शेयर बजारको भावनात्मक चक्रको विश्लेषण

Dec 01, 2018 Merolagani

- आनन्द कुमार भट्टराई ।
शेयर बजारमा सफलता प्राप्त गर्न लगानीकर्ताले बजारको भावनात्मक चक्र (Emotional Cycle) को बारेमा जानकार हुनु जरुरी हुन्छ। यसले लगानीकर्तालाई चक्रको विभिन्न खुड्किलामा बहुसंख्यक लगानीकर्ताबाट कस्तो किसिमको ब्यवहारको प्रदर्शन हुन्छ त्यसको बारेमा जानकारी दिई सहि निर्णयको लागि मार्ग प्रशस्त गर्छ।

शेयर बजारमा गरिने लगानीलाई पूर्ण रुपले रणनीतिक, विधिसम्मत तथा तार्किक लगानीको रुपमा हेरिने गरिएको छ।

तथापी, यो सधैं यस्तै हुँदैन र हरेक लगानीको उद्धेश्य नाफालाई बढाउनु र घाटा कम गर्नु हो जुन की चुनौतीपूर्ण हुन्छ ।

खासगरि बजारको बुम (Boom) चक्रमा लगानीकर्ताको निर्णयमा भावनाले प्रत्यक्ष असर गरिरहेको हुन्छ। यस्तो बेला डर र लोभ विचको घम्साघम्सीले मूख्य ड्राईभरको रुपमा काम गरिरहेको हुन्छ ।

दुर्भाग्यवश यस्तो भावना प्रायः जसो लगानीकर्ताको लागि काउन्टर प्राेडक्टिभ (counter-productive) प्रमाणित भएको हुन्छ ।

अर्को शव्दमा भन्दा भावनाले कमजोर लगानी निर्णयलाई प्रशय दिईरहेको हुन्छ । यद्यपी, बहुसंख्यक लगानीकर्ताले आफ्नो मनले नभई दिमागले लगानी गरिरहेका हुन्छन् । तिनले बजार  जनमत (public opinion) को प्रतिविम्ब हो भन्ने स्वीकार गरेका हुन्छन्। बजारले लगानीकर्ताको भावनालाई प्रतिविम्बित गरेको हुन्छ तथापी एक पाईला पछाडि फर्केर हेर्दा लगानीकर्ताले भविष्यवाणी गरे जस्तै उसको भावना (sentiment) ले बजारलाई डोर्याएको हुँदैन । 

 शेयर बजार घटबढ हुनु एउटा साश्वत सत्य हो । यो कहाँ पुग्छ भन्ने कुरा दुई जनालाई मात्र थाहा हुन्छ । एउटा भगवान हुन् भने दोश्रो फटाहा हो । भगवान सँग हाम्रो टेलिफोन संवाद हुने सम्भावना नै छैन भने फटाहालाई हामी विश्वास गर्दैनौं ।

वास्तवमा जब बजार आफ्नो चक्रमा अगाडि बढ्छ, लगानीकर्ताको भावनाले चक्रलाई पछ्याउँदै जान्छ जुन हरेक ५-७ वर्षमा दोहरिने गर्छ । जब-जब चक्र अगाडि बढ्दै जान्छ भावनाको प्रार्दुर्भाव हुँदै जान्छ र त्यसले लगानीकर्ताको निर्णय क्षमतामा सोही अनुकूल प्रभाव पार्दै जान्छ।

 

 

भावनाको यस्तो चक्रको बारेमा जानकारी राख्नु हाम्रो लागि शिक्षाप्रद मात्रै होईन अपितु यसले डरको माहौलको बेलामा लगानी गराएर उच्च प्रतिपल दिलाउन पनि सक्षम हुन्छ भने अत्यधिक आत्मविश्वास (Over Confidence) को समयमा लगानीकर्तालाई कर्न्जभेटिभ (conservative) हुन प्रेरित गरेर घाटा हुनबाट बचाउँछ । अतः यसको ज्ञानले हामीलाई चक्रको विभिन्न खुड्किलामा कसरी ब्यवहार गर्ने भनेर  मनि मेकिङ्ग ट्रिक (Money making Trick) को जानकारी दिन्छ ।

भावनात्मक चक्रको १४ खुडकिला

Boom-slump cycle सबै बजारको लागि नियति भएकोले लगानीकर्ताको भावनाले सोही अनुकूल ब्यहार देखाउादै उचाईमा पुगि फेरि घटदै तल्लो बिन्दुमा आई पुनः रिकभरि (recovery) को अववस्थामा अगाडि बढ्दै जान्छ (Roller Coasterजस्तो) जुन क्रममा लगानीकर्ता निम्न १४ वटा खुड्किलाबाट गुजरिँदै जान्छन् ।

१. आशावादी (Optimism) :

जब लगानीकर्ताले भविष्य प्रति सकारात्मक सोच तथा सम्भावित लाभको आशामा लगानी गर्न शुरु गर्छ तब यो चक्रको शुरुवात हुन्छ ।

यो अवस्थामा प्रायः सबैजना आशावादी हुन्छन् किनकी सबै शेयरले दिन दिनै राम्रो प्रतिफल दिईरहेको हुन्छ। यो अवस्थामा लगानीकर्तालाई शेयरको मूल्य तल जाने सम्भावना एकदमै कम हुन्छ जस्तो लाग्छ । 

२. उत्तेजना (Excitement) :

यो अवस्थामा बजारमा शेयरको मूल्य दिन दिनै बढ्दै जान्छ र लगानीकर्ताले आफूलाई बजारको अपराजित खेलाडीको रुपमा महसुस गरिरहेको हुन्छ । वास्तवमा उसले खरिद गरेको र अाफूसँग भएको सबै शेयरले राम्रो गरिरहेको हुन्छ ।

यहाँ सम्म की उसले कल्पना नगरेको शेयरको मूल्यले पनि राम्रो वृद्धि प्राप्त गरेको हुन्छ । यसले गर्दा नयाँ लगानीकर्ता पनि आकर्षित भई कारोबार समेतले उचाई लिन शुरु गरिसकेको हुन्छ ।


३. रोमान्च (Thrill) :

यो अवस्थामा लगानीकर्ताले आफ्नो सफलताबाट उत्साहित भई आफ्ना नातेदार, साथीभाई तथा सबैलाई "मैले त केहि हप्तामै २० प्रतिशत कमाएँ र यहि हिसाबले वर्ष दिनमा १०० प्रतिशत सम्म आम्दानी हुन्छ" जस्ता कुरा रोमान्चित भई सुनाउनुका साथै "मैले त आफ्नो लगानी बढाउने भरमग्दुर प्रयास गर्दैछु" भनि यत्र तत्र सर्वत्र सुनाउँदै हिड्न थाल्छ ।

यस्तो आशावादी कुरा सबै लगानीकर्ताबाट सञ्चारित भएपछि "म किन पछाडि परि बेवकुफ बन्ने" भन्ने सोचले नयाँ तथा पुराना निष्क्रिय लगानीकर्ताको प्रवेश ब्यापक हुन थाल्छ ।

४. उत्साह (Euphoria)

यो अवस्थामा शेयरको मूल्यले अभूतपूर्व उचाईलाई छोई सकेको हुन्छ । सबै जना उत्साहित भई मोज मस्तीमा संलग्न भईरहेका हुन्छन् र लगानीकर्ताको उत्साहले बजारलाई डोमिनेट गरको हुन्छ ।

जस्तोसुकै शेयर किने पनि नयाँ तथा पुराना सबै लगानीकर्ताले मनग्य आम्दानी गरिरहेका हुन्छन् । यो अवस्थामा रद्दीको टोकरीमा रहेको तथा स्पेकुलेटिभ शेयरले पनि पैसा छापीरहेको हुन्छ।

लगानीकर्ता शेयर नपाईएला की भनी खरिद गर्न तछाड मछाड गरिरहेका हुन्छन् । यति बेलासम्म बजार बेलुन फुलेको (Stock Market Bubble) को अवस्थामा पुगिसकेको हुन्छ ।

विभिन्न समाचारपत्र तथा अर्थविज्ञहरुबाट बजार एकदमै उचाईमा पुगिसकेको हुँदा झर्ने सम्भावना धेरै नै रहेको जस्ता समाचार आउन थाल्छ । यसको बावजुद पनि लगानीकर्ताले "सबै शेयर बढि रहेकोले अझै पनि बढ्दै जान्छ" भन्ने मानसिकताले खरिद बढाउँदै जान्छन् ।

५. चिन्ता (Anxiety) : 

एक्कासी शेयर बजार झर्न थाल्छ । बजार एकदमै फूलिसकेको तथा शेयरको मूल्य अधिकमूल्य (overvalued) भएको छ भनी नयाँ विज्ञहरुबाट बजारमा विचारहरु सम्प्रेषित हुन थाल्छन् ।

यता पहिलोचोटी घाटा देखेका लगानीकर्ताहरु दीर्घकालीन अवधीमा तिनको शेयरले राम्रै प्रतिफल दिन्छ भनेर आफ्नो चिन्तामाथि विजय प्राप्त गर्ने प्रयास गर्छन् ।

 

६. अश्वीकार (Denial) :  

बजारले फेरि पनि फर्कने (rebound) कुनै संकेत देखा पर्दैन तथापी लगानीकर्ताले उसले गलत निर्णय गरेको छैन र बजारले सुधारको बाटो समात्छ भनेर विश्वास गर्दै घटाईलाई अश्वीकार गर्छ ।

७. डर, भय (Fear) :  

बजारमा केहि गलत भईरहेछ भन्ने दाेधार (confusion) ले लगानीकर्ताको सेन्टिमेन्टमा नाटकिय परिवर्तन आउन थाल्छ र अब बजार फेरि फर्केर माथि जाँदैन भन्ने भयले लगानीकर्तालाई तर्साउन थाल्छ ।

उसले पनि अरुले जस्तै भीडलाई पछ्याउँदै  अाफूसँग भएकाे शेयर बिक्री गर्न थाल्छन् ।


८. निराशा (Desperation) :  

यो अवस्थामा बिक्री चाप बढ्दै गई मूल्य तल झर्दै जान्छ र पहिले जस्तो जहाँतहीँ शेयरको चर्चा हुन पनि छाड्छ।

समाचारपत्रहरुले पनि शेयरको बारेमा चर्चा गर्न छोड्छन् । अन्ततः लगानीकर्तामा आफ्नो नोक्सानी पूर्ती हुँदैन भनि निराशाको बादल छाउन थाल्छ ।

९. आतङ्क (Panic) :  

बजार निरन्तर तल झर्दै तल्लो बिन्दुमा लम्कन थाल्छ जुन अवस्थाको कल्पना भर्खरै प्रवेश गरेका नयाँ लगानीकर्ताले गरेकै थिएनन्।

मूल्य अझै तल झर्दै गएर भर्खरै प्रवेश गरेका नयाँ तथा धैर्य गुमाएका लगानीकर्तामा आतङ्कको अवस्थाको श्रृजना गराउँछ, जसले छोटो अवधिमै दोहरो अङ्कको नोक्सानी ब्यहोरेका हुन्छन् ।

यति बेला ब्लग, भाईबर ग्रुप तथा फेसबुक डिस्कसन ग्रुपका वालहरु अब के गर्ने भन्ने मानिसिकताबाट डोमिनेटेड हुन्छ र बजारमा अकल्पनीय आतङ्कको श्रृजना भैसकेको हुन्छ ।

त्यसैगरि यो अवस्थामा पहिलेका तथाकथित बजार विज्ञहरु जो की बजार उच्च हुँदा हालीमुहाली गर्थे एक्कासी बजारबाट हराउन पुग्छन् ।

१०. आत्मसमर्पण (Capitulation) :  

यो अवस्थामा चारैतिर "बिक्री!!! बिक्री!!! बिक्री!!!" को कोलाहल सुनी धैर्यता नभएका लगानीकर्ताले अवस्था सहज हुने आशा त्याग्छन् ।

लगानीकर्ताहरूले आफ्नो हार स्वीकार गरि सावाँ असुलीको आशा त्याग्दै अझै नोक्सानी नहोस् भनि सस्तोमा शेयर बिक्री गरि बाहिरिन्छन् ।


११. निराशा, आशाहीन (Despondency) :  

बजार चक्रको यो सबभन्दा तल्लो बिन्दु हो । बजार पुनः फर्किन्छ भन्ने सबै आशा त्यागि लगानीकर्ताले आफूसँग भएको बाँकी सबै शेयर बिक्री गर्छन् ।

त्यसबाट परेको चोटबाट विक्षिप्त भएर तिनले अब कहिले पनि शेयर बजारमा प्रवेश नगर्ने कसम समेत खान्छन् ।

१२. अवसाद (Depression) यसरी शेयर बजारमा असफल भएर सम्पती गुमाएपछि आफ्नो दुख:दायी निर्णयले यस्तो असफलता भोग्नु परेको भन्ने मानसिक तनावले तिनमा मानसिक तनाब (डिप्रेशन) आउन थाल्छ ।

१३. आशा (Hope) :  बजारको प्रकृति अनुसार बजार फेरि सम्हालिन थालेपछि यो बजारको चक्रिय स्वरुप हो भन्ने महसुस गरि तिनमा नयाँ अवसरको आशा पलाउँछ ।

१४. राहत (Relief) नयाँ अवसरलाई खेर जान नदिई तिनले सतर्कता पूर्वक खरिद गरेका शेयरबाट मुनाफा भएपछि तिनले राहतको सास लिन्छन र तिनीहरु पुनः बजार प्रति आशावादी (optimistic) हुन्छन् र यो नयाँ चक्र फेरी शुरु हुन्छ ।



शेयर बजार घटबढ हुनु एउटा साश्वत सत्य हो । यो कहाँ पुग्छ भन्ने कुरा दुई जनालाई मात्र थाहा हुन्छ । एउटा भगवान हुन भने दोश्रो फटाहा हो । भगवान सँग हाम्रो टेलिफोन सम्वाद हुने सम्भावना नै छैन भने फटाहालाई हामी विश्वास गर्दैनौ ।

त्यसैले लगानीकर्ताले बजारको चक्रबाट विचलित नभई कम्पनीको अवस्था र देशको अर्थ ब्यवस्था समेतको विचार गरि लह-लहैमा नलागि समयानुकूल निर्णय लिने बानी बसालेमा कहिले पनि नोक्सानी ब्यहोर्नु पर्दैन ।

(लेखक भट्टराई अर्थ मन्त्रालयका अवकाश प्राप्त उप सचिव हुन्।)

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।