तिहारमा तासको रौनकः विदेशबाट तीन महिनामा ७ करोड बढीको तास आयात

Nov 08, 2026 11:18 AM Merolagani



नेपालीहरुको दोस्रो महान पर्व तिहार नेपालीका लागि भेटघाट,खानपिन र रमाइलो गर्ने पर्व हो ।

 वर्षभरि आ–आफ्नो काममा व्यस्त रहने परिवारका सदस्य तथा आफन्तजन चाडपर्वमा एकै ठाउँमा भेला हुन्छन् ।

गाउँघरमा पिङ खेल्ने,चङ्गा उडाउने र मीठो मसिनो खानेसँगै तास खेल्ने चलन पनि उत्तिकै पुरानो छ । तर, परिवार र साथीभाइबीचको मनोरञ्जनका रूपमा स्थापित तास खेल्ने परम्परा पछिल्लो समय रकमको हारजितसँग जोडिँदा जुवाको विषय समेत बन्ने गरेको छ ।

नेपाली समाजमा तासको यही सांस्कृतिक र सामाजिक उपस्थिति यसको आयातको तथ्यांकमा पनि देखिन्छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् साउन, भदौ र असोजमा मात्रै ७ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको तास नेपाल भित्रिएको छ ।

तीन महिनाको अवधिमा करोडौँ रुपैयाँको तास आयात हुनुले नेपालमा यसको बजार उल्लेख्य रहेको देखाउँछ । अझ दशैं र तिहारजस्ता ठूला चाडपर्वको समयमा तासको आयात तथा कारोबार थप बढ्ने गरेको छ ।

चाडपर्वसँग जोडिएको तासको संस्कृति

तिहारमा भाइटीका लगाउने,आशीर्वाद लिने र आफन्तसँग भेटघाट गर्ने परम्परासँगै फुर्सदको समय तास खेलेर बिताउने चलन पनि धेरै नेपाली परिवारमा छ । विशेषगरी लामो समयपछि गाउँघरमा भेला भएका आफन्त तथा साथीभाइबीच तास खेल्नु रमाइलो गर्ने एउटा माध्यम बनेको छ । कतिपयका लागि यो भेटघाटलाई अझ आत्मीय बनाउने र समय बिताउने सामान्य खेल मात्र हो ।

दशैंमा भन्दा तिहारमा लामो बिदा परेकाले पनि तास खेल्ने गतिविधि बढ्ने गर्छ । घरको आँगन,बरन्डा तथा गाउँका चौतारीमा भेला भएर तास खेल्ने दृश्य नेपाली समाजमा नौलो होइन । यही कारण तासलाई केवल खेल सामग्रीका रूपमा मात्र नभई चाडपर्वको फुर्सद र सामाजिक अन्तरक्रियासँग जोडिएको वस्तुका रूपमा पनि हेरिन्छ ।

 

तर, तास खेल्ने सबै गतिविधि मनोरञ्जनमै सीमित हुँदैनन् । कतिपय स्थानमा रकम राखेर तास खेल्ने प्रवृत्तिले यसलाई जुवासँग जोडेको छ । सामान्य मनोरञ्जनका लागि सुरु भएको खेल रकमको हारजितमा केन्द्रित हुँदा आर्थिक क्षति र सामाजिक समस्याको कारणसमेत बन्न सक्छ । त्यसैले तासको बढ्दो बजारलाई चाडपर्वको रमाइलोसँगै यसको प्रयोगको प्रकृतिका आधारमा पनि बुझ्नुपर्ने देखिन्छ ।

अमेरिका, जापानदेखि चीन र भारतसम्मबाट आयात

भन्सार विभागका अनुसार नेपालमा आयात हुने तास अमेरिका,जापान,चीन र भारतलगायतका देशबाट आउने गरेका छन् । विभिन्न मुलुकबाट तास आयात हुनु र यसको कारोबारमा करोडौँ रुपैयाँ खर्चिनुले नेपालमा यसका लागि छुट्टै बजार रहेको संकेत गर्छ ।

यद्यपि, आयातको कुल मूल्यले तासको वास्तविक खपत कति छ, कति तास खुद्रा बजारमा बिक्री हुन्छ र कति मनोरञ्जन वा जुवाका लागि प्रयोग हुन्छ भन्ने छुट्याउँदैन । त्यसैले आयातको तथ्यांकलाई जुवाको कारोबारसँग सीधै जोड्न मिल्दैन । तर,चाडपर्वको समयमा यसको माग बढ्ने प्रवृत्तिले तासको बजार र प्रयोगबारे थप अध्ययन गर्नुपर्ने प्रश्न भने उठाएको छ ।