नेपालले भारतसँग थप तीन हवाई प्रवेश बिन्दु माग्दै, १२ वर्षदेखिको मुद्दा बालेनको भ्रमणमा उठ्ने

Nov 18, 2026 10:58 AM Merolagani



नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानसँग जोड्न भारतसँग थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउन माग गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको मंसीर ६-७ काे भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई मार्गसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको छ।

नेपालले भारतसँग कम्तीमा तीनवटा थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउन प्रस्ताव गरेको छ। यसबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउने नेपालको अपेक्षा छ। हाल नेपालमा दक्षिणतर्फबाट प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानको प्रमुख मार्ग सिमरा मात्रै रहेकाले अन्य विकल्प आवश्यक भएको नेपालको तर्क छ।

नेपालले विराटनगर, जनकपुर, सिमरा, भैरहवा र महेन्द्रनगरलगायतका हवाई मार्गलाई दुईतर्फी रूपमा प्रयोग गर्न पाउनुपर्ने माग पनि अघि सारेको छ। विशेषगरी महेन्द्रनगरतर्फबाट भैरहवा विमानस्थलमा अवतरण गर्ने विमानका लागि हालको ३९ हजार फिटको उचाइसम्बन्धी व्यवस्थालाई घटाएर ३५ हजार फिट कायम गर्नुपर्ने प्रस्ताव नेपालले गरेको छ।

नेपालको प्रस्तावअनुसार नयाँ प्रवेश बिन्दु उपलब्ध भएमा पोखरा र भैरहवा आउने अन्तर्राष्ट्रिय उडानको दूरी र समय घट्नेछ। अहिले भारतको आकाश प्रयोग गर्दै भैरहवा आउनुपर्ने विमानले लामो दूरी तय गर्नुपर्ने अवस्था छ। उदाहरणका लागि, एपीपीआईपीयूबाट भैरहवा पुग्ने छोटो हवाई मार्ग करिब २२ नटिकल माइल मात्रै भए पनि हाल प्रयोग गर्नुपर्ने पर्सा क्षेत्र हुँदैको मार्ग करिब १८६ नटिकल माइल पर्छ।

तर भारतले नेपालको प्रस्तावलाई सहजै स्वीकार गरिसकेको छैन। भारतले आफ्नो बागडोगरा र रक्सौल विमानस्थलमा हुने उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउने विषयलाई पनि समग्र छलफलको हिस्सा बनाउन चाहेको बताइएको छ। यसले हवाई मार्गसम्बन्धी दुई देशबीचको वार्तालाई पारस्परिक सहमतिका आधारमा अघि बढाउने सम्भावना देखाएको छ।

१२ वर्षदेखि दोहोरिँदै आएको प्रतिबद्धता

नेपालले नयाँ हवाई प्रवेश बिन्दुको विषय उठाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ। सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल भएको थियो। त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र समाधान खोज्न निर्देशन दिने सहमति भएको थियो।

तर त्यसपछि पनि विषयले ठोस निष्कर्ष पाउन सकेन। सन् २०१६ र २०१८ मा प्राविधिक तहमा छलफल भए पनि सहमति हुन सकेन। सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारत भ्रमणका क्रममा यो विषय उठाएका थिए। अहिले प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा पनि यसलाई पुनः प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।

नेपालका लागि यो विषय पोखरा र भैरहवा विमानस्थलको व्यावसायिक सञ्चालनसँग प्रत्यक्ष जोडिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि सहज हवाई मार्ग र पर्याप्त अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित रूपमा पर्यटक तथा यात्रु आकर्षित गर्न कठिन भइरहेको छ।

पोखरा र भैरहवाबाट भारतका सहरमा सीधा उडानको अपेक्षा

नेपालले हवाई प्रवेश बिन्दुको विषयसँगै भारतका विभिन्न सहरबाट पोखरा, भैरहवा र नेपालगञ्जमा सीधा उडान सञ्चालन गर्ने सम्भावनाबारे पनि छलफल गर्न चाहेको छ।

पोखरा विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरा–वाराणसी उडानका लागि अनुमति मागेको थियो। तर सन् २०२३ जनवरी १ मा विमानस्थल सञ्चालनमा आए पनि उक्त उडानले भारतीय पक्षबाट अनुमति पाएन।

सम्भावित हवाई मार्गमा पोखरा–वाराणसी, पोखरा–दिल्ली, भैरहवा–कुशीनगर र नेपालगञ्ज–दिल्लीजस्ता गन्तव्य समावेश छन्। यी मार्ग सञ्चालनमा आए भारतीय पर्यटकलाई स्थलमार्गबाट लामो यात्रा गर्नुपर्ने बाध्यता घट्ने र नेपालका पर्यटकीय गन्तव्यमा सीधा पहुँच बढ्ने अपेक्षा गरिएको छ।

तर भारतले नेपालका विमानस्थलमा सीधा उडान सञ्चालन गर्ने विषयमा सुरक्षा चासो देखाउँदै आएको छ। विशेषगरी भैरहवा नजिकै रहेको भारतीय सैन्य तथा हवाई पूर्वाधारका कारण भारतले थप सावधानी अपनाएको बताइन्छ। भारतीय पक्षले भारतीय पर्यटक नेपाल आउन स्थलमार्गलाई प्राथमिकता दिने गरेको तर्क पनि प्रस्तुत गर्दै आएको छ।

व्यावसायिक पक्ष पनि चुनौतीपूर्ण छ। बुद्ध एयरका सञ्चालकले काठमाडौं–कोलकाता र काठमाडौं–वाराणसी उडानमा विमानस्थल शुल्कलगायतका खर्चका कारण अपेक्षित आम्दानी गर्न कठिन भएको बताउँदै आएका छन्। त्यसैले नयाँ हवाई मार्ग खुल्नु मात्रै पर्याप्त नभई नियमित उडान सञ्चालन गर्न सकिने व्यावसायिक वातावरण पनि आवश्यक देखिन्छ।

हवाई मार्गको विषयमा दुवै देशको स्वार्थ जोडिँदै

भारतले बागडोगरा र रक्सौलका लागि नेपाली आकाश प्रयोग गर्न चाहेको विषयलाई नेपालले आफ्नो हवाई मार्गसम्बन्धी माग अघि बढाउने अवसरका रूपमा लिन सक्ने देखिन्छ। नेपाललाई पोखरा र भैरहवाका लागि थप प्रवेश बिन्दु आवश्यक छ भने भारतलाई पनि आफ्ना विमानस्थलका लागि छोटो र सहज हवाई मार्ग चाहिएको छ।

त्यसैले प्रधानमन्त्री शाहको भ्रमणमा हवाई मार्गसम्बन्धी छलफल केवल नेपालको मागमा सीमित नरही दुवै देशको आवश्यकतालाई समेट्ने विषय बन्न सक्छ।

नेपालले वर्षौंदेखि उठाउँदै आएको हवाई प्रवेश बिन्दुको माग यसपटक पनि छलफलमै सीमित हुन्छ वा कार्यान्वयनको दिशामा अघि बढ्छ भन्ने कुरा भारतसँग हुने वार्ता र त्यसपछि दुवै देशका प्राविधिक अधिकारीबीच हुने सहमतिमा निर्भर रहनेछ।

 




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।