प्रतिवेदनमा देशको वैदेशिक मुद्रा सञ्चिती समेत घट्दै गएको छ। जेठ मसान्तसम्म आइपुग्दा वैदेशिक मुद्रा सञ्चिती घटेर १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा देशको वैदेशिक मुद्रा सञ्चिति ७० अर्ब ७१ करोडले घटेको हो।
अघिल्लो असारमा यस्तो सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो असारमा १० अर्ब ८ करोड रहेको वैदेशिक मुद्रा सञ्चिती रकम ९ अर्ब २५ करोडमा संकुचन आएको हो।
आर्थिक वर्ष २०७५/०७६ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।
२०७६ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २९.८ प्रतिशत, ६४.६ प्रतिशत र ३० प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए।
- ८७ अर्ब ८३ करोडको निर्यात हुँदा १२ खर्ब ९९ अर्बको आयात
आर्थिक वर्ष २०७५/०७६ को एघार महिनामा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो ।
नेपालबाट सबैभन्दा धेरै भारततर्फ ३३.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ । अन्य मुलुकतर्फ १.५ प्रतिशतले मात्रै निर्यात वृद्धि भएको छ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७५/०७६ को एघार महिनामा कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाह?बाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो ।