बाढीको कहर चिर्दै इङ्वा हाइड्रोपावरको नाफामा

Nov 05, 2026 09:30 AM Merolagani



प्राकृतिक विपद् र बाढीको क्षति व्यहोरेको इङ्वा हाइड्रोपावर लिमिटेड (IHL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको नाफामा आकर्षक र उत्साहजनक वृद्धि भएकाे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

ताप्लेजुङ र पाँचथर जिल्लामा अवस्थित ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्वा खोला जलविद्युत् आयोजना जेठ २०८३ मा आएको भीषण बाढीका कारण पूर्ण रूपमा बन्द भए पनि कम्पनीको व्यवस्थापनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी उत्पादन सुचारु गरेपछि वित्तीय स्थितिमा सकारात्मक सुधार आएको हो।

समीक्षा अवधिमा कम्पनीले ७५ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको (५६.०१ लाख रुपैयाँ) तुलनामा ३४.३२ प्रतिशतको उच्च वृद्धि हो। 

बाढीका कारण आयोजना ठप्प भएपछि कम्पनीले साउन २१ मा युनिट १ र भदौ २३ मा युनिट २ पुनः सञ्चालनमा ल्याएको थियो। उत्पादन आंशिक अवधि मात्र भए पनि समीक्षा अवधिमा कम्पनीले सञ्चालनबाट ४ करोड ८४ लाख रुपैयाँ विद्युत् बिक्री आम्दानी हासिल गरेको छ। यसका अतिरिक्त, आयोजनाको भौतिक क्षति र उत्पादन अवरोध (LOP) बापत बीमा कम्पनीबाट प्राप्त भएको २ करोड रुपैयाँको अग्रिम दाबी भुक्तानीले कम्पनीको वित्तीय जगलाई बलियो सहारा दिएको छ। यसले गर्दा कम्पनीको सञ्चालन मुनाफा ३ करोड ३० लाख ४९ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च गत वर्षको ३ करोड ४ लाख रुपैयाँबाट घटेर २ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा थप सहयोग पुर्‍याएको छ।

कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष ५ करोड ३९ लाख रुपैयाँ ऋणात्मक छ।

वित्तीय परिसूचकहरूतर्फ, कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको ३ रुपैयाँ ७३ पैसाबाट बढेर ५ रुपैयाँ २ पैसा पुगेको छ। यस्तै, कम्पनीकाे प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ रहेको छ।