मेरोलगानीलाई प्राप्त जानकारी अनुसार हाथवे फाइनान्सलाई ग्लोबल आईएमई बैंक (GBIME) ले विलय गर्ने भएको हो ।
बिहीबार साँझ ग्लोबल आईएमई बैंक र हाथवे फाइनान्सले विलयसम्बन्धि सम्झौतामा हस्ताक्षर समेत गरिसकेका छन् ।
ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक एवं मर्जर समितिका संयोजक नवराज नेपालले विलय सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
शेयर आदान प्रदान अनुपातका सम्बन्धमा डीडीए प्रतिवेदन अनुसार अघि बढ्ने सम्झौता भएको बताइएको छ ।
ग्लोबल आईएमई बैंकको पूँजी १० अर्ब ३१ करोड रुपैंया छ भने हाथवे फाइनान्सको पूँजी ३० करोड रुपैंया छ । नेपाल राष्ट्र बैंकले तत्कालिन अवस्थामा समस्याग्रस्त घोषणा गरेको अरुण फाइनान्सको व्यवस्थापन हाथवे समुहले लिएर सुधार गर्दै हाथवे फाइनान्स नामाकरण गरेको थियो ।
दुवै संस्थाले राष्ट्र बैंकको मर्जर नीतिलाई सघाउँदै संस्थालाई अझै सबल बनाउन विलय सम्झौता गरिएको बताएका छन् ।