हजारौ लगानीकर्तालाई "मारेर" सेयर बजारबाट बेपत्ता भएको कम्पनीको गुपचुपमा हुनेभयो साधारणसभा ?

Feb 10, 2017 Merolagai

तिलक कोइराला

हजारौ लगानीकर्तालाई डुबाएर बर्षौ पहिले सेयर बजारबाट बेपत्ता भएको कम्पनी हरिसिद्धी ईट्टा तथा टायल कारखाना लिमिटेड(HBT)को साधारणसभा बस्ने सम्बन्धी प्रारम्भिक सूचना आएको छ । कम्पनीले त्यसका सेयरधनीको आँखा नै नपरोस भन्ने हिसाबले एउटा दैनिक पत्रिकामा  साधारणसभाको मिति यकिन नगरी सूचना निकालेको हो ।

सूचनामा साधारणसभा बोलाउनका लागि लेखापरीक्षण हुन बाँकी आर्थिक बर्षको लेखा परीक्षण सम्बन्धी प्रक्रिया अगाडि बढिरहेको र सो समाप्त  भएपछि २०७३ चैत्र मसान्त भित्र साधारणसभा सम्पन्न गरिने जानकारी गराईएको छ । साधारणसभा बस्ने स्थान, मिति र समय कम्पनी ऐन २०६३ को प्राबधान बमोजिम सार्वजनिक सूचनाद्धारा जानकारी गराईने भनिएको छ ।

कम्पनी सचिवको नामबाट जारी गरिएको सूचनामा कम्पनीको कार्यालय रहेको ठेगाना र सम्पर्क टेलिफोन नम्बर समेत नहुनु अर्थपूर्ण मान्न सकिन्छ । बहुमत साधारण सेयरधनीको जानकारीमा नपुगोस भनी झारा मात्र टार्ने किसिमले यो सूचना प्रकाशन भएको स्पष्ट रुपमा देखिन्छ । कम्पनीको बहुमूल्य सम्पतिलाई ब्यवस्थापन गर्न सिमित ब्यक्तिहरु उपस्थित भएर साधारणसभा गराई प्रक्रिया पुर्याईएको देखाउने  षडयन्त्र लुकेको आभाष हुन्छ । 

२००८ मे १५ मा नेपाल स्टक एक्सचेन्जमा प्रति कित्ता चार रुपैयाँमा अन्तिम सेयर कारोबार भएको रेकर्डबाट देखिन्छ । त्यतिखेरसम्म १० रुपैयाँ अंकित मूल्यका एक करोड ८६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सुचिकृत थिए ।

 

प्रत्यक्ष नियमनकारी निकाय नभएका यस्ता कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताले कस्तो मूल्य चुकाउनु पर्छ भन्ने कुरा हरिसिद्धीका पीडित लगानीकर्ताले बितेको ९ बर्षका वीचमा राम्रैसित अनुभुति गर्न पाएका छन् । उत्पादनमुलक कम्पनीहरुलाई सेयर बजारमा आऊ आऊ भनिरहेका नियमनकारी निकायहरुले पनि यस्ता बदमास कम्पनीहरु चाँही छिर्न नपाउँन भनी सचेतता अपनाउनु पर्ने पाठ पनि सिक्नुपर्ने देखिन्छ ।

हरिसिद्धी र्ईट्टा तथा टायल कारखाना चीन सरकारले उपहार स्वरुप बनाई दिएको थियो । ललितपुरको हरिसिद्धीमा ईट्टा तथा टायल उत्पादन गर्ने कारखाना संचालनमा ल्याएको सो कम्पनी धान्नै नसक्ने घाटा र दायित्व बहन गर्न नसक्दा बन्द गर्नु परेको २००८ को अगस्त ३ मा तत्कालीन मुख्य कार्यकारी नरेन्द्र महर्जनले बताएका थिए । जबकि सो कारखानाले उत्पादन गरेका ईट्टा तथा टायलहरु धेरै गुणस्तरीय मानिन्थ्यो र उपत्यकाबासीहरु त्यसको ईट्टाले घर बनाउन तछाड मछाड गर्थे ।

राम्ररी चलिरहेको सो कम्पनीलाई २०४९ सालमा निजीकरणको हावा चलेपछि निजीकरण गरियो र त्यसको सम्पतिमा बदनाम एनबी समूहले रजाई गर्न थाल्यो । उनीहरुले कारखाना राम्ररी चलाउने भन्दा पनि जग्गा बेचेर सम्पति थुपार्ने षडयन्त्र गरे । त्यहाँ कार्यरत ३० स्थायी र ८० मजदुरले कारखाना चलाउन सकिने अडान लिदै बन्द गर्न नदिन प्रयास गरे पनि ब्यवस्थापनले त्यहाँ मेडिकल कलेज बनाउने र ईट्टा तथा टायल कारखाना कम महत्वको बिषय भएको भन्दै जबरजस्ति बन्द गराएको थियो । मजदुरहरुले कम्पनीमा रहेको सर्बसाधारणको लगानी डुबाउन ब्यवस्थापनले षडयन्त्र गरेको भन्दै आन्दोलन समेत गरेका थिए तर उनीहरुलाई श्रम ऐनले तोकेको भन्दा दोब्बर सुबिधा दिएर बिदा गर्ने प्रलोभन दिएर कारखाना सदाका लागि बन्द गरिएको थियो । स्वतन्त्र मजदुर युनियनका अध्यक्ष तथा कारखाना कामदार जसोक ठाकुरले सर्बसाधारणको लगानी र बैंकहरुको कर्जा डुबाउन ब्यवस्थापनले षडयन्त्रपूर्वक कारखाना बन्द गराएको आरोप लगाएका थिए । 

कारखाना बन्द गरेपछि एनबी समूहले जग्गालाई बिभिन्न बैंकमा राखेर ठूलो परिमाणमा कर्जा निकालेका थिए, जसको सावाँ ब्याज नतिरेपछि उनीहरु कालो सूचीमा समेत परे । 

झण्डै तीन बर्ष अगाडि हरिसिद्धीका बासिन्दाहरुले आफुहरुले प्रति रोपनी १५०० रुपैयाँमा बेचेको सात सय रोपनी जग्गा फिर्ता माग गर्दै सर्बोच्च अदालतको ढोका ढक्ढक्याएका थिए । 

सर्बत्र बदनाम भएको एनबी समूह हरिसिद्धी डुबाउँदाको पापबाट संभवत कहिल्यै मुक्त हुनसक्ने छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।