारका लागि उपलब्ध हुँदैनन्। तर तिनको बजार मूल्यले सूचकाङ्कमा प्रभाव पार्ने भएकाले बजारमा वास्तविक रूपमा कारोबार गर्न उपलब्ध शेयरको अवस्थालाई सूचकाङ्कले पूर्ण रूपमा प्रतिनिधित्व नगर्ने समस्या रहेको कार्यपत्रमा उल्लेख छ।
यसको समाधानका लागि हालको नेप्से सूचकाङ्कका रूपमा पुनर्परिभाषित गर्ने र कारोबारयोग्य फ्री–फ्लोट शेयरको बजार पुँजीकरणमा आधारित विकास गर्ने प्रस्ताव गरिएको छ। यसबाट समग्र सूचीकृत शेयर बजारको अवस्था र लगानीका लागि वास्तवमै उपलब्ध शेयरको मूल्यगत प्रदर्शन छुट्टाछुट्टै मापन गर्न सकिनेछ।
नयाँ बेञ्चमार्क सूचकाङ्क गणना गर्दा संस्थापक, सरकारी स्वामित्व, रणनीतिक स्वामित्व तथा लक–इनमा रहेका कारोबार गर्न नमिल्ने शेयरलाई फ्री–फ्लोटबाट अलग गरिनेछ। त्यसपछि कारोबारयोग्य शेयरको अनुपातका आधारमा कम्पनीको सूचकाङ्कमा पर्ने भार निर्धारण गरिनेछ। कार्यपत्रमा फ्री–फ्लोटको अनुपातअनुसार ०.०५ देखि १.०० सम्मका फ्याक्टर प्रस्ताव गरिएको छ। यसको अन्तिम वर्गीकरण भने कम्पनीको वास्तविक स्वामित्व संरचना, कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि निर्धारण गर्न सकिने उल्लेख छ।
कार्यपत्रमा नयाँ सूचकाङ्कले संस्थागत लगानीकर्ताको लगानी प्रदर्शन मापन गर्न,सामूहिक लगानी कोष तथा इन्डेक्स फन्डको विकास गर्न र भविष्यमा एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) तथा डेरिभेटिभ्सजस्ता वित्तीय उपकरणको विकासका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ। यसले विदेशी संस्थागत लगानीकर्तालाई नेपालको लगानीयोग्य शेयर बजारको अवस्था विश्लेषण गर्नसमेत सहज बनाउने लक्ष्य राखेको छ।
नयाँ सूचकाङ्कको गणना तथा कार्यान्वयनका लागि कम्तीमा छ महिनासम्म हालको नेप्से सूचकाङ्क, फ्लोट सूचकाङ्क र प्रस्तावित बेञ्चमार्क सूचकाङ्क समानान्तर रूपमा गणना गर्ने प्रस्ताव छ। यस अवधिमा सूचकाङ्कको मूल्य, समावेश कम्पनी, कम्पनीगत भार, बजारको प्रतिनिधित्व, कारोबारको हिस्सा र उतारचढावको अध्ययन गरिनेछ। ऐतिहासिक तथ्याङ्कमा आधारित परीक्षण तथा सार्वजनिक परामर्शपछि नयाँ सूचकाङ्कलाई औपचारिक रूपमा लागू गर्ने प्रस्ताव कार्यपत्रमा छ।
यद्यपि, फ्री–फ्लोटका आधारमा सूचकाङ्कको भार परिवर्तन हुँदा केही कम्पनीको प्रभाव घट्ने र केहीको बढ्ने सम्भावना छ। त्यसैले नयाँ सूचकाङ्कको सुरुआती मूल्य हालको नेप्से सूचकाङ्कभन्दा फरक हुन सक्ने तथा एउटामा वृद्धि हुँदा अर्कोमा गिरावट देखिन सक्ने जोखिमसमेत कार्यपत्रमा औँल्याइएको छ। स्वामित्वसम्बन्धी तथ्याङ्कको विश्वसनीयता, पारदर्शी गणना विधि र लगानीकर्ता सचेतनालाई यसको सफल कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिएको छ।
बोर्डको प्रस्तावअनुसार यो पुनसंरचना हालको नेप्से सूचकांक हटाउने नभई त्यसको उद्देश्य स्पष्ट पार्दै समग्र बजार मापन र लगानीयोग्य बजार मापनका लागि छुट्टाछुट्टै सूचकाङ्क विकास गर्ने प्रक्रिया हो। प्रस्तावित व्यवस्था अन्तिम रूपमा स्वीकृत भई कार्यान्वयनमा आएपछि नेपालको धितोपत्र बजारको मूल्यगत अवस्था मापन गर्ने पद्धतिलाई थप यथार्थपरक र अन्तर्राष्ट्रिय स्तरको हुनेमा विश्वास गरिएको छ।