युद्ध सुरु भएपछि उद्योगको उत्पादन घट्छ,व्यापार अवरुद्ध हुन्छ,लगानीको वातावरण बिग्रन्छ र भविष्यको आम्दानी अनिश्चित बन्छ। त्यसैले युद्धको अवस्थामा सेयर बजार ओरालो लाग्नु अस्वाभाविक होइन।
तर इरानको पछिल्लो पुँजी बजारले यो सामान्य मान्यताभन्दा फरक दृश्य प्रस्तुत गरिरहेको छ। सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलको सैन्य आक्रमणपछि इरानको सेयर बजार करिब ८० दिन बन्द भयो। युद्धले अर्थतन्त्रलाई थप कमजोर बनायो। तर मे १९ मा बजार पुनः खुलेपछि सुरु भएको वृद्धिले अक्टोबरको अन्त्यसम्म आइपुग्दा नयाँ चर्चा मात्रै सृजना गरेको छैन, बजार विश्लेषकहरुलाई समेत रनभुल्लमा पारिरहेको छ ।
अक्टोबर ३० मा तेहरान स्टक एक्सचेन्जको प्रमुख सूचकांक TEDPIX ७९ लाख ९० हजार १७ अंकमा बन्द भएको थियो । यो युद्धअघि सन् २०२६ को सुरुवातमा कायम भएको करिब ४५ लाख अंकको ऐतिहासिक उचाइभन्दा झन्डै ७८ प्रतिशत बढी हो । यद्यपि अक्टोबर १४ मा बनेको ८४ लाख २५ हजार अंकको पछिल्लो उच्च बिन्दुबाट बजार केही तल झरेको छ।
अर्थात् युद्धले अर्थतन्त्रलाई कमजोर बनाइरहेको समयमा सेयर बजार भने नाममात्र मूल्यका आधारमा तीव्र गतिमा बढिरहेको छ। यही विरोधाभास इरानको अहिलेको आर्थिक अवस्थाको सबैभन्दा रोचक पक्ष हो।
युद्धअघि नै संकटमा थियो इरानको अर्थतन्त्र
इरानको अर्थतन्त्र अहिलेको युद्धले मात्रै कमजोर बनाएको होइन। लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध, विदेशी मुद्रा अभाव, उच्च मुद्रास्फीति, बेरोजगारी र राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई दबाब दिँदै आएका थिए।
सन् २०२५ को अन्त्यतिर सुरु भएका विरोध प्रदर्शन र जनवरी २०२६ को राजनीतिक तनावले पनि लगानीकर्ताको विश्वास कमजोर बनाएको थियो।
यस्तो अवस्थामा पनि इरानको सेयर बजारमा लगानी बढिरहेको थियो। स्थानीय मुद्रा रियालको मूल्य घट्दै गएपछि लगानीकर्ताले नगदभन्दा सुन, विदेशी मुद्रा, घरजग्गा र सेयरलाई सम्पत्ति जोगाउने विकल्पका रूपमा लिन थालेका थिए।
सन् २०२६ को जनवरीको सुरुवातमा TEDPIX करिब ४५ लाख अंकको ऐतिहासिक उच्च तहमा पुगेको थियो। तर त्यसको पछाडि अर्थतन्त्रको वास्तविक सुधारभन्दा मुद्रास्फीति र मुद्राको अवमूल्यनको प्रभाव पनि थियो।
फेब्रुअरी २८ : युद्ध सुरु भएपछि ८० दिन बजार बन्द
फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि इरानको वित्तीय प्रणालीमा अनिश्चितता बढ्यो। सरकारले सेयर बजार बन्द गर्ने निर्णय गर्यो।
बजार बन्द हुनुको उद्देश्य आतंकित बिक्री रोक्नु, लगानीकर्ताको सम्पत्तिको सुरक्षा गर्नु र युद्धबाट प्रभावित कम्पनीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्नु थियो।
तर बजार बन्द हुँदा लगानीकर्ताले आफ्नो सेयर बेचेर नगद बनाउन पाएनन्। बजारमा मूल्य निर्धारण हुन सकेन। कतिपय कम्पनीका उत्पादन केन्द्र, उद्योग र सम्पत्तिमा भएको क्षतिको विवरणसमेत स्पष्ट थिएन।
मे १९ मा बजार पुनः सञ्चालनमा आए पनि ४२ वटा कम्पनीको सेयर तत्काल कारोबारमा समावेश गरिएन। ती कम्पनीले बजारको कुल पुँजीकरणको करिब ३६ प्रतिशत हिस्सा ओगटेका थिए।
मे २० मा TEDPIX ३७ लाख ५८ हजार अंकभन्दा माथि पुगेको थियो। बजारमा खरिद आदेश बिक्री आदेशभन्दा बढी देखिएका थिए। तर यो वृद्धिलाई अर्थतन्त्रको सुधारको संकेत मान्न नहुने चेतावनीसमेत अर्थशास्त्रीहरूले दिएका थिए।
अर्थतन्त्र कमजोर हुँदै जाँदा सेयर बजार किन बढिरहेको छ?
इरानको बजारको वास्तविक कथा यही हो। यसको उछाललाई बुझ्न पाँचवटा आर्थिक कारण महत्त्वपूर्ण छन्।
१. मुद्राको मूल्य घटेपछि सेयरमा सम्पत्ति संरक्षणको खोजी
इरानको राष्ट्रिय मुद्रा रियाल निरन्तर कमजोर हुँदै गएको छ। अक्टोबर ३० को खुला बजार विनिमय दरअनुसार एक अमेरिकी डलरको मूल्य करिब २७ लाख रियाल पुगेको थियो।
मुद्राको मूल्य घट्दै जाँदा लगानीकर्ताले नगद राख्नुभन्दा सुन, विदेशी मुद्रा, घरजग्गा र सेयरमा पैसा लगाउन खोज्छन्।
यसले सेयरको माग बढाउन सक्छ। कम्पनीसँग रहेका जग्गा, भवन, मेसिन र अन्य सम्पत्तिको मूल्य स्थानीय मुद्रामा बढ्न सक्छ। त्यसैले कम्पनीको उत्पादन नबढे पनि सेयरको नाममात्र मूल्य बढ्न सक्छ।
२. मुद्रास्फीतिबाट जोगिने प्रयास
इरानको मुद्रास्फीति अहिले अत्यन्त उच्च छ। अक्टोबर २८ को रिपोर्टअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा झन्डै ९० प्रतिशत बढेको थियो। वार्षिक मुद्रास्फीति ७३.६ प्रतिशत र खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि १२१.८ प्रतिशत पुगेको थियो।
यस्तो अवस्थामा बैंकमा पैसा राखेर प्राप्त हुने ब्याजले मुद्रास्फीतिको क्षति पूर्ति गर्न नसक्ने हुन सक्छ। त्यसैले लगानीकर्ताले सेयर बजारलाई आफ्नो सम्पत्तिको क्रयशक्ति जोगाउने माध्यम बनाइरहेका हुन सक्छन्।
३,लगानीका वैकल्पिक माध्यम साँघुरिनु
अन्तर्राष्ट्रिय प्रतिबन्ध र युद्धका कारण इरानका लगानीकर्तालाई विदेशी बजारमा पैसा लैजान, अन्तर्राष्ट्रिय बैंकिङ सुविधा प्रयोग गर्न र विदेशी सम्पत्ति खरिद गर्न कठिन छ। त्यसैले देशभित्र उपलब्ध वित्तीय सम्पत्तिमध्ये सेयर बजार आकर्षक विकल्प बन्न सक्छ।
इरान इन्टरनेसनलको अक्टोबर २ को विश्लेषणले पनि यही विरोधाभास औँल्याएको छ। सेयर, सुन र डलर एकै समयमा नयाँ उचाइमा पुग्नु लगानीकर्ताले रियालमा सम्पत्ति राख्न नचाहेको संकेत हुन सक्ने उसको विश्लेषण छ।
४. युद्ध अन्त्य र पुनर्निर्माणको आशा
बजारले वर्तमान अवस्था मात्र होइन, भविष्यको सम्भावना पनि मूल्यमा समावेश गर्छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्झौता हुने, प्रतिबन्ध खुकुलो हुने र तेल निर्यात सामान्य अवस्थामा फर्किने आशाले केही लगानीकर्तालाई आकर्षित गरेको हुन सक्छ। यदि त्यस्तो अवस्था आयो भने ऊर्जा, पेट्रोकेमिकल, स्टिल, खानी, निर्माण र बैंकिङ क्षेत्रले नयाँ अवसर पाउन सक्छन्।
५.कम्पनीको नाममात्र आम्दानी बढ्नु
मुद्रास्फीतिका कारण उत्पादनको मूल्य बढ्दा कम्पनीको स्थानीय मुद्रामा बिक्री आम्दानी पनि बढ्न सक्छ। तर कच्चा पदार्थ, ऊर्जा, श्रम र ढुवानी लागतसमेत बढेको हुन्छ। त्यसैले बिक्री आम्दानी बढ्नु र वास्तविक नाफा बढ्नु फरक कुरा हो।
यसरी नाममात्र आम्दानी र सम्पत्तिको मूल्य बढ्दा सेयर सूचकांक माथि जान सक्छ, जबकि कम्पनीको उत्पादन क्षमता र वास्तविक नाफा कमजोर हुन सक्छ।
सेयर बजारमा हरियाली, सर्वसाधारणको जीवनमा महँगी
इरानको अहिलेको आर्थिक अवस्थाको सबैभन्दा ठूलो विरोधाभास यही हो। रोयटर्सका अनुसार युद्धका कारण व्यापार, तेल निर्यात र सरकारी आम्दानी प्रभावित भएका छन्। परिवारहरूले खाद्यान्न, आवास, स्वास्थ्य र शिक्षामा हुने खर्च कटौती गर्न थालेका छन्। औसत मासिक ज्याला करिब ९२ डलर बराबर हुँदा तीन सदस्यीय श्रमिक परिवारको न्यूनतम जीवनयापन खर्च करिब ३३६ डलर अनुमान गरिएको छ।
अर्थात् सेयर बजारमा लगानी गर्ने केही व्यक्तिको सम्पत्तिको स्थानीय मुद्रामा मूल्य बढिरहेको बेला आम नागरिकको दैनिक जीवन कठिन बन्दै गएको छ।
यसैले बजारको उछाललाई अर्थतन्त्रको समृद्धि भनेर व्याख्या गर्न मिल्दैन। बरु यो कमजोर मुद्राबाट आफ्नो सम्पत्ति जोगाउने लगानीकर्ताको प्रयास पनि हुन सक्छ।