लघुवित्तको खराब कर्जा १२.९१ प्रतिशत पुग्यो, नाफा सामान्य बढ्याे

Nov 29, 2026 04:41 PM Merolagani



लघुवित्त वित्तीय संस्थाहरूको नाफामा सामान्य सुधार देखिए पनि खराब कर्जाको बढ्दो जोखिमले समग्र क्षेत्रको वित्तीय अवस्थामाथि दबाब सिर्जना गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका ४९ लघुवित्तमध्ये ४२ वटा नाफामा छन् भने ७ वटा संस्था अझै घाटामा छन् ।

समीक्षा अवधिमा लघुवित्त क्षेत्रको औसत खुद नाफा ४.२९ प्रतिशतले बढेर ४ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा औसत ४ करोड २२ लाख रुपैयाँ थियो । त्यस्तै, औसत जगेडा कोष ९.४२ प्रतिशतले बढेर ९३ करोड ८४ लाख रुपैयाँ पुगेको छ । तर, खराब कर्जाको अवस्था भने थप चुनौतीपूर्ण बनेको छ ।

 

छिमेक लघुवित्त सर्वाधिक नाफामा, ७ संस्था घाटामा

पहिलो त्रैमासको विवरणअनुसार ४९ लघुवित्तमध्ये २६ वटाले अघिल्लो वर्षको तुलनामा नाफा बढाएका छन् भने २३ वटाको नाफा घटेको छ ।

नाफाको रकमका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा अगाडि देखिएको छ । संस्थाले २७ करोड ३३ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तले २१ करोड ९९ लाख ३० हजार, जीवन विकास लघुवित्तले २० करोड १५ लाख १० हजार, नेसनल लघुवित्तले १९ करोड ५ लाख ३० हजार र साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

नाफा वृद्धिदरका आधारमा भने एनआइसी एसिया लघुवित्त सबैभन्दा अगाडि छ । संस्थाको खुद नाफा १ हजार १२२.५९ प्रतिशतले बढेर ११ करोड ११ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष घाटामा रहेका मेरो माइक्रोफाइनान्स, मातृभूमि लघुवित्त र सिर्जनशील लघुवित्त पनि यसपटक नाफामा फर्किएका छन् ।

यद्यपि, सातवटा संस्था अझै खुद नोक्सानीमा छन् । सिवाइसी नेपाल लघुवित्त ७ करोड ४४ लाख ७० हजार रुपैयाँ घाटासहित सबैभन्दा कमजोर अवस्थामा देखिएको छ । विजय लघुवित्त ६ करोड ६९ लाख ९० हजार रुपैयाँ घाटामा छ ।

त्यस्तै, नेरुडे मिर्मिरे २ करोड ८० लाख, आरम्भ चौतारी २ करोड ३५ लाख ६० हजार, जनउत्थान सामुदायिक १ करोड ७ लाख, सामुदायिक लघुवित्त ६७ लाख ४० हजार र समता घरेलु लघुवित्त २५ लाख ३० हजार रुपैयाँ खुद नोक्सानीमा छन् ।

जगेडा कोषमा वृद्धि, साना किसान र छिमेकको बलियो अवस्था

लघुवित्त क्षेत्रको औसत चुक्ता पुँजी अघिल्लो वर्षको ८२ करोड ९२ लाख रुपैयाँबाट बढेर ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । औसत जगेडा कोष भने ८५ करोड ७६ लाख रुपैयाँबाट ९३ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी र जगेडा कोषका आधारमा साना किसान विकास लघुवित्त र छिमेक लघुवित्त सबैभन्दा बलिया संस्थाका रूपमा देखिएका छन् ।

साना किसान विकास लघुवित्तको चुक्ता पुँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ र जगेडा कोष ६ अर्ब १७ करोड ६ लाख रुपैयाँ छ । छिमेक लघुवित्तको चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख र जगेडा कोष ५ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोष वृद्धिदरमा भने अभियान लघुवित्त ११६.६३ प्रतिशत र नाडेप लघुवित्त १०४.०२ प्रतिशतको वृद्धिसहित अगाडि छन् ।

खराब कर्जा ५३.६५ प्रतिशतले बढ्यो, ४१ संस्थाको अवस्था बिग्रियो

लघुवित्त क्षेत्रको सबैभन्दा चिन्ताजनक पक्ष खराब कर्जामा देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको प्रमुख वित्तीय सूचकाङ्कअनुसार उद्योगको औसत खराब कर्जा अनुपात अघिल्लो वर्षको ८.४० प्रतिशतबाट बढेर १२.९१ प्रतिशत पुगेको छ । यो ५३.६५ प्रतिशतको वृद्धि हो ।

४९ मध्ये ४१ वटा लघुवित्तको खराब कर्जा बढेको छ भने आठ वटाले मात्रै यस्तो कर्जा घटाउन सकेका छन् ।

खराब कर्जाको अनुपात सबैभन्दा बढी मातृभूमि लघुवित्तको २७.०२ प्रतिशत पुगेको छ । नेरुडे मिर्मिरेको २१.७३ प्रतिशत, आरम्भ चौतारीको २१.२६ प्रतिशत, धौलागिरिको २१.०५ प्रतिशत र समता घरेलुको २०.५० प्रतिशत खराब कर्जा रहेको छ ।

वृद्धिदरका आधारमा महिला लघुवित्तको खराब कर्जा ४८९.७३ प्रतिशत र आरम्भ चौतारीको ४०३.७९ प्रतिशतले बढेको छ ।

यसको विपरीत फस्ट माइक्रोफाइनान्सले खराब कर्जा ५३.५४ प्रतिशतले घटाएर १.९७ प्रतिशतमा सीमित गरेको छ । यो समीक्षा गरिएका संस्थामध्ये सबैभन्दा कम हो । छिमेक लघुवित्तको खराब कर्जा २.२३ प्रतिशत र साना किसान विकास लघुवित्तको ३.१९ प्रतिशत रहेको छ ।

आत्मनिर्भरको प्रतिसेयर आम्दानी सबैभन्दा बढी

लघुवित्तहरूको औसत प्रतिसेयर आम्दानी ५.९५ प्रतिशतले बढेर २१ रुपैयाँ ५८ पैसा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २० रुपैयाँ ३७ पैसा थियो ।

आत्मनिर्भर लघुवित्त ९५ रुपैयाँ ३७ पैसा ईपीएससहित शीर्ष स्थानमा छ । महिला लघुवित्तको ८० रुपैयाँ ४० पैसा, सिर्जनशील लघुवित्तको ७५ रुपैयाँ १५ पैसा र मिथिला लघुवित्तको ६७ रुपैयाँ ९३ पैसा ईपीएस रहेको छ ।

त्यस्तै, औसत प्रतिसेयर नेटवर्थ ३.४० प्रतिशतले बढेर २०१ रुपैयाँ ९५ पैसा पुगेको छ । आत्मनिर्भर लघुवित्तको नेटवर्थ ३८१ रुपैयाँ ७९ पैसा, जीवन विकासको ३२७ रुपैयाँ ४४ पैसा र सिवाइसी नेपालको ३०४ रुपैयाँ ४९ पैसा रहेको छ ।

तर, घाटामा रहेका सातवटै संस्थाको ईपीएस ऋणात्मक छ । सिवाइसी नेपालको प्रतिसेयर आम्दानी ऋणात्मक १११ रुपैयाँ ८० पैसा रहेको छ ।

नाफा बढे पनि कर्जा असुली मुख्य चुनौती

लघुवित्त क्षेत्रको वित्तीय विवरणले नाफा, जगेडा कोष र प्रतिसेयर आम्दानीमा केही सुधार देखाए पनि खराब कर्जाको तीव्र वृद्धिले क्षेत्रको जोखिम अझै कायम रहेको देखाउँछ ।

विशेषगरी ४९ मध्ये ४१ संस्थाको खराब कर्जा बढ्नुले समस्या केही सीमित संस्थामा मात्र नभई समग्र क्षेत्रमा फैलिएको संकेत गर्छ । खराब कर्जा बढ्दै जाँदा संस्थाहरूको कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) बढ्न सक्छ, जसले आगामी त्रैमासमा नाफा र लाभांश वितरण क्षमतामा समेत असर पार्न सक्छ ।

त्यसैले आगामी दिनमा लघुवित्त संस्थाहरूको वास्तविक वित्तीय सबलता मूल्याङ्कन गर्दा नाफाको वृद्धिभन्दा कर्जा असुलीको अवस्था, खराब कर्जा नियन्त्रण र जोखिम व्यवस्थापनलाई बढी महत्त्वका साथ हेर्नुपर्ने देखिन्छ ।