सातामा करिब ७ अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घटबढ?

Nov 28, 2026 05:47 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ। गत साता २६२१.२९ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२६ प्रतिशत अर्थात ६.८८ अंक बढेर २६२८.१७ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने दुई कारोबार दिन सामान्य अंक घटेको थियो।

यस साता फ्लोट इण्डेक्स ०.८८ प्रतिशत बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब १६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.१५ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३४.८२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.३९ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साता ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १९ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ। गत साता ५४०८.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ७४.२८ अंक बढेर ५४८२.७७ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो। त्यस्त्ै, यस साता बैंकिङ्ग र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक १.५७ प्रतिशत घटेको छ। गत साता ४४१३.८८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६९.३५ अंक घटेर ४३३३.५३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ८६.९२ अंक घटेको छ।

यस साता नेपाल ल्यूब आयलको को १ लाख ४५ हजार ७२५.३६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

माण्डु हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक ७.१९ प्रतिशत बढेको छ। गत साता ८२१ रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर, यस साता ८८० रुपैयाँ पुगेको छ। त्यस्तै, यस साता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयरको मूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १०.२५ प्रतिशत घटेको छ। गत साता ९४६ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर, यस साता ८४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माण्डु हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने छ्याङ्दी हाइड्रोपावर, कालिन्चोक दर्शन, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।