शेयरमा पूँजीगत लाभकर यसरी प्रमाणित हुन्छ अन्तिम कर (तथ्यसहित)

Jun 05, 2019 Merolagani

- आनन्द कुमार भट्टराई।
आगामी आर्थिक वर्षको बजेट २०७६ साल जेठ १५ गते संसदमा प्रस्तुत भएपछि शेयर बजारमा प्राकृतिक ब्यक्तिलाई लाग्दै आएको पूँजीगत लाभकर साढे सात प्रतिशतबाट पाँच प्रतिशत अर्थात पुरानै अवस्थामा झारिदा सबैतिरबाट स्वागत भयो तर यससँगै अर्को बहसको पनि शुरुवात भयो, यो लाभकर अन्तिम कर हो कि हैन ? 

कतिपय शेयर लगानीकर्ताहरुबाट बजेटमा शेयर बजारको बारेमा सम्बोधन गरिएको विषयलाई मुक्तकण्ठले प्रशंसा गरियो । सोचे भन्दा पनि राम्रो ब्यवस्था गरिएकोले प्रशंसा हुनु स्वभाविक नै हो।

सरकार गठन पश्चात आएको विभिन्न अभिब्यक्ति तथा बजेट उप्रान्त उठान गरिएको बोनस र राईट शेयरको पूँजीगत लाभको गणना विषयले शेयर बजार निरन्तर ओरालो लाग्न थाले पछि लगानीकर्ता आन्दोलित हुन पुगे, जसले गर्दा सरकारले उक्त विषयलाई पहिलेकै अवस्थामा राखी गठित समितिको निर्णय अनुसार गर्ने भनियो तथा लगानीकर्ताका कतिपय मागहरुको सम्बन्धमा सहमति भई एक दिन अवरुद्ध भएको शेयर कारोबार पुनः सुचारु हुन पुग्यो ।

लगानीकर्ताका कतिपय मागहरु आर्थिक वर्षको मध्यमा सम्बोधन हुन नसक्ने भएकोले सबै लगानीकर्ताहरु दृष्टी बजेटमै थियो ।

२०७६/७७ को बजेटले पहिलो पटक शेयर बजारको विषयमा  विगत भन्दा राम्रो किसिमले सम्बोधन गर्यो । पूँजीगत लाभकर ५ प्रतिशत हुनु लगानीकर्ताको अपेक्षा भन्दा पनि राम्रो थियो भने बोनस र राईट शेयर सहित सम्बन्धित ब्यक्तिले धारणा गरेको शेयरको लाभकर आधार मूल्यको गणना विधी भारित ‍औषतमा गरिने भनेर बजेटमै ब्यवस्था गरेर लगानीकर्तालाई आश्वस्त पारियो । गैर-आवासीय नेपालीहरुले दोश्रो बजार मार्फत पनि लगानी गर्न सक्ने गरी पूँजी बजारलाई फराकिलो बनाईनेछ भनि दोहोर्याएर  स्पष्ट सम्बोधन गरियो ।

यी सबै कुराले बजार प्रति बजेट तथा सरकार सकारात्मक भएको महसुस गरी बजारले सकारात्मक प्रतिक्रिया देखायो । बजेटमा गरिएको ब्यवस्थाले बजारले केही बृद्धि हासिल गरे पनि त्यो टिकाउ हुन सकेन । बजारमा सक्रिय रहेका अल्पकालिन लगानीकर्ताहरुले बढेको बजारमा मुनाफा सुनिश्चित गर्ने क्रियाकलापलाई तिब्रता दिंदा बजारमा नकारात्मक दबाव पर्न गई बजार तल गए पनि यसलाई बजारको स्वभाविक प्रबृतिकै रुपमा लिनु पर्ने हुन्छ । तथापी अप्रत्यशित रुपले बजार पुनः घटी रहेको अवस्थालाई कतिपय बजार विज्ञले ठूलाबडाबाट पूँजीगत लाभकर अन्तिम होईन भन्ने अफवाह फैलाएर सस्तोमा शेयर खरिद गर्ने रणनीतिको रुपमा लिएका छन् । त्यसैले यसमा रहेको दुविधालाई स्पष्ट गरी साना तथा सोझा लगानीकर्ताको हितको संरक्षण गर्नु जरुरी हुन्छ ।

 लाभकर अन्तिम हो कि हैन ?

यध्यपी बजेटले लगानीकर्ताका धेरै माग सम्बोधन गरे पनि ब्यक्तिको लागि लगाईएको पूँजीगत लाभकर अन्तिम हो की होईन भन्ने संशय लगानीकर्तामा अहिले पनि रहेको छ । सामाजिक संजालहरुका भित्तामा पोष्ट भएका भनाईलाई हेर्दा अधिकांश लगानीकर्तामा अहिले पनि यो ५ प्रतिशतको लाभकर अन्तिम होईन की भन्ने आशंका रहि आएको छ । लगानीकर्ताले बहाल करलाई अन्तिम भनेर भनिए जस्तै यसलाई पनि सरकार अन्तिम भन्छ भन्ने आशा गरेका थिए ।

संभवत सरकारलाई त्यसो भन्न प्राविधिक कठिनाई परेको हुन सक्छ तर विध्यमान कानून बमोजिम  पूँजीगत लाभकरमा लगाईएको ५ प्रतिशतको दर  अन्तिम हो त ?  यसको निराकरण सरकारले गरिदिनु पर्छ । त्यसो हुन सकेमा लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर लिन आग्रह गरिरहनु पर्दैन, तिनले स्वःस्फूर्त रुपले प्यानमा दर्ता हुन ईच्छुक हुनेछन् ।

अब धितोपत्रमा लाग्ने ५ प्रतिशतको पूँजीगत लाभकर अन्तिम हो की होईन त्यसको विवेचना गर्नु आवश्यक छ ।

कम्पनी ऐन अन्तर्गत स्थापित संस्थाको हकमा कर्पोरेट करको ब्यवस्था बमोजिम कर लाग्ने भएकोले ब्यक्तिगत लगानीकर्ताको हकमा यो पूँजीगत लाभकर अन्तिम हो कि होईन भनि स्पष्ट हुनु जरुरी छ ।

आयकर ऐन, २०५८ को दफा (२) को (ग) मा "अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी भन्नाले दफा ९२ मा उल्लेख भए बमोजिम  लाभांश, भाडा, लाभ, ब्याज तथा गैर बासिन्दा ब्यक्तिलाई गरिएको कर कट्टी हुनु पर्ने भुक्तानी सम्झनु पर्छ" भनी प्रष्ट भनिएको छ ।

ऐनको दफा ९५क (अग्रिम कर असूल गर्ने) को उपदफा (२) को (क) मा "नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक ब्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत (नयाँ संशोधन अनुसार), बासिन्दा निकायको हकमा लाभ रकमको १० प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चिस प्रतिशतका दरले" भन्ने उल्लेख छ ।

ऐनको दफा ९५क (अग्रिम कर असूल गर्ने) को उपदफा (१४) मा "यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नु पर्ने ब्यक्तिले तिर्नु पर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।" भन्ने उल्लेख गरिएको छ ।

नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ को आयकर ऐन, २०५८ मा संशोधन अन्तर्गत देहाय बमोजिमको संशोधित ब्यवस्था उल्लेख भएको देखिन्छ ।

बुँदा नं. १० ( पेज २२६ ) दफा ९५क. को

  • उपदफा (२) को खण्ड (क) मा रहेको "सात दशमलब पाँच प्रतिशत" भन्ने शब्दहरुको सट्टा "पाँच प्रतिशत" भन्ने शब्दहरु राखिएका छन् ।
  • उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छः-

"(२क) उपदफा (२) को खण्ड (क) बमोजिम लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो त्यस्तो निकायमा सो मितिमा सो ब्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गर्नु पर्नेछ ।"

बुँदा नं. १५ ( पेज २२९ ) अनुसूचीमा संशोधन भनी ऐनको अनुसूची १ को दफा (१) को उपदफा (१), (२), (३) र (४) को सट्टा देहाएका  उपदफा (१), (२), (३) र (४) राखिएका छन् –

उपदफा (१) कुनै आय वर्षमा बासिन्दा प्राकृतिक ब्यक्तिको कर योग्य आयमा उपदफा (२) र (४) को अधिनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ भनी ब्यक्तिको हकमा आयको स्ल्याब बमोजिम करको दर उल्लेख भएको छ । जस अनुसारः-

  • रु. ४ लाख सम्म रोजगारीको कर योग्य आयमा १ प्रतिशत,
  • रु. ४ लाख भन्दा बढी तर रु. ५ लाख सम्मको कर योग्य आयमा रु. ४ लाख सम्म १ प्रतिशत र सो भन्दा बढीको रु. १ लाख सम्ममा १० प्रतिशत,
  • रु. ५ लाख भन्दा बढी तर रु. ७ लाख सम्मको कर योग्य आयमा रु. ४ लाख सम्म १ प्रतिशत, त्यस पछिको रु. १ लाखमा १० प्रतिशत तथा सो भन्दा माथिको रु. २ लाख सम्ममा रु. २० प्रतिशत,
  • रु. ७ लाख भन्दा बढी तर रु. २० लाख सम्मको कर योग्य आयमा रु. ४ लाखमा १ प्रतिशत, त्यस पछिको रु. १ लाखमा १० प्रतिशत, सो भन्दा माथिको रु. २ लाखमा २० प्रतिशत तथा सो भन्दा बढीमा ३० प्रतिशत र
  • रु. २० लाख भन्दा बढी कर योग्य आय भएमा बढी भए जतिको आयमा लाग्ने ३० प्रतिशतको करमा थप २० प्रतिशतले अतिरिक्त कर लाग्नेछ ।

 उपदफा (२) कुनै आय वर्षमा ऐनको दफा ५० बमोजिम छनौट गर्ने कुनै दम्पतिको कर योग्य आयमा उपदफा (४) को अधिनमा रही देहाय बमोजिमको दरले कर लाग्नेछ भनी दम्पतिको हकमा आयको स्ल्याब बमोजिम करको दर उल्लेख भएको छ । जस अनुसारः-

  • रु. ४ लाख पचास हजार सम्म रोजगारीको कर योग्य आयमा १ प्रतिशत,
  • रु. ४ लाख पचास हजार भन्दा बढी तर रु. ५ लाख पचास हजार सम्मको कर योग्य आयमा रु. ४ लाख पचास हजार सम्म १ प्रतिशत र सो भन्दा बढीको रु. १ लाख सम्ममा १० प्रतिशत,
  • रु. ५ लाख पचास हजार भन्दा बढी तर रु. ७ लाख पचास हजार सम्मको कर योग्य आयमा रु. ४ लाख पचास हजार सम्म १ प्रतिशत, त्यस पछिको रु. १ लाखमा १० प्रतिशत तथा सो भन्दा माथिको रु. २ लाख सम्ममा रु. २० प्रतिशत,
  • रु. ७ लाख पचास हजार भन्दा बढी तर रु. २० लाख सम्मको कर योग्य आयमा रु. ४ लाख पचास हजारमा १ प्रतिशत, त्यस पछिको रु. १ लाखमा १० प्रतिशत, सो भन्दा माथिको रु. २ लाखमा २० प्रतिशत तथा सो भन्दा बढीमा ३० प्रतिशत र
  • रु. २० लाख भन्दा बढी कर योग्य आय भएमा बढी भए जतिको आयमा लाग्ने ३० प्रतिशतको करमा थप २० प्रतिशतले अतिरिक्त कर लाग्नेछ ।

उपदफा (३) उपदफा (४) मा उल्लिखित ब्यवस्था देहायको अवस्थामा लागु हुनेछः-

  • बासिन्दा प्राकृतिक ब्यक्तिको सम्बन्धमा कुनै आय वर्षमा ४ लाख रुपैया भन्दा बढी आय भएको वा ऐनको दफा ५० बमोजिम छनौट गरेको बासिन्दा दम्पतीको सम्बन्धमा कुनै आय वर्षमा ४ लाख पचास हजार रुपैया भन्दा बढी आय भएको,
  • गैर-ब्यावसायिक करयोग्य सम्पतीको निःसर्गबाट प्राप्त खुद लाभ सो प्राकृतिक ब्यक्ति वा दम्पतीको आय र तदनुरुप करयोग्य आयको गणनामा समावेश भएको ।

उपदफा (४)  उपदफा (३) को अधिनमा रही देहायका ब्यक्तिलाई देहाय बमोजिम कर लाग्नेछः-

  • देहायका रकम मध्ये जुन बढी छ त्यस्तो रकममा त्यस्तो प्राकृतिक ब्यक्ति वा दम्पतीको त्यस्तो रकम मात्र करयोग्य आय भए सरह मानी यस अनुसूचीको दफा (१) को उपदफा (१) वा (२) बमोजिमको दरले कर लाग्नेछः-
  • त्यस्तो प्राकृतिक ब्यक्ती वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभको रकम घटाई बाँकी हुन आउने रकम,
  • प्राकृतिक ब्यक्तिको हकमा ४ लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा ४ लाख ५० हजार रुपैयाँ ।
  • त्यस्तो करयोग्य आयको बाँकी रकममा १० प्रतिशतको दरले कर लाग्नेछ ।

तर,

  • निःसर्ग भएको गैरब्यावसायिक करयोग्य सम्पति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्ष वा ५ वर्ष भन्दा बढी भएको छ भने २.५ प्रतिशतका दरले कर लाग्नेछ ।
  • निःसर्ग भएको गैरब्यावसायिक करयोग्य सम्पति (जग्गा तथा घरजग्गा) को स्वामित्व ५ वर्ष भन्दा कम रहेको छ भने ५ प्रतिशतका दरले कर लाग्नेछ ।
  • नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशतका दरले कर लाग्नेछ ।

 

ब्यक्ति तथा दम्पतिलाई लाग्ने करको विषयमा ऐन तथा कानूनमा भएका ब्यवस्था माथि उल्लेख भए बमोजिमका हुन् ।

यस आधारमा ऐन तथा कानूनका निम्न दफाहरु आयकर निर्धारणको सम्बन्धमा आकर्षित हुने देखिन्छ ।

  • आयकर ऐन, २०५८ को अनुसूची १ को दफा (१) को उपदफा (१), (२), (३) र (४)
  • अनुसूचीको दफा (१) को उपदफा (१) मा ब्यक्तिको आयको स्ल्याब र करको दर उल्लेख भएको छ ।
  • अनुसूचीको दफा (१) को उपदफा (२) मा दम्पतिको आयको स्ल्याब र करको दर उल्लेख भएको छ ।
  • अनुसूचीको दफा (१) को उपदफा (३) मा ब्यक्ति र दम्पतिको कर छुट हुने करयोग्य आय भन्दा बढी भएमा कर लाग्नेछ भनी त्यस्तो छुटको अंक किटान गरिनुको साथै त्यस्तो करयोग्य आयमा गैर-ब्यावसायिक करयोग्य सम्पतीको निःसर्गबाट प्राप्त खुद लाभ करयोग्य आयको गणनामा समावेश भएको छ भनेर किटान गरिएको छ ।
  • अनुसूचीको दफा (१) को उपदफा (४) मा प्राकृतिक ब्यक्ती वा दम्पतीको जम्मा करयोग्य आयबाट त्यस्तो लाभ (पूँजीगत लाभ) को रकम घटाई बाँकी हुन आउने रकम र प्राकृतिक ब्यक्तिको हकमा ४ लाख रुपैयाँ वा दम्पतीको सम्बन्धमा ४ लाख ५० हजार रुपैयाँ भन्दा जुन बढी हुन्छ त्यसमा अनुसूचीको दफा (१) र (२) बमोजिमको दरले कर लाग्नेछ भनेर भनिएको छ ।

यसरी पूँजीगत लाभको रकमलाई अनुसूचीको दफा (१) र (२) बमोजिमको दरले कर लाग्ने नभई छुट्टै दरले कर लाग्नेछ भनी स्पष्ट उल्लेख गर्नुको साथै नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायमा रहेको हितको निःसर्गबाट प्राप्त लाभको हकमा ५ प्रतिशतका दरले कर लाग्नेछ भनेर किटानी ब्यवस्था गरेको छ ।

  • आयकर ऐन, २०५८ को दफा (९५क.) को उपदफा (२) को (क) मा शेयर कारोबारबाट हुने पूँजीगत लाभमा प्राकृतिक ब्यक्तिले ५ प्रतिशतको दरले कर तिर्नु पर्छ भनेर स्पष्ट किटान गरेको छ ।
  • आयकर ऐन, २०५८ को दफा (९५क.) को उपदफा (१४) मा "यस दफा बमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नु पर्ने ब्यक्तिले तिर्नु पर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ भनेर कर मिलानको सुविधा समेत रहेको उल्लेख गरेको छ ।"

निष्कर्षः

आम लगानीकर्ताको चाहना अनुसार पूँजीगत लाभकरलाई अन्तिम भन्न सरकारको लागि प्राविधिक कठिनाई रहेको बुझिन्छ ।जब सम्म CDSC ले हरेक लगानीकर्ताको स्वचालित हिसाबले पूँजीगत लाभको गणना गर्न सक्दैन त्यतिबेला सम्म सरकारले यसलाई अन्तिम करको रुपमा किटान गर्न सक्ने अवस्था रहदैन । तथापी लगानीकर्ताको चाहना बमोजिम तथा बजारको दायरा बढाउनको लागि लगानीकर्तालाई सुविधा दिनु पर्ने दायित्वले प्रेरित भएर सरकारले ऐनको दफा (९५क.) र ऐनको अनुसूचीको दफा ४ को प्रतिबन्धात्मक वाक्याशंमा पूँजीगत लाभकरमा ५ प्रतिशत कर लाग्नेछ भनी करको दरलाई समान ५ प्रतिशत कायम गरेकोले यो ब्यवस्थामा संशोधन नभएसम्म यसलाई ब्यवहारतः अन्तिम कर नै मान्नु पर्ने हुन्छ अर्थात अगामी आर्थिक वर्षको लागि शेयर कारोबारमा हुने पूँजीगत लाभमा प्रकृतिक ब्यक्तिको लागि लाग्ने ५ प्रतिशतको कर अन्तिम नै हुनेमा कुनै दुविधा देखिदैन । विगतमा कर कार्यालयमा शेयर कारोबारको विवरण पेश गरी कर चुक्ता प्रमाण पत्र लिनेहरुले यस  सुविधाको उपभोेग गर्दै आएको विदितै छ । 

अब हिसाब गरेर हेरौं

माथि उल्लेख गरिएका प्रवधान बमोजिम शिवशंकर रामाराव (काल्पनिक) भन्ने प्राकृतिक ब्यक्तिको कर गणना कसरी गर्ने

पारिश्रमिक आयः-   रु. ५,००,०००।–

पूँजीगत लाभ आयः- रु. १०,००,०००।–

जम्मा करयोग्य आयः रु. १५,००,०००।– (ऐनको अनुसूची १ को दफा (३) को (क) र (ख) बमोजिम)

ऐनको अनुसूची १ को दफा (४) को (क) को (१) बमोजिम हुने रकमः

करयोग्य आयः      रु. १५,००,०००।–

घटाउने (पूँजीगत लाभ)     रु. १०,००,०००।–

जम्मा बाँकी हुन आउने रकम रु. ५,००,०००।- (ऐनको अनुसूची १ को दफा (४) को (क) को (१) बमोजिम)

यो रकम रु. ५,००,०००।- शिवशंकर रामारावले कर छुट पाउने सिमा रु. ४,००,०००।– भन्दा बढी भएकोले यसमा ऐनको अनुसूची १ को दफा (१) को उपदफा (१) बमोजिम देहाय बमोजिम कर लाग्छः

रु. ४,००,०००।– सम्म १ प्रतिशतले हुने रकम रु. ४,०००।–

रु. ४,००,०००।– भन्दा बढी रु. ५,००,०००।– सम्म १० प्रतिशतले हुने रकम रु. १०,०००।–

जम्मा पारिश्रमिक कर रु. १४,०००।–

शिवशंकर रामारावको कूल करयोग्य आयको बाँकी रकम रु.  १०,००,०००।– मा ऐनको अनुसूची १ को दफा (१) को उपदफा (४) को (क) को प्रतिबन्धात्मक वाक्यांश (३) बमोजिम  ५ प्रतिशतले कर लाग्ने ब्यवस्था भए बमोजिम हुने करः

     रु. १०,००,०००।– को ५ प्रतिशतले हुने रकम रु. ५०,०००।–

यसरी माथिको उदाहरण बमोजिम शिवशंकर रामारावको कूल कर दायित्व देहाय बमोजिम रु. ६४,०००।-हुन आउँछः

     पारिश्रमिक कर रु. १४,०००।–

     पूँजीगत लाभकर रु. ५०,०००।–

जम्मा कर दायित्व रु. ६४,०००।–

अब शिवशंकर रामारावले कर चुक्ता प्रमाण पत्र लिनु पर्दा कर कार्यालयमा माथि उल्लेख गरिए बमोजिम आय विवरण पेश गरी देहाय बमोजिम रु. १०,०००।– कर तिर्नु पर्दछः

जम्मा कर दायित्व   रु. ६४,०००।–

घटाउने           रु. ४,०००।– (रोजगार दाताले सामाजिक सुरक्षा कर वापत श्रोतमा कट्टी गरेको)

घटाउने           रु. ५०,०००।– (नेप्सेले पूँजीगत लाभकर वापत श्रोतमा कट्टी गरेको)

जम्मा तिर्नु पर्ने रकम      रु. १०,०००।–  

यसरी सरकारले ऐनमा गरेको ब्यवस्था बमोजिम शेयर कारोबारमा लाग्ने ५ प्रतिशतको पूँजीगत लाभकर अन्तिम नै भएकोले लगानीकर्ताले हल्लाको पछि नलागि ऐनको यो ब्यवस्थालाई मनन् गरी आफ्नो लगानी निर्णय लिनु उपयुक्त हुनेछ ।

(लेखक अर्थ मन्त्रालयका अवकाश प्राप्त उप-सचिव हुन् )

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।