बुङ्गल हाइड्रोको नाफा ६६ प्रतिशत बढ्याे

Nov 05, 2026 02:14 PM Merolagani



बुङ्गल हाइड्रो लिमिटेड (BUNGAL) ले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद नाफामा आकर्षक र फराकिलो फड्को मारेको देखाएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घाटा व्यहोरेको कम्पनीले चालु आर्थिक वर्षको सुरुआतमै बलियो पुनरागमन गर्दै ४ करोड ८३ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ९० लाख १७ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा नाफामा ६६.६४ प्रतिशतको वृद्धि देखिएको छ।

विद्युत् बिक्रीबाट हुने आम्दानीमा आएको सुधार र वित्तीय खर्चमा भएको कटौतीले कम्पनीलाई यो सफलता दिलाउन मुख्य भूमिका खेलेको छ।   

समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर ११ करोड ६२ लाख ५४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ११ करोड २४ लाख ७७ हजार रुपैयाँ रहेको थियो। कम्पनीको कुल मुनाफा ८ करोड २४ लाख रुपैयाँ कायम भएको छ। नाफा बढाउन सबैभन्दा ठूलो टेवा कम्पनीको घट्दो वित्तीय खर्चले पुर्‍याएको छ; समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च गत वर्षको ४ करोड ४७ लाख रुपैयाँबाट उल्लेख्य घटेर २ करोड ८६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ। ऋणको भार घट्दै जाँदा ब्याज बचत भई खुद नाफामा सीधा सकारात्मक प्रभाव परेको देखिन्छ।   

कम्पनीको चुक्ता पूँजी ८३ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष १० करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ।

वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको १३ रुपैयाँ ७२ पैसाबाट बढेर २२ रुपैयाँ ८६ पैसा पुगेको छ। यसैगरी, प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ २४ पैसा रहेको छ।