रसुवागढी करिब डेढ करोड घाटामा, २०७७ असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य

Nov 17, 2019 12:51 PM Merolagani



चालु आर्थिक वर्षको प्रथम त्रैमासमा रसुवागढी हाइड्रोपावर लिमिटेडले १ करोड ४६ लाख ७६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। हाइड्रोपावरको ब्याज आम्दानी घटेको र सञ्चालन खर्च बढेका कारण घाटा व्यहोर्नु परेको हो।

गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोपावरले १ करोड ४८ लाख ८५ हजार नाफा कमाएको थियो।

यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ। कम्पनीले २०७७ असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।

गत आवको असोज मसान्तको तुलनामा चालु आवको सोही अवधिमा हाइड्रोपावरको सञ्चालन खर्च ५७ लाख ५ हजारबाट बढेर १ करोड ६४ लाख पुगेको छ । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी २ करोड ३५ लाखबाट घटेर ४३ लाख ४७ हजारमा सीमित भएको छ।

६ अर्ब १५ करोड ७८ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोष १४ करोड ३४ लाख ऋणात्मक रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी ०.९५ रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७.६७ रुपैयाँ रहेको छ।