नेपाल बैंकको खुद मुनाफामा कसरी देखियो गत आवको तुलनामा ठूलो अन्तरको गिरावट ?

Nov 08, 2019 10:56 AM Tirtha Raj Poudyal



सरकारी स्वामित्वको नेपाल बैंक (NBL) को खुद नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा ३३ करोड २० लाख अर्थात ३६.३३ प्रतिशतले घटेर ५८ करोड १८ लाख २३ हजार रुपैयाँमा संकुचन आएपछि लगानीकर्तामा कसरी बैंकको नाफा यति धेरै घट्यो भन्ने कौतुहलता बढेको छ।

मेरोलगानीसँग कुराकानी गर्दै बैंकका अध्यक्ष बासुदेव अधिकारीले बैंकको प्रथम त्रैमासमा खुद नाफा घट्नुको कारणबारे बताएका छन्। अधिकारीका अनुसार बैंकको मुनाफा घट्नुमा मुख्य तीन कारणहरु रहेको छन्।

अधिकारीका अनुसार गत आवको मुनाफा धेरै हुनुमा पुरानो ३८ करोड बराबरको असुली गत आवको प्रथम त्रैमासमा संकलन हुनु, सो समयमा बैंकको निक्षेप संकलन लागत कम र राष्ट्र बैंकले स्प्रेडदरमा कडाई नगर्दा त्यसबाट मुनाफा वृद्धिमा सहयोग पुगेको थियो। सोही कारणले बैंकले सो समयमा बैंकले ९१ करोड ३८ लाख खुद मुनाफा आर्जन गर्न सकेको थियो।

चालु आवको प्रथम त्रैमासमा भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुको स्प्रेडदर घटाउँदा, उच्च ब्याजदरमा बैंकहरुबीच निक्षेप संकलन गर्ने क्रम बढ्दा बैंकको निक्षेप लागत बढ्नु, तथा नियमनकारी व्यवस्था अनुसार खराब कर्जाको प्रोभिजिनिङ्ग वास्तविक अनुपातमा गरेको र बैंकको पुरानो असुली पनि यस त्रैमासमा नहुँदा खुद मुनाफा घट्न पुगेको उनको भनाई छ।

गत आवको प्रथम त्रैमासमा ३८ करोड पुरानो कर्जा असुली, स्प्रेडदर र निक्षेप लागतका कारण नाफा उच्च देखिएपनि बैंकको नियमित आम्दानीमा वित्तीय विवरणमा देखिएजस्तो गिरावटको अवस्था नरहेको उनले बताए। दोस्रो त्रैमासमा बैंकले नियमित आम्दानी र खराब कर्जाबाट पुरानो असुली केन्द्रित असुली हुँदा बैंकको मुनाफामा सुधार आउने उनको भनाई छ।

यस अवधिमा नेपाल बैंकको जगेडा कोष, निक्षेप संकलन, खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा समेत घटेको छ भने बैंकको कर्जा विस्तारमा पनि झिनो मात्र सुधार देखिएको छ। निक्षेप संकलन लागत १.३८ प्रतिशत बिन्दुले बढेको यस बैंकको खराब कर्जा अनुपात भने सुधारिएको छ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा नेपाल बैंकले ५८ करोड १८ लाख २३ हजार रुपैयाँ आर्जन गरेर वार्षिक २३ रुपैयाँ ७२ पैसा वार्षिक प्रतिशेयर आम्दानी कायम गरेको छ। गत आवको यसै अवधिमा बैंकको नाफा ९१ करोड ३८ लाख र प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३६ पैसा रहेको थियो। समीक्षा अवधिमा बैंकको इपिएस १३ रुपैयाँ ५४ पैसाले घटेको हो।

यसैगरि असोज मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६ करोड ५६ लाख ६५ हजार छ। जुन गत आवको यसै अवधिको तुलनामा ९१ करोड ३५ लाख १० हजारले कम हो। गत आवको प्रथम त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ९१ लाख थियो।

बैंकको निक्षेप संकलन एक खर्ब १७ अर्ब २० करोडबाट घटेर एक खर्ब १४ अर्ब ७९ करोडमा झरेको छ। यसैगरि कर्जा लगानीतर्फ ९२ अर्ब ४१ करोड ४० लाखबाट ९२ अर्ब ६५ करोड ९२ लाख पुगेको छ। बैंकको निक्षेप संकलनमा २ अर्ब ४१ करोडले घट्दा कर्जा लगानी २४ करोड ५२ लाखले मात्र बढेको छ।

बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशत र सञ्चालन नाफा ५२.३५ प्रतिशतले घटेर क्रम एक अर्ब ३२ करोड ८२ लाख र ६१ करोड ४ लाखमा संकुचित बनेको छ।

नौं अर्ब ८१ करोड १४ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको तीन अर्ब २६ करोड शेयर प्रिमियम, तीन अर्ब ८ करोड रिटन्ड अर्निङ र १३ अर्ब २५ करोड ४८ लाख रुपैयाँको जगेडा कोष रहेको छ।

यसअवधिमा बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशत, पूँजी कोष अनुपात १८.१० प्रतिशत, कोषको लागत ५.२२ प्रतिशत, आधारदर ७.८४ प्रतिशत छ भने बैंकको प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात १४.५४ गुणा रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।