समीक्षा अवधिमा दुवै कम्पनीको मुख्य आम्दानी (राजस्व) घटेको छ। यद्यपि, पियोर इनर्जीले लगानी विस्तार र जगेडा कोष वृद्धिमा उल्लेख्य प्रगति गरेको छ भने झापा इनर्जीले खुद नाफा बढाउँदै ऋणात्मक रहेको जगेडा कोषलाई धनात्मक बनाएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पियोर इनर्जीको खुद नाफा १८.६३ प्रतिशतले घटेर ७३ लाख २७ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको आम्दानी पनि ७.०६ प्रतिशतले घटेको छ। नाफा घटे पनि पियोरले लगानीमा भने छलाङ मारेको छ; गत वर्ष ४ करोड २० लाख रुपैयाँ रहेको लगानी चालु आवमा बढेर १६ करोड ४० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको जगेडा कोष १८३.७ प्रतिशतले वृद्धि भएको छ।
यता झापा इनर्जीकाे खुद नाफामा २२ प्रतिशतको बढोत्तरी भई ५५ लाख ६९ हजार रुपैयाँ पुगेको छ। तर, विद्युत बिक्रीबापतको आम्दानी भने गत वर्षको तुलनामा ८.८४ प्रतिशतले घटेर २ करोड ६४ लाख रुपैयाँमा झरेको छ। लगानी यथावत् राखेको झापाले जगेडा कोषमा भने ठूलो सुधार गरेको छ। गत आवको पहिलो त्रैमासमा २४ लाख ५८ हजार रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष हाल १ करोड २९ लाख ५८ हजार रुपैयाँले धनात्मक बनेको छ।
बजार सूचकका आधारमा पियोरको तुलनामा झापा इनर्जीको प्रतिशेयर आम्दानी बढी छ भने मूल्य आम्दानी अनुपात कम रहेको छ, जसले झापाको बजार मूल्य तुलनात्मक रूपमा सस्तो रहेको देखाउँछ। यद्यपि, दुवै कम्पनीको प्रतिशेयर नेटवर्थ भने करिब समान छ।
झापा इनर्जीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८६ पैसा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४१ पैसा रहेको छ। यसको मूल्य आम्दानी अनुपात १५१.८८ गुणा छ। पछिल्लो कारोबारमा झापाको अन्तिम शेयर मूल्य ८९० रुपैयाँ कायम भएको छ। पछिल्लो ५२ हप्तामा यसको अधिकतम मूल्य १ हजार ९२९ रुपैयाँ र न्यूनतम ३८४ रुपैयाँसम्म पुगेको थियो।
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको पियोर इनर्जीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ५५ पैसा रहेको छ। यसको मूल्य आम्दानी अनुपात २०० गुणा छ। बुधबारको कारोबारअनुसार कम्पनीको अन्तिम शेयर मूल्य ७३२ रुपैयाँ कायम भएको छ। पछिल्लो ५२ हप्तामा यसको अधिकतम मूल्य १ हजार २६२ रुपैयाँ र न्यूनतम ६६२ रुपैयाँ रहेको थियो।
प्राविधिक संकेतः
प्राविधिक सूचकहरूको तुलनात्मक अध्ययन गर्दा हाल दुवै कम्पनीको शेयर मूल्यमा घट्दो प्रवृत्ति हाबी देखिएको छ। दुवै कम्पनीका ५, २०, ५० र २०० दिनका मुभिङ एभरेजहरू नकारात्मक र ओरालो दिशातर्फ उन्मुख छन्।
यद्यपि, सूचकहरूका आधारमा झापा इनर्जी पियोरको तुलनामा केही बढी कमजोर अवस्थामा देखिन्छ। पियोर इनर्जीको आरएसआई ३९.९६ र एमएसीडी –९.०२ रहेको छ भने झापा इनर्जीको आरएसआई २९.८२ र एमएसीडी –२९.१५ रहेको छ।
पियोर इनर्जीले बाँके जिल्लाको खजुरा गाउँपालिका (साविक रनियापुर गाविस) स्थित २ लाख ९१ हजार ७५७.१३ वर्ग मिटर क्षेत्रफलमा १०–१० मेगावाटका सौर्य पीभी विद्युत आयोजना (ब्लक–१ र ब्लक–२) का मुख्य संरचनाहरू निर्माण गरी सञ्चालन गरिरहेको छ। उता, झापा इनर्जीले नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ।