निर्माण क्षेत्रमा देखिएको सुस्तता, इन्धन तथा कच्चा पदार्थको बढ्दो लागत र प्रतिस्पर्धी बजारका कारण समीक्षा अवधिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बजारमा देखिएका विभिन्न आर्थिक तथा सिजनल चुनौतीहरूका बाबजुद कम्पनीको मुख्य बिक्री आम्दानीमा भने वृद्धि भएको छ।
प्रकाशित वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी बढेर ७० करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ६६ करोड़ ९९ लाख रुपैयाँ रहेको थियो। बिक्रीमा वृद्धि भएपनि कम्पनीको कुल मुनाफा भने घटेर २० करोड ७८ लाख रुपैयाँमा सीमित भएकाे छ। बिक्री लागत बढेका कारण कम्पनीकाे कुल मुनाफा घट्न पुगेकाे हाे।
यसै अवधिमा कम्पनीले ऊर्जा लागत घटाउन र उत्पादन दक्षता बढाउन सौर्य ऊर्जा जडानका लागि मेसिनरीहरू खरिद गरी अनुमतिपत्र प्राप्त गर्ने कार्य सम्पन्न गरेको छ। यसका साथै सिमेन्ट मिलको क्षमता वृद्धिका लागि सिमेन्ट सिलोको निर्माण र सिमेन्ट कलिनको कार्य अगाडि बढाइएकोले आगामी दिनमा उत्पादन लागत घटी मुनाफामा सुधार हुने अपेक्षा गरिएको छ।
कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ४३ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४८० रुपैयाँ १३ पैसा कायम भएको छ।
