साइबर तथा डिजिटल वित्तीय ठगीमा परे तत्काल ‘१२४७’ मा उजुरी गर्न राष्ट्र बैंकको आग्रह

Nov 20, 2026 11:00 AM Merolagani



नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी घटनाको गुनासो तथा उजुरी सम्बोधनका लागि २४ सै घण्टा सञ्चालन हुने गरी हटलाइन नम्बर ‘१२४७’ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले २०८३ मङ्सिर ३ गते एक सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा विभिन्न सरोकारवाला निकायहरू सम्मिलित ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ (Integrated Anti-Cyber Scam Centre – IACSC) स्थापना गरिएको जानकारी दिएको हो । उक्त केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी साइबर स्क्यामसम्बन्धी घटनाहरूको उजुरी गर्न सकिने सूचनामा उल्लेख छ ।

विभागद्वारा जारी सूचनामा अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार वा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गरी जानकारी वा उजुरी दिन अनुरोध गरिएको छ । साथै, सो नम्बरबाट प्राप्त भएको जानकारीबमोजिमको प्रक्रिया अवलम्बन गर्नसमेत आग्रह गरिएको छ ।

यसैगरी, ठगी भएको अवस्थामा पीडितले आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्नुपर्ने विभागले जनाएको छ ।

राष्ट्र बैंकले “साइबर तथा डिजिटल वित्तीय ठगीविरुद्ध सचेत बनौँ । ठगीमा परेमा तत्काल १२४७ मा सम्पर्क गरौँ ।” भन्दै सर्वसाधारणलाई सचेत रहन अपिल गरेको छ ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।