अनलाइनमा आकर्षण बढाउन लगानीकर्तालाई सहुलियत प्याकेज वा डिस्काउन्टेट अफर दिनुपर्छ

Feb 10, 2020 06:27 PM merolagani

देव गुरागाँई

सेयरबजार कारोवारमा पनि सूचना प्रबिधिको प्रयोगलाई नबढाई सुखै छैन । भौतिक समानको कारोवार त अनलाईनबाट हुन्छ भने सेयर त झन अभौतिकीकरण भई सकेको छ । यो त झन् सजिलैसँग पूर्ण अनलाईनमार्फत कारोवार हुन सक्नु पर्ने हो ।

यसको कारोवार पद्धति साधारण,सरल र सजिलो छ । जस्तो कि सेयर किन्ने लगानीकर्ताले अनलाईन सिष्टम मार्फत खरिद अर्डर दिने,सिष्टमले अर्डर बमोजिम पुग्ने रकम लगानीकर्ताको बैंक खातामा छ कि छैन चेक गर्ने, यदि पुग्ने रकम छ भने अर्डर सफल हुने, छैन भने रकम अपुग भएको जानकारी लगानीकर्तालाई दिने ।

त्यस्तै सेयर बिक्री गर्ने लगानीकर्ताले अनलाईन सिष्टम मार्फत बिक्री अर्डर दिने, अर्डर बमोजिमको सेयर लगानीकर्ताको डिम्याट खातामा छ कि छैन सिष्टमले चेक गर्ने, यदि छ भने अर्डर सफल हुने, छैन भने सेयर संख्या अपुगको जानकारी लगानीकर्तालाई दिने ।

कारोवार सफल भइसके पछि किनेको सेयर स्वतः किन्ने लगानीकर्ताको डिम्याट खातामा राखिदिने र बिक्री भएको सेयर बिक्रीकर्ताको डिम्याट खाताबाट घटाउने र सेयर बिक्री भए वापत बिक्रीकर्ताले पाउनु पर्ने रकम बैंक खातामा राखिदिने ।

यहाँ केवल डिजिटल संख्याहरुलाई थप घट गरे पुग्छ,भौतिक बस्तु वा साधन हस्तान्तरण गरिराख्नु पर्दैन । त्यसैले सूचना प्रविधिको क्षेत्रमा यस्तो कारोवार प्रकृयालाई साधारण र सरल भनिएको हो । तर धितोपत्र बोर्ड वा नेप्सेलाई सूचना प्रविधि बिषयमा कम ज्ञान भएर भनौं वा अवको युग कता तिर जाँदैछ भन्ने कुरा बुझ्न सक्ने ब्यवस्थापकीय क्षमता नभएर हो । आम लगानीकर्ताले पूर्णस्वचालित अनलाईन सिष्टम पाउन सकेका छैनन् । अहिले संचालनमा आएको नेप्सेको टिएमएस लागयतका सूचना प्रविधिमा वारम्वार समस्या आईरहेको पाईन्छ । लगानीकर्ताहरु यो सिष्टमबाट सन्तुष्ट हुन सकेका छैनन् ।

जुनसुकै सिष्टम होस त्यो अहिलेको युग सुहाउँदो हुनु पर्दछ, बढदो प्रयोगकर्तालाई धान्न सक्ने,सरल, सहज र सजिलो महसुस हुने खालको भए मात्र त्यस्तो सिष्टमले  पूर्णता पाउँछ । पूर्ण स्वचालित अनलाईन सिष्टम सर्वसुलभ, सजिलो, बिश्वासनीय र समस्या रहीत भएमात्र धितोपत्र बजार पारदर्शी, स्वस्थ्य एवं प्रभावकारी भई बजारको दिगो बिकास गर्ने लक्ष्य पुरा हुनेछ ।

अवको दिनमा अनलाइन सेयर कारोवारलाई प्राथमिकता दिनै पर्दछ नत्र भने हामी अझ धेरै पछि पर्नेछौं । धितोपत्र बोर्डले अनलाइन मार्फत कारोवार गर्ने लगानीकर्ताहरुलाई आकर्षण गर्न केही सहुलियत प्याकेजहरु वा डिस्काउटेट अफरहरु घोषण गर्नु पर्दछ ताकी त्यसैको लोभले भएपनि लगानीकर्ताको ध्यान खिच्न सकिन्छ र अनलाईन प्रयोगकर्ताहरुको संख्या ह्वातै बढाउन सकिन्छ।

अनलाईन कारोवारलाई सर्वसुलभ,सजिलो,सवैको पहुँचसम्म पुर्याउन सकेको खण्डमा राज्यलाई पनि भौतिक रुपमा बिभिन्न संस्थाहरु खडा गरिराख्नु पर्दैन र ती संस्थाहरु पाल्ने खर्च पनि कटौती हुनेछ । नयाँ स्टक एक्स्चेन्ज खोल्ने कुराको पनि समय समय चर्चा चलिरहेको सुनिन्छ, अहिलेको ब्रोकरको संख्या कमी भयो भनेर बैंकलाई पनि ब्रोकर लाईसेन्स दिनु पर्दछ भन्ने आवाज पनि सुनिन्छ । यी सवै भौतिक संरचना खडा गर्ने र लगानीकर्तालाई अनावश्यक ब्ययभार र झन्झट थोपार्ने भन्दा अनलाईन कारोवारलाई बढवा दिने खालको कार्यक्रम ल्याउनु उपयुक्त हुन्छ ।

अनलाइन कारोवार एउटा यस्तो संरचना हो जहाँ धैरैवटा भौतिक संरचनाको आवश्यकता पर्दैन र जहाँ लगानीकर्ता भौतिक रुपमा बारम्वार कुनै संस्थामा उपस्थित भइराख्नु पर्दैन । ईन्टरनेट भएको जुनसुकै स्थानबाट संसारको जुनसुकै कुनामा बसेर सेयर कारोवार गर्न सकिन्छ । पूर्ण स्वचालित अनलाईन मार्फत सेयर कारोवार हुन थालेपछि अहिले भईरहेको संरचनाको आवश्यकता कम महशुस हुन थाल्नेछ । धितोपत्र बोर्डको कुनै एउटा शाखा वा ईकाइलेनै धितोपत्र बजार ब्यवस्थापन गर्न सक्ने क्षमता राख्नेछ । त्यसैले मुख्यतः तीन बटा संस्था भए पुग्नेछ, एउटा पैसा कारोवार गर्ने बैंक, अर्को सेयरको रेकर्ड  ब्यवस्थापन गर्ने CDSC र धितोपत्रको ब्यवस्थापन गुनासो र उजुरी सम्बोधन गर्ने नियमाक निकाय धितोपत्र बोर्ड मात्र भए पुग्नेछ । यसाे भए सेयर कारोवारमा लागत पनि कम हुनेछ र यसप्रतिको आकर्षण पनि बढ्दछ । सरकारलाई पनि एउटै क्षेत्रका धेरै संस्थाहरु पाल्ने खर्च कटौती हुनेछ भने त्यस्ता संघ,संस्थाबाट उब्जिने समस्याहरुको हल गर्न टाउको दुखाई राख्नुपर्ने छैन । 

हाल पूँजीबजार सम्बन्धी अर्थमन्त्री डा.युवराज खतिवडाको युटर्न धारणा सुनेर लगानीकर्ताहरु आश्चर्य मानिरहेका छन् । हिजो मन्त्री हुँदै गर्दा जुन क्षेत्रलाई अनुत्पादक भन्दै लगानीकर्तालाई तर्साएका मन्त्रीले आज कार्यकालको संघारमा पुग्दै गर्दा त्यही क्षेत्रमा पैसा हाल्नुस भन्दै हिड्दा आम लगानीकर्ताहरु अलमलमा परेको पनि देखिन्छ । लगानीकर्ताकोे नजरमा नराम्रो बनेका मन्त्रीले अहिले आएर त्यो दृष्टिकोणलाई परिवर्तन गर्न खोजेका त होईनन् ? र कतै मन्त्रीज्यूको कार्यकाल लम्ब्याउने जुक्ति त होईन भन्ने शंका धेरैले गरेको पाईन्छ । त्यसैगरी, धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदवहाली गर्दै गर्दा प्रविधिमैत्री पूँजी बजार, बजारमा संस्थागत सुशासन र बोर्डको नियमन क्षमतामा बिकास गर्ने बिषयमा जोड दिनु स्वागतयोग्य कुरा हो ।

दोश्रो बजारमा कारोवार गर्ने स्थानको संख्या एक हजार माथि पुर्याउने कुराले बजारलाई केही तताएकै हो । एक हजार स्थानबाट मात्र हैन कि धितोपत्रको कारोवार ३ करोड जनताको पहुँचमा पुग्नु पर्दछ र त्यो कुराको सम्भव अनलाइन कारोवारबाट मात्रै हुनेछ । सुखद कुरा उहाँको पदवहाली देखिनै उकालो लागेको बजार सोही गतिमा माथि लागिरहोस् भन्ने आम लगानीकर्ताको चाहना हो । धितोपत्र बजारको बिकास,बिस्तार हुन सक्ने ठाँउ प्रशस्तै छन् त्यसैले चाहे अर्थमन्त्री हुन् वा धितोपत्र बोर्डका अध्यक्ष आफ्नो कार्यकाललाई त्यसतर्फ केन्द्रीत गरेर जस लिन सक्ने अवसर पनि प्रशस्तै रहेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।