तीन दिनको वृद्धिपछि सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Nov 26, 2026 03:09 PM Merolagani



बिहीबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब १४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५५ स्टकको ४९ हजार ८०६ पटकको कारोबारमा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ४७ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। टप गेनर्सको शीर्ष स्थानमा रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन ४.८८ प्रतिशत बढेको छ। त्यस्तै, लक्ष्मी उन्नती कोषको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर पनि ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एलएस होराइजन १२ को इकाईमूल्य सबैभन्दा बढी ४.७६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ५१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआईसी एशिया बैंकको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५२ प्रतिशत घटेको छ।