परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री साह मंसिर ६ गते आईतवार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन् । सरकारी भ्रमण टोली ३४ सदस्यीय रहने सचिव राईले जानकारी दिए। त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ । भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत निजी खर्चमा भारत जानेछन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री साहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त वार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव राईकाअनुसार भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालका लागि भारत ठूलो र महत्वपूर्ण साझेदार राष्ट्र रहेको उल्लेख गर्दै उनले व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच व्यापक छलफल हुने बताए। त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र साह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा २०८३ मङ्सिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जानुहुने भएको छ । भ्रमण टोलीमा अर्थमन्त्री, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार तथा उच्चपदस्थ अधिकारीसहित ३४ सदस्यीय सरकारी टोली रहनेछ । साथै, निजी क्षेत्रका ५२ जना व्यवसायी र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरू पनि भ्रमणमा सहभागी हुनेछन् । भ्रमणका क्रममा मङ्सिर ७ गते प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुई देशबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुनेछ । यसैगरी, विभिन्न ऊर्जा तथा पूर्वाधार परियोजनाको उद्घाटन र शिलान्यासका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।’
प्रधानमन्त्रीको भ्रमणले नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।