बिहीबारदेखि आईपीओ निष्काशन गरेको शिबश्री हाइड्रोपावर कस्तो छ कम्पनी ?

Oct 04, 2019 10:10 AM Merolagani



-तीर्थराज पौड्याल।
शिवश्री हाइड्रोपावरले असोज १६ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा साढे ३३ करोड मूल्य बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ। अहिले धेरै जलविद्युत्त कम्पनीहरुको शेयरमूल्य आईपीओ मूल्यभन्दा तल घट्दा नयाँ हाइड्रोपावर कम्पनीहरुको शेयरमा लगानी गर्ने कि नगर्ने भन्ने दोधारमा लगानीकर्ता छन्।

कुनै कम्पनीहरुको शेयरमा लगानी गर्नुभन्दा अघि लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, कम्पनीले भविष्यमा गर्ने प्रगति वितरण, लाभांश प्राप्त हुने समय र कम्पनीको संस्थापक तथा व्यवस्थापकीय क्षमतालाई विचार पुर्याएर मात्र लगानी गर्न आवश्यक छ।

यसअनुसार बिहीबारदेखि आईपीओ बिक्रीमा ल्याएको शिवश्री हाइड्रोपावरको समीक्षा गरिएको छ।हेरौं बिहीबारदेखि निष्काशन गरेको शिवश्री हाइड्रोपावरको अवस्था कस्तो छ:-

  • कस्तो छ त शिवश्री हाइड्रोपावर ?

चुक्ता पूँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ रहेको शिवश्री हाइड्रोपावरले सिन्धुपाल्चोकमा २२.२ मेगावटको अपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले निमार्ण गर्ने आयोजनका कूल लागत ४ अर्ब ९८ करोड ५९ लाख ९६ हजार ५१४ रुपैयाँ रहेको छ। यसअनुसार प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ लाग्ने देखिन्छ। 

शिवश्री हाइड्रोपावरको आइपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले २०७५ फागुन २९ गते ‘ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा तल आधार रहेको बुझाउँछ।

केयर रेटिङ्ग नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ।

कम्पनीले प्रकाशित गरेको विवरणपत्र अनुसार आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २१.९५ वर्ष लाग्नेछ। यस्तै चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ एक सय रुपैयाँ ८९ पैसा रहने तथा आर्थिक वर्ष २०७८/०७९ मा घटेर ९८ रुपैयाँ ४० पैसामा सीमित हुने कम्पनीको वित्तीय विवरणमा उल्लेख छ।

 

चालु आवमा एक करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ८९ पैसा कायम गर्ने यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा पुग्दा दुई करोड ३६ लाख ४८ हजार रुपैयाँ नोक्सानी ब्यहोर्दा एक रुपैयाँ २० पैसा नोक्सानी बेहोर्ने उल्लेख छ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरीद बिक्री सम्झौता २०६७ भदौ २२ गते भइसकेको छ। बिक्री सम्झौता अनुसार बर्षा याममा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो। ब्यापारिक उत्पादन मितिलाई आधार मानेर प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ।

आयोजनाबाट उत्पादित विद्युत स्वीचयार्डदेखि प्राङग्रेटार गाविससम्म कम्पनी आफैँले २२ किलोमिटर १३२ केभि प्रसारण लाईनको निर्माण गरि नेपाल विद्युत प्राधिकरणको लामोसाघुँ सवस्टेशनमा जोडिनेछ।

विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुसार ब्यापारिक विद्युत उत्पादन मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि जुन घटी छ त्यहि अवधिसम्म कायम रहने छ।

यसअनुसार आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बि.सं २१०३ साल फागुन ११ गतेसम्म बाहाल रहनेछ। यसअनुसार अबको २७ वर्षसम्म आयोजनाबाट उत्पादित विद्युत कम्पनीको रहनेछ भने सो पश्चात नेपाल सरकारमा सो आयोजना हस्तान्तरण हुनेछ।

कम्पनीले साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानीलाई सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ।

६७ जना संस्थापक शेयरधनी रहेका यस कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६२ साल चैत १८ गते प्राइभेट कम्पनीको रुपमा दर्ता भएको शिव श्री हाइड्रोपावर कम्पनी २०७३ मंसिर २९ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

  • को-को छन् आधारभुत शेयरधनी र सञ्चालक ?

हाइड्रोपावर कम्पनीमा प्राइम कमर्सियल बैंकको सञ्चालकदेखि काठमाडौं र सिन्धुपाल्चोकका ब्यापारिक घराना र गुल्मीदेखि ओखलढुङ्गाासम्मका आधारभुत शेयरधनी रहेका छन्।

सबैभन्दा धेरै शेयर स्वामित्व प्रबन्ध निर्देशक विष्णु बहादुर खत्रीको ६ लाख ६८ हजार ७४१ कित्ता शेयर रहेको छ । उनीससँग विवेक इन्टप्राइजेज प्रालीको कार्यअनुभव रहेको छ । त्यस्तै हिमालयन सीमापारमा कोषध्यक्ष तथा दुर्गा एण्ड समर्राट टेडिङ्ग हाउसमा सञ्चालक रहेका हाइड्रोका अध्यक्ष बच्चु पौडेलसँग ६ लाख ४३ हजार ७४२ कित्ता शेयर स्वामित्व छ ।

 

एमआइए इन्भेष्टमेन्ट प्रालिको ६ लाख, उमेश कसजुको ५ लाख ४७ हजार ७४२ र प्राइम कमर्सियल बैंकका सञ्चालक समेत रहेको काठमाडौं सिनामंगल निवासी श्याम बहादुर श्रेष्ठको ५ लाख ८९ हजार ३५५ कित्ता शेयर स्वामित्व रहेको छ । खत्री, पौडेल र कसजु तीन जना नै सिन्धुपाल्चोक निवासी हुन् ।

यस्तै दुई लाख कित्ताभन्दा बढी शेयर रहेका संस्थापक शेयरधनीहरुमा पम्फा गैह्रे गुल्मी, गणेश प्रसाद कट्टेल ओखलढुङ्गा, सिन्धु हाइड्रोपावर काठमाण्डौं, ग्राण्डी होल्डिङ्ग प्रालि त्रिपुरेश्वर, वैदिक हाइड्रो इन्भेष्टमेन्ट प्रालि दरबारमार्ग काठमाडौं, यति टेड्र एण्ड इन्भेष्टमेन्ट प्रालि गंगबु लगायतका रहेका छन्।

हाइड्रोमा बच्चु पौडेल अध्यक्ष, विष्णु बहादुर खत्री, प्रबन्ध निर्देशक र श्याम बहादुर श्रेष्ठ, मञ्जु कुमारी श्रेष्ठ हेटौंडा, राजेन्द्र कुमार श्रेष्ठ र कमल कुमार श्रेष्ठ सिन्धुपाल्चोक सञ्चालक रहेका छन् ।

 

  • दोस्रो बजारमै आईपीओभन्दा सस्तो पाउँदा सबै बिक्रीमा आशंका

शेयर बजारको गिरावटको असर सबैभन्दा धेरै जलविद्युत कम्पनीको शेयरमा परेको छ। पछिल्लो समय शेयर बजारमा जलविद्युत कम्पनीहरुको शेयर आईपीओभन्दा सस्तो मूल्यमा पाइरहेको अवस्था छ। यस्तो अवस्थामा असोज १६ गते बिहीबरदेखि बिक्रीमा ल्याएको शिवश्री हाइड्रोपावरको कति शेयर बिक्री होला भन्ने चासो सबैमा विद्यमान छ।

सुरुसुरुमा नेप्से उच्च बिन्दुमा रहँदा जलविद्युत कम्पनीको शेयर पनि गोलाप्रथाबाट १० कित्ताका दरले भाग्यशाली साबित भएर लिनुपर्ने अवस्था रहेको थियो। तर अहिले समय फेरिएको छ। जलविद्युत कम्पनीहरुले निष्काशन गर्ने शेयर बिक्री नभएर प्रत्याभूतिकर्ताले सकार्नुपर्ने अवस्थासम्म पुगेको छ। जसले मर्चेन्ट बैंकर शेयरको प्रत्याभुर्ति गर्न छाडेका छन् भने उर्जा उत्पादकहरु आन्दोलन गर्ने चरणसम्म पुगेका छन्।

साढे ३३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको शिवश्री हाइड्रोपावरलाई यसअघि निष्काशन गरेर सबै शेयर बिक्री नभएको घटनाले आफ्नो कम्पनीको शेयर सबै बिक्री गर्न चुनौति छ । यसअघि हिमाल दोलखा हाइड्रोपावरको कूल सार्वजनिक निष्काशनको ६० प्रतिशत र युनियन हाइड्रोको ४ प्रतिशत शेयर अवितरित भएकाले पनि सबै शेयर बिक्री गर्न कठिनाई नै हुने देखिन्छ।

हाल नेप्सेमा सूचीकृत ३२ जलविद्युत कम्पनीहरुमध्ये असोज १५ गतेसम्म आइपुग्दा १८ बढी कम्पनीको शेयरमूल्य एक सय रुपैयाँभन्दा कम रहेको छ। यी कम्पनीहरुको कूल बजार पूँजीकरण घटेर ९३ अर्ब बराबरमा झरिसकेको अवस्था छ।

एकातिर राम्रो लाभांश दिइरहेका बैंकिङ्ग स्टकहरुको शेयरमूल्य नै घटिरहेकाले जलविद्युत कम्पनीहरुको औसत लाभांश क्षमता १० प्रतिशत भन्दा तल रहनु नै यो उप समूहको सूचक घट्ने र आकर्षण कम हुने प्रमुख कारण हो। जलविद्युत कम्पनीमा लगानी गरेका प्राय सबै लगानीकर्ताले लाभांश प्राप्त गर्न एक दशक कुर्नुपर्ने बाध्यता छ।

अर्कोतिर जलविद्युत क्षेत्र निश्चित आम्दानी हुने क्षेत्रमा सरकारी क्षेत्रको कमजोर नियमन र स्पष्ट कानुनी व्यवस्था तथा विद्युत प्राधिकरणले लगाउने विभिन्न जरिवानाले पनि यो क्षेत्रमा खास आकर्षण बढ्न सकेको छैन।

यद्यपी बजारका विश्लेषकहरु समग्र बजार नै घटिरहेकाले लगानीकर्ताको कन्फिडेन्स कमजोर बन्दा त्यसको असर शेयर बजारमा परेको बताउँछन्। लगानीकर्ताले अहिले पनि जलविद्युत कम्पनीहरुको क्षमता र अवस्थालाई हेरेर शेयर खरीद बिक्री गरिरहेको बताउँछन्।

नयाँ निष्काशन हुने हाइड्रोपावर कम्पनीको नेप्सेमा शेयर कारोबार खुल्दा माथिल्लो मुल्यमा खुल्ने र त्यपछिका दिनहरुमा निरन्तर घटेर आईपीओ मूल्य नजिक नपाइपुग्दासम्म बिक्री गर्न नसक्ने अवस्थाले जलविद्युतको शेयरमा लगानी गर्न लगानीकर्ता चाहिरहेका छैनन्।

यसरी माथिल्लो मूल्यमा कारोबार खुलेर निरन्तर घट्दा नेप्से सूचकमा समेत दबाब पर्ने गरेको छ । जसले नेप्से ऋणात्मक बन्न सहयोग पुर्याउने गरेको छ भने लगानीकर्ताहरुमा जलविद्युत कम्पनीहरुको शेयरमा आकर्षण घटाउन समेत सहयोगी भुमिका खेलेको देखिन्छ।

  • कुन कुन क्यापिटल छन् आईपीको प्रत्याभुतिकर्ता ?

नेपाल धितोपत्र बोर्डले कुनैपनि सार्वजनिक निष्काशन गर्नुपूर्व सो रकम बराबरको शेयरका लागि प्रत्याभुति (अण्डरराइट) गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअनुसार शिवश्री हाइड्रोपावरको आईपीओलाई सिबिआईएल क्यापिटल र भिबोर क्यापिटल ले प्रत्याभुति (अण्डरराइट) गरेका छन्। प्रत्याभुतिकर्ताले सर्वसाधारणमा बिक्री गर्दा शेयर बिक्री नभएर सो शेयर समेत किन्नुपर्ने हुन्छ ।

दुबै संस्थाले कूल निष्काशित शेयर कित्ता ३३ लाख ५१ हजार १४० कित्तालाई आधा आधा प्रत्याभुति गरेका छन्। शिवश्रीको शेयर निष्काशन सिद्धार्थ क्यापिटलले गरेपनि सो क्यापिटलले प्रत्याभुति गरेको छैन।.

 

यसअनुसार एक क्यापिटलले १६ लाख ७५ हजार ५७० कित्ताले हुन आउने १६ करोड ७५ लाख ५७ हजार रुपैयाँ बराबरको प्रत्याभुति कम्पनीलाई दिएका छन्।

यदि सर्वसाधारणमा शेयर बिक्री नभएको खण्डमा जति कित्ता शेयर अवितरित हुन्छ सो प्रत्याभुतिकर्ता मर्चेन्ट बैंकरले आफूले आईपीओ निष्काशन पूर्व प्रत्याभुति गरेको अनुपातमा अवितरित शेयर खरीद गर्नुपर्छ।

  • स्वतन्त्र उर्जा उत्पादक संघ आन्दोलनमा

उता स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले सरकारका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनाहरुको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै सो संघले आफुहरु आन्दोलन गर्न बाध्य भएको जनाएको छ।

उनीहरुले उर्जा क्षेत्रमा विद्युत खरीद दर, ब्याजदर, प्रशारण आउटेज, राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धि अवधारणापत्र, प्रसारण लाईन र ढिलो उत्पादन हर्जना जस्ता समस्या व्यहोर्नु परिरहेको भन्दै सरकारलाई माग सम्बोधनका लागि ध्यानाकर्षण गराएका छन्।

उर्जा उद्यमीले राखेका माग सम्बोधन नभए उर्जामन्त्री समक्ष आयोजनाका चाबी बुझाउने चेतावनी समेत उनीहरुले दिएका छन्। उर्जामभा क्षेत्रमा देखिएको प्रतिकूल वातावरणले सरकारको दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ ।

यस्तै निर्माणाधिन अवस्थामा रहेका २०९ वटा आयोजनाबाट उत्पादन हुने ७ हजार ९५४ मेगावाट विद्युत उत्पादनमा प्रत्यक्ष प्रभाव पर्ने भएको छ ।

यसैगरि अध्ययतनको क्रममा रहेका १०० मेगावाटभन्दा बढीको ३५ आयोजना, २५ देखि १०० मेगावाट क्षमताका ५६, १ देखि २५ मेगावाट क्षमताका १८५ र एक मेगावाटभन्दा कम क्षमताका १६ आयोजनाबाट उत्पादन हुने १७ हजार बढी विद्युत आयोजना निमार्ण कसरी सम्भव होला भने प्रश्न उब्जिएको छ।

अहिलेको अवस्थाले कुनैपनि आयोजना निमार्ण गर्न पूँजी बजारबाट पूँजी संकलन गरि निमार्ण गर्न असम्भव देखिन्छ। यस्तो अवस्थालाई सरकारले यथासम्भव सम्बोधन गर्न जरुरी छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।