शेयर बजारको अस्वाभाविक राजनीति

Dec 15, 2018 Merolagani

- आनन्द कुमार भट्टराई।
मुलुकको शेयर बजार अहिले एकदमै तातेको अवस्थामा छ। चारैतिर यसकै चर्चा छ। एकथरि लगानीकर्ता विभिन्न माग राखि रिले अनसनमा छन् भने त्यसलाई सत्ता ईत्तर फक्षका विभिन्न घटकबाट सांकेतिक समर्थन पनि बढ्दो छ। वास्तवमा मुलुकको लागि यस्तो अवस्थामा किमार्थ पनि राम्रो मान्न सकिँदैन।

शेयर बजार आज यो अवस्थामा आउनुको पछाडि विभिन्न कारणहरु जिम्मेवार छन् । कुनै एक कारणले मात्र शेयर बजार यो अवस्थामा आएको होईन ।

ती कारणहरुको फेहरिस्त निकै लामो भए पनि छापा माध्यममा आएका विभिन्न समाचार तथा विचारहरुको आधारमा मुख्य रुपमा प्रभाव पार्ने कारणहरु भने यी हुन सक्छन् :-

  • शेयरको अत्यधिक आपूर्ति
  • बढेको आपूर्ति खपत हुने माहोलको श्रृजना हुन नसक्नु
  • तरलताको कमीले गर्दा ब्याजदरमा देखिएको गैर जिम्मेवार तथा अस्वस्थ प्रतिस्पर्धाले श्रृजना भएको बढ्दो ब्याजदरको त्रास
  • शेयर बजार प्रतिको नकारात्मक धारणमा क्रमशः वृद्धि हुँदै जानु
  • लगानीकर्ताको आत्मविश्वाससमा अत्यधिक मात्रामा आएको गिरावट
  • सरकारप्रति लगानीकर्ताको विश्वासमा आएको अकल्पनीय ह्रास
  • खरिद गर्न उपयुक्त अहिलेको समयमा नयाँ तथा संस्थागत तथा ठूला लगानीकर्ताले प्रवेश गर्न नरुचाउनु । अादी

अहिले माथिका बुँदामा चर्चा गर्नु पूर्व के हाम्रो शेयर बजारको अहिलेको अवस्था विश्व शेयर बजारको सन्दर्भमा अस्वाभाविक हो अथवा नेप्सेको सूचक के कृतिम रुपले बढाईएको हो या घटाईएको हो त्यस बारेमा केही मनन् गर्नैपर्छ ।

मूलतः शेयरको मूल्य विभिन्न आधारमा निर्धारण भई कारोबार भईरहेको हुन्छ । कुन मूल्य बढी र कुन मूल्य कम भन्ने भनेर छुट्याउन कठिन हुन्छ। समान किसिमका दुई कम्पनीको शेयर मूल्यमा ठूलो अन्तर देखिन सक्छ।

यसो हुनुमा कम्पनी प्रतिको लगानीकर्ताको विश्वास, कम्पनीले भविष्यमा गर्ने प्रगतीको अनुमान, अर्थब्यवस्थाका तत्कालीन सूचकहरु, माग र आपूर्तीको अवस्था तथा लगानीकर्ताको मनोबलले मुख्य भूमिका खेलेको हुन्छ ।

कुनै पनि शेयरले सार्वजनिक आह्वान हुँदाका बखत घोषणा गरेको प्रति शेयर मूल्य (रु. १०, रु. ५० अथवा रु. १०० हुन सक्छ) नै आफूमा धारण गरेको हुन्छ जसलाई अंकित मूल्य भनिन्छ । तर बजारमा कुनै पनि कम्पनीको शेयर यो मूल्यमा पाउन प्रायः सम्भव देखिँदैन । कम्पनीको पूँजी बाहेक जगेडा कोष, प्रतिशेयर आम्दानी, कम्पनीको भविष्यको वृद्धिको अनुमान आदीले मूल्यलाई प्रभाव पारेको हुन्छ ।

विश्वको जुनसुकै शेयर बजारमा पनि आम लगानीकर्ताले शेयर मूल्यलाई मूल्य/आम्दानी अनुपात (P/E Ratio) तथा मूल्य/किताबी मूल्य अनुपात (P/BV) को आधारमा मूल्याङ्कन गर्ने गरेका छन् । अर्थात कम्पनीको अन्य आधारभूत सूचकहरु सकारात्मक रहेको अवस्थामा मूल्य/आम्दानी अनुपात र मूल्य/किताबी मूल्य अनुपात जति कम भयो त्यति राम्रो मानिन्छ । कुनै पनि आम लगानीकर्ताले, सजिलै बुझ्न सक्ने भएकोले, यसैलाई खरिद वा बिक्री गर्दा निर्णयको आधार बनाएका हुन्छन् ।

कुन अनुपातलाई खरिदको लागि योग्य मान्ने भन्ने कुरा लगानीकर्ताको जोखिम लिन सक्ने क्षमतामा निर्भर गर्दछ। अर्थात, कुनै एउटा अनुपात कुनै लगानीकर्ताको लागि उपयुक्त नभए पनि अर्को लगानीकर्ताको लागि उपयुक्त हुन सक्छ ।

आधारभूत रुपमा लगानीकर्ता  Defensive  तथा Aggressive गरि दुई किसिमका हुन्छन् । Defensive लगानीकर्ताले मूल्य/आम्दानी अनुपात र मूल्य/किताबी मूल्य अनुपात कम भएको शेयरमा मात्र लगानी गर्दछ भने Aggressive लगानीकर्ताले कम्पनीको अवस्थालाई विचार गरेर मूल्य/आम्दानी अनुपात र मूल्य/किताबी मूल्य अनुपात तुलनात्मक रुपमा बढी भए पनि शेयरमा लगानी गर्दछ ।

त्यसैले विज्ञहरुले विश्वको कुनै पनि शेयर बजारको सूचक अस्वाभाविक रुपले फुलेको अथवा खुम्चेको छ भन्नको लागि मूल्य/आम्दानी अनुपात र मूल्य/किताबी मूल्य अनुपातलाई आधार मान्ने गर्दछन । र यो जायज पनि यस अर्थमा छ की यसले आम्दानी र नेट वर्थ (किताबी मूल्य) लाई आधार बनाएको हुन्छ ।

त्यसैले सबै लगानीकर्ता, नियामक निकाय, सरकार, सञ्चार माध्यम तथा अर्थ विज्ञहरुले यो दृष्टीकोणले सोचेर शेयर बजारको स्वभाविक विकासको लागि आ-आफ्नो तहबाट प्रयास गरेमा लगानीकर्ताहरुले अनसन बस्नु पर्ने अवस्था आउने छैन ।

अन्य देशको शेयर बजारसँगको तुलना

भारतका तथा अमेरिकाका केहि कम्पनी र नेपालको केहि कम्पनीको तुलनात्मक विवरण

 

(नोटः उदाहरणको लागि २७ वाणिज्य बैंक र केहि ठूला लघुवित्त संस्थाको डाटा मात्र प्रस्तुत गरिएको छ ।)

विश्वका सबै शेयर बजारमा अधिकांश लगानीकर्ताहरु  P/E र P/BV Ratio कै आधारमा शेयरकाे मूल्य Under valued छ कि Over Valued छ भनि मूल्याङ्कन गरी लगानी गर्ने गर्दछन् । त्यसरी त्यसको आधारमा निर्णय गर्दा तिनले कम्पनीको विगतको  लाभांश वितरणकाे अवस्था (Dividend Payout Ratio ) अगामी दिनमा त्यसको कार्यक्षमता (Performance)  तथा ब्यवस्थापनलाई समेत निर्णयको आधार बनाएका हुन्छन् ।

हाम्रो देशमा भने  बाेनस शेयर तथा हकप्रद शेयरको सम्भावनाले पनि मूल्यलाई प्रभाव पारेको हुन्छ । उदाहरणको लागि पूँजी पुर्याउन बाँकी बीमा कम्पनीहरु तथा साना लघुवित्त संस्थाहरु जसको लागि ब्यापार बढाउन पूँजी वृद्धिको विकल्प नै छैन, त्यस्ता कम्पनीको मूल्य  स्वभाविक रुपले बढी हुने गरेकाे छ।

नेपालमा शेयर बजारको शारभूत चरित्रको ज्ञान नभए पनि विज्ञता देखाउनैपर्ने कारणले गर्दा पनि शेयर बजारतर्फ अनावश्यक चौतर्फी प्रहार विगत धेरै वर्ष देखि हुँदै आएको छ । खासगरि बजार बढेको बेलामा तथाकथित विज्ञहरुबाट बजार अस्वाभाविक रुपले बढेको छ, ठूला खेलाडीबाट चलखेल भएको छ भन्ने जस्ता अभिब्यक्ति आउन थाल्छ ।

तर तिनै विज्ञहरु बजार घटेर तल्लो बिन्दुमा आउँदा चुँ सम्म गर्दैनन् । त्यसैगरि कोहि नेप्से ९०० तल जान्छ भन्छन् त कोहि नेप्से २००० बिन्दुकाे उचार्इमा पुग्छ भन्छन् । तर तिनले के कारणले त्यति पुग्छ भनेर भन्ने जमर्को गर्दैनन् ।

नेपालको शेयर बजारमा चलखेल भएको छैन भनेर भन्न सकिन्न । विगतमा स्टाण्डर्ड चार्टर्ड बैंकको अाठ हजार भन्दा माथि र नबिल बैंकको पाँच हजार रूपैयाँ भन्दा माथि र त्यही हिसाबले अन्य बैंक तथा कम्पनीका शेयर मूल्य पनि उचालिएको अवस्थालाई चलखेलको पाराकाष्ठाको रुपमा लिन सकिन्छ ।

तत्कालीन अवस्थामा बजारको आकार निकै सानो तथा सचेतनाको कमी भएकोले पनि त्यसो भएको हुन सक्छ। तर अहिले अवस्था फरक भैसकेको छ । बजारमा थुप्रै नयाँ लगानीकर्ताको प्रवेश भईसकेको तथा तिनमा क्रमशः शेयर मूल्य प्रतिको सचेतनामा पनि वृद्धि हुँदै गएको अवस्था देखिन्छ ।

चलखेललाई निर्मूल नै त सकिँदैन तर कम गर्न भने पक्कै सकिन्छ । त्यसको लागि लगानीकर्तालाई शेयर बजारको आभारभूत कुराहरुको बारेमा ज्ञान दिने संयन्त्रको विकास भने गर्नुको साथै बजार विस्तार गर्नुपर्ने हुन्छ ।

अहिले हाम्रो शेयर बजार विश्व शेयर बजारको सन्दर्भमा हेर्दा Under Valued  भएको हो की जस्तो देखिन्छ । साथै, ठूला तथा संस्थागत लगानीकर्ताबाट अन्य लगानीकर्ताको त्रसिद मानसिकताको फाईदा उठाउँदै बजार अझ तल झारेर शेयर उठाउने काम भने भईरहेकाे नै छ । राम्रा कम्पनीहरुको नेप्सेको दिनभरीको मार्केट डेप्थको चाललाई हेर्दा त्यो बुझ्न गार्ह्राे पर्दैन । बजारमा मार्केट मेकरको ब्यवस्था भएको हुँदो हो त यो अवस्था पक्कै पनि आउने थिएन ।

सरकारको लागि अर्थ ब्यवस्थाका सबै पक्ष समान महत्वका हुन् । कुनै क्षेत्रको भूमिका बढी र कुनैको कम हुनु स्वभाविक हो तर त्यसैको आधारमा कसैलाई पाखा र कसैलाई काखा गर्नु हुँदैन ।

शेयर बजारका लगानीकर्ताले विगत २/३ वर्ष देखि लगातार ओरालो लागेको अवस्थाले सम्पत्ति गुमाउँदै गईरहेका छन् । सूचक घट बढ हुनु भनेको बजारको सुन्दर पक्ष हो । यही घटबढबाटै लगानीकर्ताले बैंक ब्याज भन्दा बढी आर्जन गर्ने सोच बनाएको हुन्छ। यसले कारोबार पनि बढाईरहेको हुन्छ जसबाट सरकारले राजस्व समेत प्राप्त गरिरहेको हुन्छ । लगातार घट्दै जाने र लगातार बढ्दै जाने दुबै चरित्र शेयर बजारको विकासको लागि क्यान्सर रोग जस्तो हो । लगातार घट्दै जाँदा नयाँ लगानीकर्ताको प्रवेश हुन नसकि बजार विस्तार हुँदैन भने लगातार बढ्दै जाँदा बजार एउटा बिन्दुमा गएर बेलुन फुटे झैं फुट्छ र त्यस्तो अवस्थामा साना तथा सोझा लगानीकर्ताले सम्पती गुमाई बजारबाट पलायन हुने सम्भावना बढी हुन्छ ।

अब के गर्ने त ?

सारभूत रुपमा शेयरको मूल्य माग र आपूर्तिकाे अापसी सम्बन्धबाट निर्देशित हुन्छ । यसका साथै ब्याज दर, सरकारको दृष्टिकोण, लगानीकर्ताको आत्मविश्वासबाट पनि प्रभावित हुने गर्दछ । त्यसैले बजारको अहिलेको अवस्थालाई सुधार गर्न निम्न काम गर्न सकिन्छ ।

क) शेयरको अत्यधिक आपूर्तिलाई खपत गर्न निम्न काम गर्न सकिन्छः

  • शेयरको अनलाईन कारोबार पद्धतिलाई यथाशिघ्र बैंक तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड  (CDSC) सँग आवद्ध हुने ब्यवस्था गरि आम लगानीकर्ताको पहुँचमा पुर्याउने ।
  • बुँदा नं. १ बमोजिमको ब्यवस्था भए पश्चात बैंकमा भएको रकम तथा डिम्याट खातामा भएको शेयरमात्र कारोबार गर्न सकिने भएपछि देशका कुना-कुनामा छुट्टै ब्रोकरको कार्यालय खोलेर सेवा दिन आर्थिक रुपले सम्भव नहुने भएकोले सब-ब्रोकर अथवा एजेन्ट मार्फत सेवा दिने ब्यवस्था गरिनुपर्छ । यसो गर्न सकेकाे खण्डमा मात्र शेयर बजारलाई देशब्यापी बनाउन सकिन्छ ।
  • शेयर बजार विस्तारको सम्भावना भएको तथा जनसंख्या बढी भएको ठाउँमा ब्रोकरलाई कार्यालय खोल्न अभिप्रेरित गर्ने ।
  • अहिले बजार तल्लो बिन्दुमा भएको अवस्थामा मार्केट मेकरको ब्यवस्था गर्दा आर्थिक रुपले सफल पनि हुनसक्ने भएकोले धेरै पहिले देखि नै भनिँदै आएको तर कार्यान्वयन हुन नसकेको मार्केट मेकरको ब्यवस्था तुरन्तै गरिनुपर्छ।
  • ब्रोकरलाई मार्जिन लेण्डिङ्गको कारोबार गर्न स्वीकृती दिने
  • वाणिज्य बैंकहरूकाे प्राथमिक पूँजीको २५ प्रतिशत भन्दा बढी शेयर कर्जा दिन नपाईने भनि क्यापिङ्ग गरिसकेपछि १८० दिनको औसतको ५० प्रतिशत भन्दा बढी दिन नपाईने भन्ने नियम तर्क संगत देखिँदैन । त्यसैले त्यसलाई ८० अथवा ९० प्रतिशत भन्दा बढी दिन नपाउने गरी बैंकको तजविजमा छाडीदिने ब्यवस्था गर्नुपर्छ।
  • गैह्र आवासिय नेपालीलाई शेयर बजारमा भित्र्याउने । अादी

ख) बैंकको ब्याजदरको अराजकतालाई नियन्त्रण गर्ने

मैले मात्र नबुझेको हो कि सबैले नबुझेको हो? बैंकको ब्याजदर बढाउँदैमा गाडेको धन बैंकमा आउँछ भने त ब्याजदर बढाउनु ठिकै होला। तर के त्यो सम्भव छ। अहिले बैंकमा एक लाख रूपैयाँभन्दा माथि जम्मा गर्न गयो भने पनि स्राेत खुलाउनुपर्छ।

कसैले मेरो रकम तेरो खातामा राखि दिन्छु भनि कुनै आफन्तलाई भन्दा पनि त्यो आफन्तले मान्नेवाला छैन किनकि उ आफैँ पनि सम्पत्ति शुद्धीकरणको चेपुवा पर्नसक्छ ।

त्यसैले एउटा ब्यक्तिको कुनै बैंकमा भएको रकम अर्को बैंकले बढी ब्याजको लोभ देखाएर हालको १३ प्रतिशतको ब्याज बढाउँदै लैजानका लागि बैंकहरु स्वतन्त्र छन् भने नियामक निकाय राष्ट्र बैंकको के काम ?

यसले सरकारको ८ प्रतिशत अार्थिक वृद्धिको लक्ष्यलाई पनि प्रतिकूल असर पार्ने निश्चित छ । त्यसैले सरकार तथा राष्ट्र बैंकले यसमा हस्तक्षेप गर्नैपर्छ ।

यो लेख लेख्दै गर्दा ऋणको ब्याज १२ प्रतिशतमा झार्ने गरि राष्ट्र बैंक र अर्थ मन्त्रालयको गृहकार्य भनि आएको समाचार यदि सत्य हो भने त्यसलाई सरकारको सकारात्मक कदमको रुपमा लिनैपर्छ । यसले सरकार सुतेको छैन भन्ने सन्देश दिन खोजेको छ जसलाई शेयर बजार लगायत सबै क्षेत्रको लागि सुखद मान्नुपर्छ ।

ग) लगानीकर्ताको गुमेको आत्मविश्वासलाई उकास्ने

शेयर बजार लज्जावतीको झार जस्तै अति सम्वेदनशील क्षेत्र हो। स-सानो कुराले पनि शेयर बजारमा ठूलो तरङ्ग ल्याउन सक्छ। यो क्षेत्र अत्याधिक चलायमान हुनुको कारण पनि यहि हो। त्यसैले निर्णायक तहमा बसेका ब्यक्तित्वहरूबाट अनावश्यक टिका-टिप्पणी हुनु यसको लागि अनुकूल मानिदैन । 

तर विगतमा यसलाई असर गर्ने पूँजीगत लाभकरमा वद्धि गरिनु, मार्जिन लेण्डिङ्गको सीमामा कटौती, शेयर बजार प्रतिको अनावश्यक टिका-टिप्पणी जस्ता एक पछि अर्को घटनाले लगानीकर्ता अत्यधिक सशंकित बनेको अवस्था छ । ती भोलि फेरि अर्को कुनै बज्रपात हुन्छ कि भनी त्रसिद मानसिकतामा रहेकाले तिनको त्यस्तो मानसिकतालाई निर्मूल गरि आत्मविश्वास बढाउने काम अविलम्ब गर्नुपर्छ ।   

घ) नयाँ तथा संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने

नेप्सेकाे लगातारकाे गिरावटले बजार अहिले तल्लो बिन्दुमा छ । यस्तो अवस्थामा बजार प्रवेश गर्ने लगानीकर्ताले कहिले पनि भविष्यमा बजारको घटाईबाट आतङ्कित हुनु पर्दैन । यसको उदाहरणको लागि धेरै टाढा जानु पर्दैन ।

विगतमा बजार २९२ को बिन्दुसम्म आएको बेलामा त्यसबेला वा त्यस उप्रान्त १०००/११०० को बिन्दुसम्ममा पनि बजार प्रवेश गरेका लगानीकर्ताहरु अहिले आतङ्कित छैनन् तर जो १८०० को बिन्दु वा त्यसको आसपास प्रवेश गरेका छन् ती चाँही अत्यधिक आतङ्कित बनेका छन् । त्यसैले सरकार तथा नियामक निकायले साना तथा सोझा लगानीकर्ताको हितको लागि यस किसिमको सन्देश प्रवाहित गर्नु सकारात्मक ठहरिन्छ। 

त्यसैगरि गैह्र आवासिय नेपालीलाई शेयर बजारमा भित्र्याउन सकिएमा पूँजी बजारमा विदेशमा रहेका नेपालीबाट पनि लगानीको बढ्न गई विदेशमा रहेका नेपालीहरूसँग रहेको स-सानो पूँजी विदेशी मुद्राको रुपमा भित्रिने सम्भावनाले वैदेशिक मुद्राको सञ्चितिमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले यसलाई यथाशिघ्र कार्यविधि बनाई लागू गर्नुपर्छ । 

 

(नोटः  लेखक भट्टराई अर्थ मन्त्रालयका अवकाश प्राप्त उप-सचिव हुन् ।)


comments powered by Disqus

शेयर बजारको जानकारी अब 'एसएमएस' बाट पनि

Oct 17, 2019 08:29 PM

नेपाल स्टक एक्सचेञ्जको वेवसाइट, विभिन्न समाचार माध्यमका अलावा अब शेयर बजारबाट आफूले लिन चाहेको जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सकिने भएको छ। शेयर बजारका लगानीकर्तालाई लगानी योजना बनाउन सजह हुने उदेश्यले मेरोलगानी डटकमले तोकिएको शुल्क तिरेर एसएमएस सेवा प्रदान गर्न थालेको हो।