दशकित्ते नीतिले दश लाख नयाँ लगानीकर्ता छिराए पनि शेयर बजारले स्थायित्व प्राप्त गर्न किन सक्दैन ?

Jun 30, 2019 08:33 AM Merolagani

-तिलक कोइराला।
परम्परागत ढर्राको शेयर बजारलाई प्रविधिले विस्थापन गरेसँगै नेपालको पूँजी बजारमा एकपछि अर्को नयाँ दृश्य देखिएका छन्। 

कागजी प्रमाण पत्रको झण्झट, राफसाफ हुन कयौं दिन लाग्ने, ६ महिनासम्म पनि लगानीकर्ताले किनेको शेयरको प्रमाण पत्र हात नपर्ने ती दिनहरु कति छिटो इतिहास बनिसका छन् भन्ने कुरा पछाडि फर्केर हेर्नेलाई अवश्य अनुभुत हुने कुरा हो ।

अहिलेसम्म पनि शेयर दलालको कार्यालय धाईरहेका लगानीकर्ताहरुलाई अब चाँडै नै लाग्ने छ, बजार दलालको कार्यालयबाट हैन, हरेक लगानीकर्ताको हात हातबाट पो चल्दो रहेछ ।

अनलाईन कारोबार प्रणालीमा आबद्ध भएर आफैँले युजर आईडी र पासवर्ड लिई कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ११ हजार भन्दा बढी पुगिसकेको अवस्थामा त्यसको पुर्वाभ्यास त अहिले भएकै छ, अबका केही दिन भित्रैमा ५० वटा शेयर दलालका कर्मचारीहरुले आफ्नो काम शेयर किन्ने र बेचिदिने भन्दा पनि राफसाफमा पो बढी हुने रहेछ भन्ने अनुभुति अवश्य गर्नेछन्। त्यसपछि केही ब्यक्तिको हातबाट शेयरको मूल्य उचाल्ने र पछार्ने कुराको कमाण्ड विशुद्ध लगानीकर्ताको हातमा पुगेको अनुभुति हुनेछ । बजारले नै बजारलाई चलायमान बनाउने छ । बजार पूर्ण स्व:चालित दिशामा अगाडि बढ्नेछ ।

शेयर बजारमा अहिले के देखिन्छ भने केही कम्पनीको शेयरमा अझै केही सीमित ब्यक्तिको हातबाट उचाल र पछार भईरहेको छ तर कयौं कम्पनीको शेयर पूर्णतः लगानीकर्ताको हातमा पुगिसकेको छ । बजारमा अति कर्नरिङ्ग भएका भन्दा बाहेकका कम्पनीका शेयरहरु केही ब्यक्तिको हातबाट तलमाथि हुनसक्ने अवस्था अहिले लगभग समाप्त नै भएको छ।

५० वटा शेयर दलालको कार्यालय, उनीहरुको शाखा र कर्मचारीको हातमा मात्रै अब किन्ने र बेच्ने कम्युटरको किबोर्ड नरहेपछि बजारले स्वभाविक गति लिएको हो । यहाँ शेयर दलालको कार्यालयले बदमासी गर्दै आएको थियो कदापी भन्न खोजिएको हैन तर लगानीकर्ताले किन्ने र बेच्ने प्रक्रियामा केही समयबद्ध रोकावटका असरहरु अवश्य सामना गरेका थिए । लगानीकर्ताले किन्न र बेच्न खोज्दा पालो पर्खनु पर्नेदेखि आफुले चाहे अनुसार काम नहुने गुनासाहरु आउने गर्दथे । अब लगानीकर्ताकै हातमा किनबेचको साँचो पुगेपछि न त शेयर दलालले अपजसको भारी बोक्नुपर्छ, न त यसरी गुनासो गर्ने लगानीकर्ताहरु नै देखिने छन् ।

यी सबै परिवर्तनले धेरै सर्बसाधारण लगानीकर्तालाई शेयर बजारले आकर्षित गर्ने देखिन्छ । आगामी दिनहरुमा हितग्राही खाता र बैंक खाताहरु अन्तरसम्बन्धित बनाईएपछि शेयर बजारमा झन् नौला दृश्यहरु अवश्य नै देखिने छन् । बैंक खातामा पैसा हुने र शेयर दलालकोबाट कारोबार सीमाको सुविधा लिनेहरुले मात्र शेयर शेयर किन्न पाउने र हितग्राही खातामा शेयर हुनेले मात्र बेच्न पाउने ब्यवस्थाले बजारलाई वास्तविकतातिर लैजानेछ।

अहिले त हितग्राही खातामा शेयर नभए पनि हजारौं कित्ता बिक्रीमा राख्न सकिन्छ भने आफुसँग पैसा नै नभए पनि कतिपय लगानीकर्ताको नामबाट हजारौ कित्ता किन्न बसेको देखाउन सकिन्छ। यो अस्वस्थ वातावरण त्यतिखेर समाप्त हुनेछ, जतिखेर वास्तविक किनबेचका आदेशहरु मात्रै मार्केट डेब्थमा देखिनेछन् ।

बेचेको शेयर लगानीकर्ताको हितग्राही खाताबाट स्वतः हस्तान्तरण हुने र शेयर किन्दा बैंक खाताबाट रकम सर्ने प्रक्रिया स्वचालित बनाउने हो भने कथित लगानीकर्ता संघका नेताहरुले भने जस्तै बजारमा चलखेल गर्नेहरुलाई असर त पर्ला तर यसले बजारको स्वचालित गतिलाई स्वभाविक बनाउने छ ।

बजारमा कसैले बिक्रीमा राखेका हजारौ कित्ता शेयरहरु क्षणभरमै खाईदिने र क्षणभरमै हजारौ कित्ता बिक्रीमा पनि आउने अबस्था बजारमा बन्दा नौला खाले दृश्यहरु देखिने छन् । कतिपय शेयरमा एक रुपैयाँका लागि चर्को मोलमोलाई गरेर किन्न बसेका दृश्यहरु त अहिले नै देखिएका छन् भने बिक्रीमा आएका शेयरहरु किन्न खोज्दाखोज्दै पनि नपाएर क्षणभरमै मूल्य महङ्गिएका कयौं घटनाहरु पनि देख्न पाईएकै छ ।

बजारको परम्परागत अवस्थालाई प्रविधिले विस्थापन गर्दै गर्दा इन्टरनेटको कम ब्याण्डविथ, नेप्सेको प्रणालीमा देखिने समस्या लगायतले लगानीकर्तालाई उल्झन भने ल्याई नै रहने देखिन्छ। कमजोर इन्टरनेटका कारणले नेप्सेको अनलाईन कारोबार प्रणालीले कतिपय स्थानमा कामै नगरेको पाइन्छ भने वेभसाईटमा बारम्बार आईरहने समस्याले कारोबार विवरण हेर्नबाट समेत बञ्चित छन् ।

अर्को समस्या शेयर बजारमा संस्थागत लगानीकर्ताको बाहुल्यता नहुनु पनि हो। थोरै थोरै लगानी गर्ने ब्यक्तिगत लगानीकर्ताहरुको मात्रै हुलको बाहुल्यता बजारमा कायम रहने हो भने कुनै दिन ठूलो फरकमा शेयरको मूल्य बढ्ने र अर्को दिन ठूलो अन्तरमा घट्ने खालको अबस्था बजारमा रहिरहने छ ।

अधिकांश सर्वसाधारण लगानीकर्ताहरु हल्ला र लहडको आधारमा शेयर बजारमा आउने हुँदा अनेक अनलाईन, सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट चल्ने हल्लाबाट शेयर बजार बहकिनसक्छ । यद्यपी पछिल्लो समयमा अनलाईन प्रणालीमा आबद्ध भएर कम्पनीको अवस्था विश्लेषण गरी जिम्मेवारीपूर्वक लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरु केही बढी नै देखिएका छन् । तर हातमा बटन भएपछि सर्बसाधारण लगानीकर्ताले तत्काल निर्णय लिन्छन्, कुनै सोच विचार नै नगर्ने अवस्था हुनसक्छ ।

छिटो छिटो र फराकिलो उतार र चढावलाई नियन्त्रण गर्ने कुनै माध्यम नै हुन्न। यसबाट बजारमा आघात पर्न नदिन ठूला संस्थागत लगानीकर्ताहरुको बाहुल्यता कायम गर्नेपर्छ । यसो गर्नु सर्वसाधारण लगानीकर्ता र बजारकै हितमा हुनजान्छ ।

संस्थागत लगानीकर्तामा लगानी गर्नुअघि कम्पनीको आधारभुत अवस्था विश्लेषण गर्ने प्रवृत्ति हुन्छ भने लगानी गर्नसक्ने रकमको मात्रा धेरै र धारण गरिरहन सक्ने क्षमता पनि बढी नै हुन्छ । उनीहरुले तत्कालको घाटा भएपनि दीर्घकालीन सोचले लगानी होल्ड गर्नसक्छन्। शेयरको मूल्य उचालिएर गयो भने आफुसँग भएको शेयर बिक्रीमा राखिदिन्छन् र बजारलाई धेरै माथि जानबाट सन्तुलनमा राख्न सक्छन् भने धेरै तल जान थाल्यो भने खरिद बढाएर बजारलाई खस्कनबाट जोगाउँँछन् । तर सर्वसाधारण ब्यक्तिगत लगानीकर्तामा त्यो कौशल, क्षमता र धैर्यता कम हुन्छ ।
सर्वसाधारण लगानीकर्तामा शेयर बजारमा शेयरको मूल्य उचालिएर बढेको बेला किन्न आउने र उच्च रुपमा मूल्य घट्न थालेपछि घाटा खाई बेचेर भाग्ने प्रवृृत्ति हुन्छ।

शेयर बजारमा अहिले रहेका धेरै लगानीकर्ताले कमाएको हैन, गुमाएको अवस्था छ र यो अवस्था अनन्तकालसम्म रहि नै रहने छ । शेयर बजारमा लगानी गर, मालामाल भईन्छ भनेर सर्वसाधारणलाई उल्क्याउने हैन, बजारमा लगानी गर्नेहरुलाई लाभांश र प्रतिफलमा आधारित बनाउँने कुरामा बढी ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । कसैलाई पनि बजारमा आउन उक्साउने र भगाउँने अभियान चलाउनु हुन्न किनभने यो जोखिमको क्षेत्र हो, जसले जोखिम लिनसक्छ, उ छिर्ने हो । जोखिम बहन गरेर फाईदा लिन सक्नेका लागि मात्रै शेयर बजार हो ।

कुनै ब्यक्तिगत लगानीकर्ता शेयर बजारमा छिर्नुअघि उसले पर्याप्त ज्ञान हाँसिल गर्नुपर्ने कम्बोडियाको जस्तो ब्यवस्था लागू गर्न सके मात्र यहाँबाट गुमाउनेहरुको संख्या कम होला नत्र, धेरैले गुमाउने, केहीले कुम्ल्याउने अवस्थाको अन्त्य हुँदैन । खराब र कयौं वर्षसम्म लाभांश नैै वितरण गर्न नसक्ने कम्पनीहरुको प्राथमिक शेयर अर्थात आईपीओ नै १० कित्ताको दरले सर्वसाधारणमा भिडाएर पनि पूँँजी बजारको विकास हुँदैन । १०० रुपैयाँमा किनेको शेयर दोस्रो बजारमा सूचीकृत भएको भोलिपल्ट ९० रुपैयाँमा र दुई वर्षपछि ६० रुपैयाँमा बेच्नु पर्दा त्यसले सर्वसाधारणको हित कसरी गरेको ठहर्छ ?

अहिलेको बजारमा कम्तिमा २० अर्ब लगानीयोग्य पूँजी भएका तीन वटा बजार निर्माता, प्रत्येकले १० अर्ब लगानी गर्नसक्ने १० वटा प्रत्याुभतकर्ता, प्रत्येकले एक अर्ब लगानी गर्नसक्ने १०० वटा सामुहिक लगानी कोष, ५ करोड रुपैयाँ भन्दा माथि लगानी क्षमता भएका एक हजार भन्दा बढी अरु संस्थागत लगानीकर्तालाई हुल्नसके मात्र बजारले स्थायित्व प्राप्त गर्नसक्छ।

धितोपत्र बोर्डले १० कित्ताका दरले शेयर बाँडेर १० लाख नयाँ लगानीकर्तालाई शेयर बजारमा हुले पनि बजारले स्थायित्व प्राप्त गर्न सक्दैन । उनीहरु आईपीओ हात पारेर दोस्रो बजारमा छिरे पनि अन्तिममा गुमाउने नै धेरै हुनेछन् र त्यसले पुरै शेयर बजारमा पखाला चलाउने सम्भावना हुन्छ । यस्तो गम्भीर अवस्था आउनबाट रोक्न शेयर बजारमा संस्थागत लगानीकर्ताको बाहुल्यता कायम गर्न ढिलाई भईसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।