जलविद्युत आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ । ऊर्जा मन्त्रालय र कम्पनीबीच १४ पुस २०७३ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुत्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ । माथिल्लो त्रिशूली–१ सँग अधितकम दश वर्ष वा व्यवसायीक विद्युत उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि (पे–व्याक पिरियड) मध्ये पहिले सम्पन्न हुने विषयको अवधिसम्मका लागि मात्रै डलरमा पीपीए गरिने बताइएको छ । उक्त अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुक्तानी हुने व्यवस्था गरिएकोे छ ।
पीपीए गरिने दिन नेपाल राष्ट्र बैकले तोकेको डलरको सटही मूल्यलाई स्थिर राखिने छ । प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाममा ८ रुपैंया ४० पैसा र वर्षायाममा ४ रुपैंया ८० पैसा प्रति युनिटको दरमा किन्ने छ । आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोही अनुसार कम गरिने बताइएको छ ।
विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । त्यस्ता आयोजनामा स्वपूजि (इक्विटी)को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।
स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशूली–१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ । माथिल्लो त्रिसूली–१ सँग डलरमा पिपिए गर्दा विदेशी मुद्रा विनिमय जोखिम बेहोर्न एउटा कोष स्थापना गरिने छ ।
नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनिकरण गर्न ‘हेजिङ फण्ड’ स्थापना गरिने छ । नेपाल राष्ट्र बैकले ‘हेजिङ फण्ड’को स्थापना, संचालन र नियमनको ढांचा तयार गर्ने छ । हेजिङ लागत नेपाल सरकार, प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा व्यहोर्ने छन् ।
यसभन्दा अघि नेपाल विद्युत प्राधिकरणले खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२मेगावाट), माथिल्लो मस्र्याङदी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट) र रसुवा–भोटेकोसी (१२० मेगावाट) जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको छ ।
उक्त आयोजनाहरुमध्ये सञ्चालनमा आइसकेका खिम्ती, भोटेकासी र माथिल्लो मस्र्याङदी एको हालको पीपीए दर प्रति युनिट क्रमश १० रुपैंया ९५ पैसा, ११ रुपैंया १६ पैसा र ७ रुपैंया ३५ पैसा प्रतियुनिट रहेको छ । खिम्तीको रोयल्टी समेत प्राधिकरणले तिर्दै आएको छ ।