खुद नाफा ३० करोड बढ्यो
जनता बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ६३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष यसै अवधिको तुलनामा बैंकको खुद नाफा ९०.२६ प्रतिशत अर्थात ३० करोड ११ लाखले बढोत्तरी भएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ३३ करोड ३५ लाख रुपैयाँमा सीमित थियो ।
फ्रि प्रोफिट ९५ प्रतिशतले बढ्यो
बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल फाइनान्सिङ्ग रिर्पोटिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार लाभांश क्षमता (फ्रि प्रोफिट) मा गत आवको पुसको तुलनामा २५ करोड ८६ लाख रुपैयाँ बढेर ५३ करोड ४ लाख कायम भएको छ । गत वर्ष यसै अवधि बैंकको फ्रि प्रोफिट २७ करोड १७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ९५.१९ प्रतिशतले बढेको छ । यद्यपी बैंकले आर्जन गरेको ६३ करोड ४६ लाख खुद नाफाबाट राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट बैंकले १० करोड ४२ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा लाभांश क्षमता घटेको छ ।
चुक्ता पूँजी स्थिर बन्दा प्रतिशेयर आम्दानी साढे ७ रुपैयाँ बढ्यो
गत आवको नाफाबाट नगद लाभांश मात्र वितरण गरेको बैंकको प्रतिशेयर आम्दानीमा ७ रुपैयाँ ५३ पैसाले सुधार आएको छ ।
गत पुस मसान्तमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक ८ रुपैयाँ ३४ पैसा रहेकोमा बढेर १५ रुपैयाँ ८७ पैसा कायम भएको हो । बैंकको चुक्ता पूँजी ८ अर्बमा स्थिर रहेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा छ भने मूल्य आम्दानी अनुपात १०.६५ गुणा बढी छ ।
जगेडा कोषमा आकर्षक बढोत्तरी
समीक्षा अवधिमा बैंकको जगेडा कोष आकर्षक वृद्धि भएको छ । यस अवधिमा बैंकको जगेडा कोष १६९.२१ प्रतिशतले बढोत्तरी भएर तीन अर्ब तीन करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ थियो ।
६८ अर्ब निक्षेप संकलन गरि ६३ अर्ब कर्जा परिचालन
चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा बैंकले ६८ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब ६५ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
बैंकले गत आवको पुस मसान्तको तुलनामा निक्षेप संकलन २९.६१ प्रतिशत अर्थात १५ अर्ब ६३ करोड र कर्जा परिचालन ३१.८७ प्रतिशत अर्थात १५ अर्ब ३८ करोड रुपैयाँले बढेको हो ।
गत आवको पुससम्म बैंकले ५२ अर्ब ८० करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब २६ करोड ६५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।
नोट:रकमलाई हजारमा देखाइएको छ ।
खुद ब्याज आम्दानी एक अर्ब ५८ करोड
चालू आवको ६ महिना अवधिमा जनता बैंकले एक अर्ब ५८ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ४ अर्ब ५ करोड ५१ लाख ब्याज आम्दानी गरि २ अर्ब ४७ करोड २९ लाख रुपैयाँ ब्याज खर्च गरको हो ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४७.८६ प्रतिशत अर्थात ५१ करोड २१ लाख रुपैयाँ धेरै हो । गत आवको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
खराब कर्जा अनुपातमा सुधार
यस त्रैमासमा बैंकको निष्कृय कर्जा अनुपात गत आवको यसै अवधिको तुलनामा घटेकोे छ । गत आवको दोस्रो त्रैमासमा बैंकमा २.६५ प्रतिशत निष्कृय कर्जा अनुपात रहेकोमा यस पुस मसान्तमा १.५३ प्रतिशतमा झरेको छ ।
आधार ब्याजदर गत पुसको तुलनामा घट्यो, अझै उच्च
वित्तीय विवरण अनुसार बैंकको आधार ब्याजदर र कोषको लागत गत आवको दोस्रो त्रैमासको तुलनामा केही सुधार आएको छ । यस अवधिमा बैंकको आधार ब्याजदर ११.०४ प्रतिशत र कोषको लागत ७.८० प्रतिशत रहेको छ ।
गत पुसमा बैंकको आधार ब्याजदर ११.३५ प्रतिशत र कोषको लागत ७.८३ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर घटेपनि अन्य वाणिज्य बैंकको तुलनामा यस बैंकको आधार ब्याजदर अझै उच्च रहेको छ।