शेयरधितो कर्जा प्रवाह गर्नसक्ने कुन बैंकको क्षमता कति ? तथ्याङ्कमा हेर्नुहोस्

Jul 12, 2018 Merolagani

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको सीमा प्राथमिक पूँजीको ४० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झारेको छ । जसले गर्दा आम लगानीकर्तामा शेयर धितो कर्जामा संकुचन आउने हो कि भन्ने चिन्ता र दुविधा बढ्दा उनीहरुको बजारप्रतिको विश्वास समेत खस्केको छ ।

तर तथ्याकंहरुले मार्जिन कर्जाको सीमा घटाइएपनि शेयर धितोमा वाणिज्य बैंकहरुले प्रवाह गर्नसक्ने कर्जाको क्षमतामा ह्रास नआउने देखिएको छ ।

प्राय सबैजसो बाणिज्य बैंकहरुको आठ अर्ब चुक्ता पूँजी पुगिसकेको अवस्थामा राष्ट्र बैंकको नीतिले शेयरकर्जामा संकुचन नआउने प्रष्ट छ तर बैंकहरु यो क्षेत्रमा कर्जा प्रवाह गर्न कतिको लचक हुन्छन् भन्ने चिन्ता हुनु भने स्वभाविक देखिन्छ ।

राष्ट्र बैंकको मार्जिन प्रकृतिको कर्जाको सीमा घटाउने नीतिले मात्र शेयरबजारमा निरुत्साहीत हुनुपर्ने तथ्याकंहरुले भने देखाउदैन । चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार संचालनमा रहेका २८ वाणिज्य बैंकहरुको प्राथमिक पूँजी तीन खर्ब ३८ अर्ब रुपैयाँ नाघेको छ । यस्तो अवस्थामा ति बैंकहरुले झण्डै ८५ अर्ब रुपैयाँसम्म सेयर कर्जा प्रदान गर्नसक्ने क्षमता देखिएको छ ।

कुन बैंकको कति क्षमता ?

वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्मको तथ्यांक हेर्दा २८ वाणिज्य बैंकहरुको प्राथमिक पूँजी ३ खर्ब ३८ अर्ब ७६ करोड पुगेको देखिन्छ । अझै केही बैंकहरुले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बाँकी नै छ । जसले गर्दा बैंकहरुको प्राथमिक पूँजी अझै बढ्ने देखिन्छ ।

चैत्रसम्मको तथ्याकंले वाणिज्य बैंकहरुको ८४ अर्ब ६९ करोड बराबरको शेयर कर्जा दिनसक्ने क्षमता देखाउँछ तर उनीहरुले यसअवधिमा ३३ अर्ब ३ करोड रुपैयाँ मात्र शेयरकर्जा प्रवाह गरेका छन्। यही अवस्थामा २८ वाणिज्य बैंकहरुले अझै ५१ अर्ब ६६ करोड शेयर कर्जाको धितोमा ऋण प्रदान गर्न सक्नेछन् । ।

२८ वाणिज्य बैंकहरुमध्ये नेपाल एसबिआई, स्ट्याण्डर्ड चार्टर्ड र कृषि विकास बैंकले शेयर धितो कर्जा नै प्रवाह गरेका छैनन् । यी तिन बैंकले मात्रै यो क्षेत्रमा १० अर्ब ४९ करोड शेयर कर्जा प्रवाह गर्नसक्ने अवस्था छ ।

चैत्र सम्मको तथ्यांकले शेयर धितोमा कर्जा प्रवाह गर्ने बैंकमा सिटिजन बैंक सबैभन्दा उदार देखिएको छ । सिटिजनको २ अर्ब ६० करोड यस्तो कर्जा प्रवाह गर्ने क्षमता रहेकोमा उसले २ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन सीमा भन्दा ११ करोड रुपैयाँ बढी हो ।

एनबीबी बैंकले शेयर धितोमा कर्जा प्रवाह गरेका बैंकमध्ये सबैभन्दा कम २५ करोड मात्र शेयरकर्जा प्रवाह गरेको छ । बैंकको २ अर्ब ७९ करोड कर्जा प्रवाह गर्ने क्षमता देखिन्छ । बैंकले चाहेमा यो क्षेत्रमा थप २ अर्ब ५४ करोड शेयरकर्जा प्रवाह गर्न सक्ने अवस्था छ ।

सबैभन्दा धेरै प्राथमिक पूँजी रहेको इन्भेष्टमेन्ट बैंकले शेयर धितोमा थप ४ अर्ब ५४ करोड कर्जा प्रवाह गर्न सक्छ । ५ अर्ब ३९ करोड कर्जा दिन सक्ने क्षमता भएको बैंकले हालसम्म एक अर्ब २९ करोड मात्र शेयर धितोमा कर्जा प्रवाह गरेको छ ।

अहिलेको अवस्थामा २८ वाणिज्य बैंकहरुमध्ये ६ बैंक बाहेकका अन्य बैंकहरुले एक अर्ब भन्दा बढी रकम शेयर धितोमा कर्जा दिन सक्ने स्थिति छ । यो अवस्थामा १२ बैंकले दुई अर्ब बढी, चार बैंकले तीन अर्ब बढी र दुई बैंकले चार अर्ब बढी शेयर धितोमा कर्जा प्रवाह गर्नसक्ने अवस्था देखिन्छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले पनि शेयर धितोमा प्रवाह हुने कर्जामा कुनै संकुचन नआउने देखिन्छ । तर यसमा बैंकहरुले लिने रणनीतिमा समेत भर पर्दछ । केही बैंकहरुले यो क्षेत्रमा शुन्य कर्जा प्रवाह गरेको र केही बैंकले सीमा अनुसारकै कर्जा प्रवाह गरेको पाइएको छ ।

शेयरधितोमा प्रवाह गर्ने कर्जाको सीमा राष्ट्र बैंकले तोकेपनि बैंकहरु उदार नहुँदा यो क्षेत्रमा तोकिएको जति कर्जा प्रवाह हुन सकेको छैन । अर्कातर्फ धेरै लगानीकर्ताहरुले यो सुविधा उपयोग नगरेको अवस्था पनि हुनसक्छ ।

मौद्रिक नीतिले मार्जिन कर्जाको सीमा घटाएको हाउगुजी भजाएर शेयरबजारमा चलखेल गर्नेहरुबाट  भने लगानीकर्ताहरु सचेत हुनुपर्ने प्रस्तुत तथ्यांकले देखाउँछ । बजार उत्साहीत नहुनमा अन्य विविध कारणहरु हुनसक्लान तर मार्जिन कर्जाको सीमा ४० प्रतिशतबाट २५ प्रतिशतमा झार्देमा शेयरबजारबाट भाग्नुपर्ने अवस्था देखिदैन ।

तर राष्ट्र बैंकले सीमा तोकेपनि शेयर धितोमा प्रवाह गर्ने कर्जा अनिवार्य नभनेकाले बैंकहरुले यस्तो कर्जा ऐच्छिक रुपमा दिने गर्छन । जसले गर्दा शेयरबजारका लगानीकर्ता भने निरुत्साहीत देखिन्छन् । उनीहरुले शेयर धितोमा प्रवाह गरिने कर्जा पनि अनिवार्य गरिनुपर्ने बताउँदै आएका छन् । 

अर्कातर्फ राष्ट्र बैंकले शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्म भन्दा बढीले घटेको अवस्थामा मात्र बैंकहरुले मार्जिन कल गर्न सक्ने मौद्रिक नीतिमा व्यवस्था गरेको छ । यसबाट पनि लगानीकर्ताले थप सहुलियत पाउने नै हो ।यसअघि बैंकहरुले १० प्रतिशत मूल्य घटेपछि मार्जिन कल गर्दे आईरहेका थिए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।