माइक्रोसफ्टद्वारा ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव, आकर्षक सुविधा उपलब्ध गराइने

Oct 27, 2026 04:57 PM merolagani



प्रविधि क्षेत्रको अग्रणी कम्पनी माइक्रोसफ्टले आफ्ना करिब ६० हजार कर्मचारीलाई आकर्षक आर्थिक प्याकेजसहित स्वेच्छिक अवकाश (जागिर छोड्ने विकल्प) को प्रस्ताव गरेको छ।

यो प्रस्ताव भारत,अमेरिका,क्यानडा र बेलायतमा कार्यरत 'लेभल ७०' वा सोभन्दा मुनिका कर्मचारीहरूका लागि लागू हुनेछ। विश्वभर माइक्रोसफ्टमा कुल २ लाख २३ हजार कर्मचारी कार्यरत छन्, जसमध्ये भारतमा मात्रै २३ हजार छन्। यस अफरका लागि योग्य कर्मचारीहरूलाई इमेलमार्फत विस्तृत विवरण पठाइने र उनीहरूले आगामी डिसेम्बर १ भित्र यस सम्बन्धमा निर्णय लिनुपर्नेछ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि र नयाँ प्रणालीहरूको तीव्र विकासमा भइरहेको ठूलो लगानी तथा खर्चलाई सन्तुलनमा राख्न कम्पनीले यस्तो कदम चालेको हो।

कुन-कुन तहका कर्मचारी योग्य छन्?

माइक्रोसफ्टमा इन्ट्री लेभल (प्रवेश तह) ५९ बाट सुरु हुन्छ भने तह ७० भन्दा माथिका पदहरू वरिष्ठ मानिन्छन्। यसपटक कम्पनीको जुनियर, मध्यम र केही वरिष्ठ तहका कर्मचारीहरूलाई लक्षित गरिएको छ। यसमा सफ्टवेयर इन्जिनियर, वरिष्ठ इन्जिनियर, प्रोजेक्ट म्यानेजर, टिम लिडर, सिनियर डाइरेक्टर र मध्यम तहका प्रबन्धकहरू समावेश छन्।

अवकाश लिनेले के-कस्ता सुविधा पाउनेछन्?

'बिजनेस इन्साइडर' को रिपोर्ट अनुसार, स्वेच्छिक अवकाश रोज्ने कर्मचारीहरूलाई तह अनुसार निम्न सुविधा प्रदान गरिनेछ:

  • तह ६४ र मुनि:काम गरेको प्रत्येक ६ महिना बराबर १ हप्ताको आधारभूत तलब (अधिकतम ३९ हप्तासम्म)।
  • तह ६५ देखि ६७ सम्म:काम गरेको प्रत्येक ६ महिना बराबर २ हप्ताको आधारभूत तलब (अधिकतम ३९ हप्तासम्म)।
  • तह ६८:पूरा १२ महिनाको तलब बराबरको एकमुष्ट प्याकेज।

थप सुविधाहरू:तह ६७ र मुनिका कर्मचारीहरूले सेवा अवधिका आधारमा ६ देखि १२ महिनासम्म विभिन्न सुविधाका साथै निश्चित अवधिसम्म स्वास्थ्य बीमा (मेडिकल इन्स्योरेन्स) पाउनेछन्।

प्रस्ताव स्वीकार नगरे के हुन्छ?

यो प्रस्ताव अनिवार्य नभई पूर्णतया स्वेच्छिक हो। प्रस्ताव स्वीकार नगर्ने कर्मचारीहरूले आफ्नै पदमा काम जारी राख्न सक्छन् वा कम्पनीले उनीहरूलाई अर्को टिम वा प्रोजेक्टमा स्थानान्तरण गर्न सक्छ।

यद्यपि, स्वेच्छिक अवकाशमार्फत खर्च कटौतीको लक्ष्य पूरा नभएमा कम्पनीले भविष्यमा कर्मचारी निष्कासन (लेअफ) को बाटो रोज्न सक्ने चेतावनी दिइएको छ। त्यस्तो अवस्थामा कर्मचारीहरूले अहिले दिइएको जस्तो आकर्षक सुविधा नपाउन सक्छन्।

'यो हाम्रा लागि नयाँ प्रयोग हो' :प्रमुख जनशक्ति अधिकृत

माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख जनशक्ति अधिकृत (चीफ पिपुल अफिसर) एमी कोलम्यानले यो स्वेच्छिक अवकाश प्रस्ताव कम्पनीका लागि एउटा नयाँ प्रयोग भएको र यसबाट धेरै कुरा सिक्ने बताएकी छन्। उनले कर्मचारीहरूलाई नयाँ अवसर खोज्न र कम्पनीको मुख्य प्राथमिकताका काममा ध्यान केन्द्रित गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो नीति ल्याइएको प्रष्ट पारेकी छन्।

यसअघि जुलाईमा ४,८०० कर्मचारी कटौती

यसअघि गत जुलाईको सुरुमा पनि माइक्रोसफ्टले तीव्र रूपमा परिवर्तन भइरहेको प्रविधिसँग तालमेल मिलाउन विश्वभरका करिब ४,८०० कर्मचारी (कुल जनशक्तिको २.१ प्रतिशत) कटौती गरेको थियो। कर्मचारी कटौतीको असर कम गर्न कम्पनीले धेरै जनशक्तिलाई अन्य विभागमा स्थानान्तरण गरेको र केहीलाई स्वेच्छिक अवकाशको विकल्प दिएको थियो।