उनले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्न समेत प्रश्ताव गरे । उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गरे। उनले राप्रपालाई सिमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले सांसद बन्नकै लागि कहिले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले काँग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताए । पार्टीलाई विभाजित नभई एकतावद्ध बनाउन समेत पार्टीको नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको बताए । उनले आसन्न महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्ने समेत बताए ।
उहाँले भने, ‘पार्टीका अध्यक्षज्यूलाई म सर्वोच्च नेताका रूपमा आउनका लागि प्रश्ताव गर्दछु । किनकि अब पनि यो पार्टीलाई युवा पुस्ताले हाँक्नुपर्छ । पछिल्लो दिनहरूमा हामीले खोजेर पनि पार्टी पाउन नसक्ने स्थिति सिर्जना भइरहेको छ । हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं । हामी विभाजन गर्न होइन, सबैलाई जोड्न आएका हौं । मुटुको कुनामा राखेर दबाएको विचारलाई खुलेर स्थापित गर्ने समय आएको छ । हामीले बोकेको झण्डा केवल चुनाव चिन्ह मात्र होइन, हाम्रो इतिहास, त्याग, बलिदान र राष्ट्रवादी पहिचानको प्रतीक हो, त्यो प्रतीक फेरि फैलाउनुपर्ने दिन आएको छ । त्यसैले अब यो विचारलाई केवल जोगाएर राख्ने मात्र होइन, दुई,चारवटा सिट जितेर, एकदुईवटा बार्गेनिङ गरेर, कहिले एमालेसँग, कहिले माओवादीसँग, कहिले कांग्रेससँग मिल्ने कुराको अन्त्य गर्नुपर्छ । राप्रपा अब सिन्डिकेट, लास र दासको पार्टी बन्दैन । यो राष्ट्रवादीहरूको शक्ति र युवाहरूको जोस र जाँगरका साथ अगाडि बढ्ने छ । पार्टीमा यदि हामीले पुस्तान्तरण गर्न सकेनौँ भने अहिले अध्यक्ष कसलाई बनाउँछु, त्यो कुरा महत्वपूर्ण होइन । आज निर्वाचन आयोगमा पनि झन्डै १ सय वटा पार्टीहरू दर्ता छन् । १ सय वटा पार्टीका मान्छेहरू अध्यक्ष छन् । तर जनताले पत्याएन भने त्यो पार्टीको कुनै महत्व हुँदैन ।’ राप्रपाको महाधिवेशन यही मंसिर २६,२७ र २८ गते काठमाडौंमा हुँदैछ ।