पश्चिमी वायु प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरुमा हिमपात, जनजीवन प्रभावित

Dec 13, 2019 10:21 AM Merolagani

गत बुधबार साँझदेखि प्रवेश गरेको प्रश्चिमी वायु प्रणालीका कारण बिहीबार देशका विभिन्न स्थानहरुमा हिमपात भएको छ। हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंसिर २७ गते शुक्रबार (आज) पनि पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात हुनेछ।

मंसिर २८ गते शनिबार र २९ गते आइतबार देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले बताएको छ। सो दिनहरुमा उच्च पहाडी सहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

  • हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ।
डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन्।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताए। विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए। साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाइ छ। विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन्।

त्यस्तै, हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ। चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए।

हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए। डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन्।

  • मुस्ताङमा जम्यो ताल तथा खोलाको पानी

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ। बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवसीले बताए। उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ। खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ। पानी जमेर धारामा आउन छाडेको छ।

यसैगरी, सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ। तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए।

बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ। स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन्। गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ। जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका छन्। उपकरण र मजदूरले काम गर्न सकेका छैनन्। जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन्।

गाउँमा घर कुरुवा राखेर स्थानीयवासी न्यानो ठाउँमा गएका छन्। उनीहरु गर्मी बढेपछि फागुनमा मात्र घर फर्कने जनाइएको छ। स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि अधिकांश पोखरा गएका छन्। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर सेवा दिएका छन्। उपल्लो मुस्ताङका विद्यालयहरु पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको छ।

  • उच्च लेकाली क्षेत्रमा हिमपात

बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ।

हिमपात भएसँगै चिसो बढेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ। डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीयवासी जोगीसिंह विष्टले बताए।

 

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने त्यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण स्थानीय किसान भने हिउँ पर्दा हिउँदेबाली सप्रिने आशमा खुशी भएका छन्। त्यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ। हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन्। हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

त्यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँहरुमा मसिनो पानी परिरहेको छ। पानी र हिमपातका कारण त्यहाँको तापक्रम निकै घटेको छ। चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न उच्च सर्तकता अपनाउनुपर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाएको छ।

  • रुकुमपूर्वका हिमशृंखला सेताम्मे

बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन्। प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन्।

चार/पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन्।

हिमपात भएसँगै चिसो बढेको छ। चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ। हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ। घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ।

लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो। रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ। जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ।

बिहानी पखको झुल्के घामसँगै रुकुमपूर्वका अग्ला डाँडाबाट सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन्। बिहीबार हिमपात हुँदा हिमालले मुस्कान दिइरहेका छन्। खडेरीको वेला सुख्खा देखिने त्यहाँका हिमाल आजभोली भने हिउँले निकै सुन्दर देखिएका छन्।

डाँडाकाँडामा हिमपात भएपछि निकै सुन्दर देखिन थालेका छन्। त्यहाँका स्थानीयवासीसँगै बाहिरबाट आएका आन्तरिक पर्यटक हिउँसँगै लुकामारी गरिरहेका छन्। त्यहाँका हिमशृंखलासँग स्थानीयवासी र बाहिरबाट आएका आन्तरिक पर्यटक चिसोलाई भुलेर पनि रमाइ रहेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।