विगत दुई वर्षमा नेपाली बजारले धेरै ठूला धक्का बेहोरेको छ। सुरुमा बैंक तथा वित्तीय संस्था समूहको शेयर मूल्यमा आएको गिरावटले लगानीकर्तालाई प्रभावित बनायो। त्यसपछि पुनर्बिमा क्षेत्रसँग सम्बन्धित घटनाक्रमले व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको ठूलो रकम प्रभावित भयो। पुनर्बिमा क्षेत्रलाई विदेशी पूँजी भित्रयाउन सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा हेरिएको थियो। त्यही अपेक्षामा धेरैले लगानी गरे। तर अपेक्षा अनुसार नतिजा नआउँदा लगानीकर्ताले ठूलो धक्का बेहोर्नु पर्यो। त्यसपछि जलविद्युत् क्षेत्रका कम्पनीमा पनि लगानीकर्ताको रकम अड्किने अवस्था आयो। यसरी लगातारका घटनाले लगानीकर्ताको पैसा विभिन्न क्षेत्रमा फस्यो। त्यसैले बजारमा नयाँ लगानी गर्ने क्षमता र आत्मविश्वास दुवै कमजोर भएका छन्।
पछिल्ला घटनाले बजारको मनोविज्ञानलाई कति प्रभावित पारेका छन् ?
निकै प्रभावित पारेका छन्। बजारमा पैसा गुमाउनु एउटा पक्ष हो भने त्यसपछि पुनः लगानी गर्ने आत्मविश्वास गुमाउनु अर्को महत्वपूर्ण पक्ष हो। अहिले हामीले पैसाको अभावभन्दा पनि मनोवैज्ञानिक दूरीको समस्या बेहोरिरहेका छौं।
लगानीकर्ताले बैंक तथा वित्तीय संस्था, पुनर्बिमा र जलविद्युत् क्षेत्रमा पटकपटक धक्का बेहोरेका छन्। त्यसपछि सरकार परिवर्तन भयो। नयाँ सरकारको आर्थिक नीति कस्तो हुन्छ, व्यवसायमैत्री वातावरण बन्छ कि बन्दैन भन्ने विषयमा पनि लगानीकर्ताले पर्खेर हेर्ने अवस्था आयो। यस्तो अवस्थामा लगानीकर्ताले सकारात्मक पक्षभन्दा नकारात्मक सम्भावनाबारे धेरै सोच्न थाले। त्यसैले बजार बढ्न नसकेको हो। तर यसलाई बजारप्रति निराश हुनुपर्ने अवस्था भनेर बुझ्नु हुँदैन। नेपाली लगानीकर्ता कति धैर्यवान् र जोखिम सहन सक्ने छन् भन्ने कुरा पनि यही समयमा परीक्षण भइरहेको छ।
बजारमा ठूलो वृद्धि छैन गिरावट पनि भएको छैन। तर यसरी सूचकले गति एउटै स्तरमा टिकाइराख्ने कारणहरु के होला?
अहिलेको मुख्य आधार ब्याजदर नै हो। दुईदेखि साढे दुई वर्षअघि ब्याजदर घट्न थालेपछि कम्पनीहरूको वित्तीय अवस्था त्यति राम्रो नभएपनि शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको थियो। त्यतिबेला लगानीकर्ताले बैंकको निक्षेपमा पैसा राख्नुभन्दा बजारमा लगानी गर्दा राम्रो प्रतिफल आउन सक्ने सम्भावना देखे।

अहिले पनि ब्याजदर घटिरहेको छ। यदि ब्याजदर बढिरहेको हुन्थ्यो र पछिल्लो समय देखिएका नकारात्मक घटनाक्रम पनि भएका हुन्थे भने बजार अझै तल जान सक्ने थियो होला । ब्याजदरले बजारलाई थप तल जानबाट रोकिरहेको छ। तर बजारलाई माथि लैजान पैसा मात्रै पर्याप्त हुँदैन। लगानीकर्ताको मनोबल पनि फर्किनुपर्छ। लगातार घाटा बेहोरेका लगानीकर्ताले नयाँ लगानी गर्नुअघि धेरै सोच्ने गरेका छन्। त्यसैले बजारमा अहिले पैसाको भन्दा मनोवैज्ञानिक दूरी कम गर्नु पर्ने हुन्छ।
त्यसो भए अब बजार बढ्नका लागि लगानीकर्ताको मनोबल फर्किनु नै पर्ने हो ?
हो, तर मनोबल एकैपटक फर्किदैन। पछिल्लो दुई–तीन वर्षमा लगानीकर्ताले धेरैपटक धक्का बेहोरेका छन्। त्यसैले विश्वास पुनः स्थापित हुन केही समय लाग्छ।
अहिले कम्पनीहरूको त्रैमासिक वित्तीय विवरणमा क्रमिक रुपमा सुधार देखिन थालेको छ। ब्याजदर घट्दा विशेषगरी ऋणको भार बढी भएका कम्पनीलाई राहत पुग्न सक्छ। कम्पनीको आम्दानी र नाफामा सुधार देखिन थालेपछि लगानीकर्ताको विश्वास पनि विस्तारै फर्किन सक्छ। अब बजार पहिलेजस्तो केही व्यक्तिको सक्रियतामा एकैपटक तीव्र रूपमा बढ्नेभन्दा पनि कम्पनीको वास्तविक वित्तीय अवस्था र व्यावसायिक सम्भावनाका आधारमा अघि बढ्ने सम्भावना बढी छ। बजारलाई दीर्घकालीन रूपमा माथि लैजान कम्पनीको वित्तीय आधार बलियो हुनुपर्छ।
बजारलाई फेरि गति दिन कस्तो लगानी र कुन क्षेत्रको नेतृत्व आवश्यक छ ?
नेपाली शेयर बजारमा हरेकपटक कुनै न कुनै प्रमुख क्षेत्र वा कम्पनीले बजारको गति निर्धारण गरेको देखिन्छ। विगतमा नेपाल रि इन्स्योरेन्सको मूल्यवृद्धिपछि बजारमा एउटा र्याली आएको थियो। त्यसपछि कम्पनीहरूले नेतृत्व गर्दै समग्र सूचकलाई माथि लैजाने अवस्था बनेको थियो।
अहिले बजारलाई नेतृत्व गर्न सक्ने त्यस्तो कम्पनी वा क्षेत्र देखिएको छैन। बजारलाई चलाउने क्षमता भएको कम्पनीको अभाव पनि एउटा कारण हो। कुनै कम्पनीको वित्तीय विवरण राम्रो आउने सम्भावना छ। ब्याज खर्च घट्ने अवस्था छ र आगामी दिनमा आम्दानी बढ्ने आधार छ भने त्यसको शेयर मूल्यमा सकारात्मक प्रभाव पर्न सक्छ। यस्ता आधार भएका कम्पनीले बजारलाई गति दिन सक्छन्।
लगानीकर्ताको मनोविज्ञानले बजारलाई कत्तिको प्रभावित पार्छ ?
खुद्रा लगानीकर्ताको मनोविज्ञानले बजारमा ठूलो प्रभाव पार्छ। विशेषगरी नयाँ लगानीकर्ताले शेयरको मूल्य दोब्बर वा चौबर हुने अपेक्षा राखेका हुन्छन्। त्यस्तो प्रतिफल नआउँदा उनीहरूको आत्मविश्वास कमजोर हुन्छ।
बजारमा लामो समयदेखि कारोबार गरिरहेका अनुभवी लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था र मूल्यांकन हेरेर निर्णय गर्छन्। तर सुरुवाती चार–पाँच वर्षको अनुभव भएका लगानीकर्ता अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी शेयर बजारको अवस्था वा सुनको मूल्यमा भएको परिवर्तनबाट समेत बढी प्रभावित हुने गर्छन्। त्यसैले लगानीकर्ताले बजारको हरेक उतारचढावलाई आफ्नो लगानी निर्णयको आधार बनाउनु हुँदैन। कम्पनीको वास्तविक अवस्था बुझेर लगानी गर्नुपर्छ।
संस्थागत लगानीकर्ताबाट बजारलाई अपेक्षित लगानी किन भएको छैन ? म्युचुअल फन्ड, बैंक तथा बिमा कम्पनीको अवस्था कस्तो छ ?
संस्थागत लगानीकर्तालाई दुई भागमा हेर्नुपर्छ। म्युचुअल फन्ड र अर्को बैंक, बीमा कम्पनी तथा ठूला संस्थागत लगानीकर्ता हुन्।
म्युचुअल फन्डले बजार घटेको समयमा अनिवार्य रूपमा शेयर खरिद गर्नुपर्छ भन्ने हुदैन। उनीहरूको उद्देश्य व्यक्तिगत लगानीकर्तालाई बचाउने होइन, आफ्नो कोषको राम्रो प्रतिफल सुनिश्चित गर्ने हो। जहाँ अवसर देखिन्छ, त्यही लगानी गर्ने उनीहरूको व्यावसायिक जिम्मेवारी हुन्छ। नेपालमा बन्दमुखी म्युचुअल फन्ड धेरै भएकाले उनीहरूले सामान्यतया तीनदेखि पाँच वर्षको लगानी अवधिलाई ध्यान दिन्छन्। त्यसैले उनीहरूको लगानी निर्णयलाई बजारको तत्कालीन उतारचढावसँग मात्र जोडेर हेर्नु हुँदैन।
बैंक तथा बीमा कम्पनीले भने पछिल्लो समय दीर्घकालीन लगानी व्यवस्थापनका लागि व्यावसायिक जनशक्ति राख्न थालेका छन्। दुई वर्षअघि बजार बढिरहेको अवस्थामा विगतको वित्तीय अनुपात र मूल्यवृद्धिका आधारमा गरिएको लगानी बजारको दिशा परिवर्तन भएपछि प्रभावित भयो। त्यसबेला जोखिम व्यवस्थापन गर्न नसक्दा उनीहरूको रकम पनि अड्किएको छ।
अहिले ब्यालेन्स सिटमा घाटा देखिने डर र पुरानो मूल्यमा खरिद गरिएको शेयरबाट बाहिर निस्कन कठिनाइ भएकाले उनीहरू थप लगानी गर्न हिचकिचाइरहेका छन्। तर तीनदेखि पाँच वर्षको लगानी अवधि राखेर हेर्ने हो भने अहिले पनि केही क्षेत्रमा राम्रो अवसर हुन सक्छ।
बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त हुँदाहुँदै पनि बैंकहरूको लगानी बजारमा किन आउन सकेको छैन ?
बैंकहरूको दृष्टिकोणबाट पनि यो विषय बुझ्नुपर्छ। पछिल्लो समय एनपीएल बढेको छ। त्यसैले बैंकहरूले प्रत्येक निर्णय सावधानीपूर्वक लिनुपर्ने अवस्था छ। बैंकहरू अहिले आफ्नो ब्यालेन्स सिट बलियो बनाउने र विगतको कारोबारबाट भएको नोक्सानी व्यवस्थापन गर्ने कुरामा बढी केन्द्रित छन्। बजारमा तरलता छ भन्दैमा बैंकहरूले सबै रकम बजारमा लगानी गर्दैनन्।
बैंकहरुलाई कुन समयमा लगानी गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। कुनै कम्पनीको वास्तविक अवस्था राम्रो छ र त्यसको मूल्य ६०० रुपैयाँबाट घटेर ४०० रुपैयाँमा आएको छ भने उचित मूल्यांकनका आधारमा खरिद गर्दा भविष्यमा राम्रो प्रतिफल प्राप्त हुन सक्छ। तर मूल्य घटेकै आधारमा खरिद गर्नु सही रणनीति होइन।
लगानी गर्दा कम्पनीको वित्तीय अवस्था हेर्ने हो वा बजारमा निर्धारित मूल्यलाई प्राथमिकता दिने ?
कम्पनी राम्रो छ भने दीर्घकालमा शेयर मूल्यले त्यसको वास्तविक अवस्थालाई दर्शाएको हुन्छ। त्यसैले मूल्यभन्दा पहिले कम्पनीको व्यवसाय र वित्तीय अवस्था बुझ्नुपर्छ। जलविद्युत् कम्पनीलाई उदाहरणका रूपमा लिन सकिन्छ। ब्याजदर घटेपछि र आयोजना सञ्चालनमा आएको केही समयपछि कम्पनीको वित्तीय अवस्थामा सुधार आउन सक्छ । चार वर्षको अवधिमा केही कम्पनीले आफ्नो वास्तविक मूल्यांकन अनुसार प्रतिफल दिएका छन्। त्यस्तै, लकिङ अवधि खुलेका कम्पनीमा पनि संस्थागत लगानीकर्ताले मूल्यांकनका आधारमा लगानीका अवसर खोजिरहेका छन्। कम्पनीको आम्दानी र व्यवसायको वृद्धि राम्रो छ भने दीर्घकालमा पूँजीगत लाभ प्राप्त गर्ने सम्भावना बढी हुन्छ।
बजार साइडवेयजमा रहँदा छोटो अवधिको कारोबार गर्ने लगानीकर्ताले कसरी आफ्नो लगानी सुरक्षित राख्न सक्छन् ?
यो कुरा अनुभवसँगै सिकिँदै जाने विषय हो। बजारमा बुल र बियर दुवै चक्र हुन्छन्। दुवै चक्रलाई बुझेर लगानी रणनीति बनाउनुपर्छ। राम्रो लाभांश दिने र भविष्यमा व्यवसाय विस्तार गर्न सक्ने सम्भावना भएका कम्पनी छनोट गर्नुपर्छ। बजारको तत्कालीन मूल्य उतारचढावलाई मात्रै आधार बनाउनु हुँदैन। शेयर बजार पनि एउटा व्यवसाय हो। त्यसैले यसको गणना, जोखिम र सम्भावित प्रतिफल बुझेर रणनीति बनाउनुपर्छ। विशेषगरी साइडवेयज बजारमा लगानीकर्ताले आफ्नो पूँजी जोगाउने कुरालाई प्राथमिकता दिनुपर्छ। हरेक दिन कारोबार गरेर नाफा कमाउन सकिन्छ भन्ने सोच सही होइन।
इन्ट्राडे, मार्जिन ट्रेडिङ र छोटो अवधिको कारोबारमा कस्ता अवसर ल्याउछ वा जोखिम रहेका छन ?
बजारमा आउदै गरेका यी उपकरणलाई पैसा कमाउने माध्यमका रूपमा मात्रै हेर्नु हुँदैन। मुख्य रूपमा जोखिम व्यवस्थापन गर्ने उपकरणका रूपमा बुझ्नुपर्छ। विशेषगरी लेभरेज लिएर कारोबार गर्दा जोखिम धेरै हुन्छ। बैंक वा ब्रोकरबाट लिएको ऋण फिर्ता मागिएको अवस्थामा लगानीकर्ताले प्रतिकूल मूल्यमा समेत शेयर बिक्री गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले आफ्नो क्षमताभन्दा बढी ऋण लिएर कारोबार गर्नु हुँदैन। लेभरेज आगो जस्तै हो। यसको सही प्रयोग गर्न जान्नेका लागि उपयोगी हुन्छ। तर नबुझ्नेका लागि खतरनाक हुन्छ। बजारको अवस्था र आफ्नो जोखिम वहन गर्ने क्षमताअनुसार मात्रै यसको प्रयोग गर्नुपर्छ।
शेयर मूल्य घटेको अवस्थामा लगानीकर्ताले त्यसलाई अवसरका रूपमा लिने कि थप जोखिमका रूपमा बुझ्ने ?
मूल्य घट्दैमा खरिद गर्नु हुँदैन। बजारमा प्रचलित ‘बाइ द डिप’ अर्थात् मूल्य घट्दा खरिद गर्ने रणनीति सबै कम्पनीमा लागू हुँदैन।
कुनै कम्पनीको मूल्य घट्नुको कारण पत्ता लगाउनुपर्छ। कम्पनीको आम्दानी घटिरहेको छ। व्यवसाय कमजोर भइरहेको छ वा भविष्यमा सुधार हुने सम्भावना छैन भने मूल्य घट्नु अवसर होइन, जोखिम हुन सक्छ।
तर कम्पनीको वित्तीय अवस्था बलियो छ, व्यवसायको वृद्धि सम्भावना राम्रो छ र मूल्यांकन उचित स्तरमा आएको छ भने त्यस्तो अवस्थामा खरिद गर्नु अवसर हुन सक्छ।
माथिल्लो तामाकोशीमा जस्तै अन्धाधुन्ध रूपमा मूल्य घट्दा खरिद गर्दै जाने हो भने लगानीकर्ता फस्न सक्छन्। त्यसैले आगामी तीन वर्षको व्यावसायिक योजना र कम्पनीको मूल्यांकन हेरेर मात्रै निर्णय गर्नुपर्छ।
नयाँ लगानीकर्ताले शेयर बजारमा प्रवेश गर्दा जोखिम व्यवस्थापनका लागि के कुरामा ध्यान दिनुपर्छ ?
बजार बुझ्नका लागि सिक्दै र गर्दै जानुपर्छ। कुनै कम्पनीको शेयर मूल्य कति छ भन्ने कुरा मात्रै पर्याप्त हुँदैन। कम्पनीको बजार पूँजीकरण, वित्तीय अवस्था र व्यवसायको सम्भावना बुझ्नुपर्छ।
लगानी गर्नुअघि जोखिम र सम्भावित प्रतिफलको मूल्यांकन गर्नुपर्छ। आफ्नो लगानी रणनीति बनाएर त्यसमा अनुशासित रहनुपर्छ। नोक्सानी सीमित गर्न स्टप लस र नाफा सुरक्षित गर्न प्रोफिट बुकिङको नियम पालना गर्नुपर्छ।
सही अवसर नआएसम्म नगदमा बस्न सक्ने क्षमता पनि लगानीकर्तामा हुनुपर्छ। हरेक दिन बजारमा कारोबार गर्नैपर्छ भन्ने छैन। विशेषगरी छोटो अवधिको कारोबार र ७२ घण्टे ट्रेडिङमा अधिकांश लगानीकर्ताले पैसा गुमाउने सम्भावना रहन्छ। त्यसैले बजारको सामान्य उतारचढाव भन्दा कम्पनीको वास्तविक अवस्था र समग्र अर्थतन्त्र बुझेर लगानी गर्नुपर्छ।
अन्त्यमा, नेपाली शेयर बजारको दीर्घकालीन सम्भावनालाई कसरी हेर्नुभएको छ ?
हाम्रो बजारलाई नकारात्मक रूपमा मात्रै हेर्नुपर्ने अवस्था छैन। पछिल्लो दुई वर्षमा लगानीकर्ताले धेरै धक्का बेहोरेका छन्। तर बजारमा ब्याजदर घटिरहेको छ, कम्पनीहरूको वित्तीय विवरणमा क्रमिक सुधार देखिन थालेको छ र केही क्षेत्रमा नयाँ अवसर पनि सिर्जना भइरहेका छन्। अब बजार विस्तारै कम्पनीको वास्तविक वित्तीय अवस्था, व्यावसायिक वृद्धि र मूल्यांकनका आधारमा अघि बढ्नुपर्छ। लगानीकर्ताले पनि छोटो अवधिमा धेरै नाफा कमाउने अपेक्षाभन्दा दीर्घकालीन सोच विकास गर्न आवश्यक छ।
शेयर बजार जुवा होइन, यो सम्भावना र जोखिम भएको व्यावसायिक लगानी हो। अनुशासित, अध्ययनमा आधारित र जोखिम व्यवस्थापनसहितको लगानीले व्यक्तिगत लगानीकर्तालाई मात्रै होइन, देशको उद्यमशीलता र समग्र अर्थतन्त्रलाई समेत सहयोग पुर्याउँछ।