दशैंको दक्षिणा कसरी सदुपयोग गर्ने ?

Oct 08, 2019 09:55 AM Sabina Bajgain



नेपाली हिन्दुहरुको महान् चाड दशैंको आज सबैभन्दा महत्वपूर्ण दिन अर्थात विजया दशमी। मान्यजनबाट आर्शिवाद र टिका थाप्ने दिन, सबै टिका लगाउन व्यस्त हुनुहुन्छ होला। यहि बेला हामीले मान्यजनबाट टिकासगै पाप्त गर्ने दक्षिणालाई कसरी धेरैभन्दा धेरै सदुपयोग गर्न सकिन्छ भनेर जानकारी दिँदैछौं।

दशैं भन्ने बित्तिकै राम्रो लुगा, मिठो मिठो परिकारका खाना बनाएर सबै परिवारका सदस्यहरु एकै ठाउँमा जमघट भएर मनाउने चाड अनि मान्यजनबाट आर्शिबाद र टीका थाप्ने र दक्षिणा पाउने गरिन्छ। नेपालीहरुले धेरै खर्च गर्ने चाडहरुमध्ये दशैं पञ्मुख स्थानमा नै पर्छ। तर खर्चसँगै दशैंको अर्को पाटो आम्दानी पनि हो । 

केटाकेटी, नयाँ बेहुला–बेहुली, महिला र पाको उमेर भएकाहरुले दशैंमा दक्षिणा स्वरुप बढी पैसा आर्जन गर्दछन् । दशैंको दक्षिणा खर्च गर्न अनेक बाहानाहरु हुन्छन तर तपाईहरुमध्ये सो पैसालाई खर्चभन्दा आम्दानीको रुपमा सदुपयोग गर्नुभयो भने यसले तपाईलाई भविष्यमा समेत आनन्द पदान गर्दछ।

सबैको मन खर्च गर्ने खालको नै हुन्छ भन्ने छैन तर धेरैले मेहनतबाट कमाउनेभन्दा दक्षिणा स्परुप पाप्त हुने भएकाले कम महत्व दिएको पाइन्छ। कतिपयलाई थोरै पैसाको सदुपयोग गर्ने, कहाँ राख्ने वा लगानी गर्ने भन्ने जानकारी वा ज्ञान नहुँदा पनि स्वत खर्च भएर त्यो रकम सकिने गरेको छ ।

थोरै रकमबाट हुने लगानीले पनि भविष्य निर्माणका लागि सहयोग पुर्याउन सक्छ । भविष्यका लागि राम्रो ठाउँमा लगानी गर्ने चाहना भएमा दशैंमा प्राप्त दक्षिणा जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर त्यसका लागि सानो रकम कसरी र कहाँ सदुपयोग गर्ने भन्ने कुराका बारेमा जान्न जरुरी हुन्छ ।

सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ। जहाँ तपाईको दक्षिणाकोे सही सदुपयोग हुनसक्छ। दशैंमा जम्मा भएको दक्षिणा बैंक खाता सञ्चालन गरेर जम्मा गर्न पनि सकिन्छ। भनिन्छ नि, आजको बचत नै भविष्यको सारथी हो । त्यसैले सानो रकम भनेर हेला नगर्नुहोस् । बेलैमा सही ठाउँमा सदुपयोग गर्नुहोस् ।

लगानी गरेर बाँकी भएको पैसाले मात्र अनावश्यक खर्च गर्ने हो । हामीले बेला बेलामा थोरै-थोरै जम्मा भएर आएको पैसाबाट गरेको बचतले भविष्यमा ठूलै कामको लागि सहयोग पुग्नसक्छ ।

सानो सानो पैसा जम्मा गरेर नै धेरै बचत हुने गर्दछ । त्यसैले बैंकमा बचत गर्नु पनि राम्रो हुन्छ । थोरै पैसाले कुनै ठूलो काम नबनेपनि बिस्तारै जम्मा गर्दे गएको रकमले पछि भविष्यमा कुनै ठूलो काम गर्न पनि सकिन्छ ।

त्यस्तै दशैंमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने पनि छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । रकम चुक्ता गर्ने समय कतिपयलाई बोझिलो लाग्न पनि सक्छ । त्यसैले दशैंपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दशैंमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।

यसका साथै दशैंमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । शेयर बजारमा लगानी गर्नका लागि ठुलै पुँजी चाहिन्छ भन्ने पनि होइन । सानो रकमबाट पनि शेयर बजारमा लगानी गर्न सकिन्छ । यसका लागि तपाईहरुले शेयर बजारको बारेमा राम्रोसँग बुझ्न र अध्ययन गर्न भने जरुरी छ । सुरुमा कम्पनीहरुले निष्काशन गर्ने आइपीओबाट पनि लगानी गर्न सक्नुहुनेछ ।

दशैंपछि धेरै कम्पनीका आइपीओहरु बजारमा आउने तयारीमा रहेकाले तपाईले आफ्नो दशैँको दक्षिणालाई त्यसैमा लगानी गर्न पनि सक्नुहुनेछ ।

शेयरमा लगानी गर्नका लागि धेरै रकम पनि नचाहिने भएकाले दशैंमा जेजति रकम जम्मा हुन्छ, त्यसबाटै पनि शेयर किन्न सकिन्छ । सानो रकम अर्थात् एक हजार रुपैयाँबाटै शेयरमा लगानी गर्न सकिन्छ । त्यसैले फजुल खर्च घटाएर स–सानो रकमबाट आजैदेखि बचत शुरु गर्नुहोस् र भविष्यका लागि काम लाग्ने आफूलाई उपयुक्त हुने स्थानमा लगानी गर्नुहोस् ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।