तीन कम्पनीको शेयरमूल्य समायोजन

Jan 27, 2020 08:03 AM Merolagani

हिमालयन बैंक, डिप्रोक्स लघुवित्त र नागबेली लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यी तीनवटै कम्पनीको माघ १३ गते सोमबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

यी तीनवटै कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले हिमालयन बैंक (HBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१३ रुपैयाँ ६४ पैसा कायम गरेको छ।

बैंकले लाभांश र ५ सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा सहित माघ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंकको अधिकृत पूँजी वृद्धिगरी १२ अर्ब गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी गराउने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

त्यस्तै, डिप्रोक्स लघुवित्त (DDBL) को शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७९३ रुपैयाँ ८५ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न माघ २६ गते अठारौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभा भरतपुर गार्डेन रिर्सोट, भरतपुरमा बिहान ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफा र गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफा रकम समेत सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

यसका साथै सभाले लघुवित्तको अधिकृत पूँजी वृद्धि गरी २ अर्ब पुर्‍याउने, लघुवित्तको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षकको नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।

हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ।

नेप्सेले नागबेली लघुवित्त (NBBL) को मूल्य समायोजन गरी प्रतिकित्ता ४६६ रुपैयाँ ६७ पैसा कायम गरेको छ।

लघुवित्तले लाभांश पारित गर्ने प्रस्ताव सहित माघ २६ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनको लागि १.३६८ प्रतिशत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने र शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लघुवित्तलाई संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि शेयर स्वामित्व परिवर्तन गर्न लागेको हो। लघुवित्तले एक पटकमा संस्थापक समूहको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्नेछ।

त्यसैगरी, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

यी तीनवटै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सोमबार शेयर कारोबार खुल्नेछ।


comments powered by Disqus

नेपाल लाइफको ‘कोरोना नियन्त्रण कोष’मा एक करोडको सहयोग

Apr 03, 2020 07:29 PM

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ ।