नेप्से अनलाइन सफ्टवेयर भाग २,भुटानले सित्तैमा पाएको सफ्टवेयर फिर्ता गर्यो, किन ?

Feb 17, 2020 02:02 PM Merolagani

सुवास निराैला 

छिमेकी देशहरूका स्टक एक्सचेन्जहरूले प्रयोग गरेको सफ्टवेयरको बारेमा जान्नु भन्दा पहिले भुटान स्टक एक्सचेन्जले सफ्टवेयर जडान गर्दा भोगेको समस्याका बारेमा चर्चा गर्न आवश्यक छ ।

भुटानमा पनि एक मात्र स्टक एक्सचेन्ज छ । भुटानको शेयर बजार नेपालको भन्दा निकै सानो छ । रोयल सेक्युरिटी अफ भुटानले दोस्रो बजार चलाउँछ ।  सन् २०१८ को वार्षिक  विवरण अनुसार शेयर कारोबार गरेर रोयल सेक्युरिटीले अघिल्लो वर्ष १८ लाख रुपैयाँ मात्रै आम्दानी गरेको देखिन्छ ।

गत साताको त्यहाँकाे तथ्याङ्क अनुसार दोस्रो बजारमा २१ कम्पनी सूचीकृत छन् । त्यहाँ ६ वटा ब्रोकर कम्पनीले काम गर्छन् । उसले कल मार्केट चलाउँछ । कल मार्केट भनेको स्टकले तोकेको दिन मात्रै कारोबार गर्ने हो ।यही मार्केट अन्तर्गत उसले सातामा तीन दिन शेयर कारोबार गराउँछ तर पाँचै दिन आदेश दाखिला गराउन पाइन्छ । तर कारोबार भने सोमबार,बुधवार र शुक्रबार मात्रै हुन्छ ।रोयल सेक्युरिटीकाे कुल बजार पूँजीकरण करीव ५२ अर्व रुपैयाँ छ ।

केही वर्ष अघि उसले बजारलाई अटोमेसनमा लैजाने योजना बनायो । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीकालागि उसले विश्वका स्टक एक्सचेन्जहरूसँग सहकार्यको हात फैलायो । पाकिस्तानको इन्फो टेक भन्ने सफ्टवेयर कम्पनीले उसलाई सित्तैमा सफ्टवेयर दिने बतायो । तर एनुअल मेन्टिनेन्स चार्ज (एएमसि) भने तिर्नु पर्ने शर्त राख्यो । सित्तैमा पाउने भएपछि भुटानले खुशी हुँदै उक्त सफ्टवेयर लियो । उसले एएमसिको भने मतलवै गरेन । सफ्टवेयर करिब ५० करोड माथि मूल्य भएको थियो । विश्वमा चलन चल्तीको एएमसि चार्ज १० प्रतिशतदेखि २५ प्रतिशत सम्म हुने गर्छ ।

५० करोड रुपैयाँको कम्तीमा १० प्रतिशत मात्रै चार्ज जोड्दा पनि ५० लाख रुपैयाँ बुझाउनु पर्छ । फेरि आफू अनुकूल बनाउँदा सफ्टवेयर कम्पनीलाई चेन्ज मोडिफिकेसनको भिन्नै चार्ज तिर्नु पर्छ । अब भुटान स्टक एक्सचेन्जलाई हात्ती पाले बराबर भयो । उसको गत वर्षकै कुल आम्दानी २४ लाख रुपैयाँ छ भने उसको केही वर्ष अघिको आम्दानी अझै कम थियो । उसले वर्षको एएमसि चार्ज  ५० लाख रुपैयाँ भन्दा बढी तिर्नु परेपछि उसले हैरान भएर उक्त सफ्टवेयर इन्फो टेककै जिम्मा लगायो ।

रोयल सेक्युरिटीले हाल आफ्नै देशको लोकल सफ्टवेयर कम्पनीले बनाएको सफ्टवेयर चलाउन थालेको छ ।  राम्रो र टेस्टेड सफ्टवेयर पाएर मात्र के भयाे र ? एएमसि तिर्न नसकेपछि आफ्नो कारोबार अनुसारको सफ्टवेयर जडान गर्नु पर्ने बाध्यतामा राेयल सेक्युरिटी पुग्याे । अहिले लोकल सफ्टवेयरले काम गरिरहेको छ ।

श्रीलङ्काको कोलम्बो स्टक एक्सचेन्जको कथा पनि उत्तिकै  रोचकै छ । कोलम्बो स्टक एक्सचेन्जले बजार अटोमेशन गर्ने भयो । उसले पनि धेरै देशबाट अनेकाैँ सफ्टवेयरको प्रस्ताव पायो । तर उसको वार्षिक आम्दानीले सफ्टवेयरको एमसि तिर्नै कठिन हुने देखियो । अन्त्यमा उसले पनि आफ्नै देशको सामान्य सफ्टवेयर निर्माण गर्ने कम्पनी मिलिनियम टेक्नोलोजीलाई जिम्मा दियो । उसले निर्माण गरेको सफ्टवेयर कोलम्बो स्टक एक्सचेन्जले चलाउन सुरु गरेपछि मिलिनियमको व्यापार तीव्र गतिमा जान थाल्यो  । सामान्य सफ्टवेयर बनाउने कम्पनीको प्रगति यति माथि उक्लियो कि उक्त कम्पनीलाई पछि लण्डन स्टक एक्सचेन्जले खरिद गर्‍यो । हाल उसले निर्माण गरेका स्टकसँग सम्बन्धित बाहेकका सफ्टवेयर लण्डन स्टकले बेच्ने गरेको छ ।

  • अब  भारतमा हेराैं

भारतमा दुई स्टक एक्सचेन्ज प्रख्यात छन् । बम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज । बम्बई स्टक एक्सचेन्ज निजी क्षेत्रको हो भने नेशनल सरकारी लगानीमा खुलेको कम्पनी हो । बम्बई स्टकले जर्मनीको डायचे बोरसे भन्ने जर्मनीको ग्रुपसँग सम्झौता गर्‍यो । उनीहरूबीच एक आपसमा प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता भए । यही सम्झौता अनुसार उनीहरूले अहिलेसम्म काम गरिरहेका छन्।दुवैले सफ्टवेयर साझा चलाउँछन् । उसले आफ्नै देशमा बनेको 'बिएससि इलेक्ट्रोनिक स्मार्ट ट्रेडर्स' भन्ने सफ्टवेयर पनि चलाउँछ ।उसले सबै किसिमका सुविधा उपलब्ध गराउँछ । म्याचिङ इन्जिन भने दुबैले एकै चलाउँछन् ।

यता नेशनल स्टक एक्सचेन्ज ग्रुपको १० वटा आफ्नै कम्पनी छ । उसको क्लियरिङ हाउसदेखि एकाडेमी, डाटा एण्ड एनालाइटिक्सदेखि एनएससि इन्फो टेक भन्ने आफ्नै सफ्टवेयर कम्पनी नै छ । उसले आफ्नै सफ्टवेयर कम्पनीले निर्माण गरेको सफ्टवेयर चलाउँछ । अन्य देशलाई समेत उक्त सफ्टवेयर बिक्री गर्छ ।

सबै देशले प्राय आफ्नै देशका कम्पनीका सफ्टवेयर चलाएका छन् । उनीहरूले विदेशी सफ्टवेयर चलाउँदा वार्षिक मर्मत चार्ज महङ्गो परेको कारण, लागतका हिसाबले, आफ्नो देश अनुसारको कारोबार पद्धतिको लागि, प्याकेज सफ्टवेयर  महङ्गो परेका कारण थोरै कारोबार हुने स्टक एक्सचेन्जले धेरै मूल्यका सफ्टवेयर राख्न नसकेको देखिन्छ ।

पाकिस्तानको स्टकले त्यहीँको इन्फो टेकले बनाएको सफ्टवेयर चलाउँछ । जसले भुटानलाइ सित्तैमा दिएको थियो । 

  • अब जानौँ किन स्टकमा अटोमेसन गरिन्छ ?

विश्व भरिनै स्टक एक्सचेन्जमा दोस्रो बजारको कारोबारलाइ व्यवस्थित गर्न अटोमेसन गरिन्छ । हाम्रो नेपालमा पनि सुरुवाती चरणमा ओपन क्राइ सिस्टम थियो । अर्थात् कराएर शेयरको मूल्य पार्टीमा लेख्ने । तर एक दुई जना मान्छे भए पो बोर्डमा लेखेर पार लाग्छ । एकै पटक हजारौँ मान्छेको खरिद बिक्री आदेश त बोर्डमा मान्छेले लेखेर सक्दैन । त्यो सम्भव पनि छैन । हो,त्यसको रेकर्ड राख्न अब सिस्टम चाहियो । त्यसैकोलागि विश्व स्तरको फर्मूला चाहियो । त्यो फर्मूला विश्वमा एउटै छ । संसारका सबै स्टक एक्सचेन्जले त्यही फर्मूला प्रयोग गर्छन् । त्यो कतै परिवर्तन हुँदैन । त्यसको विश्व स्ट्याण्डर्ड छ । त्यो भनेको प्राइस एन्ड टाइम हो । त्यो भनेको बेच्नेले बढी मूल्यमा बेच्न सकोस् । किन्नेले सस्तोमा किन्न पाओस् । त्यो पनि समयको आधारमा । कसैलाई घाटामा शेयर बिक्री गर्नु नपरोस् । यसले फेयर डिसिजन गरोस् भन्ने हो । हो  त्यही भएर अटोमेशन गर्नु परेको हो । त्यकालागि सक्नेले महङ्गो सफ्टवेयर जडान गर्छन् भने नसक्नेले आफ्नो आवश्यकता अनुसार आफै टेलर मेड बनाउँछन् ।

आवश्यकता अनुसार बनाउँदा आफ्नो नीति नियम अनुसार बनाउन सकिन्छ । धेरैवटा काम गर्ने धेरै वटा सफ्टवेयर हुन्छन् । सबै एकै पटक रेडिमेड खरिद गर्न पनि सकिन्छ भने आफ्नो आवश्यकता अनुसार पनि खरिद गर्न सकिन्छ । तर अरूको रेडिमेड किन्दा सफ्टवेयरको सोर्स कोड, बनाउने कम्पनीसँगै हुन्छ । पछि आफूलाई केही परिवर्तन गर्नु पर्‍यो भने उनीहरूलाई भन्नु पर्ने हुन्छ । त्यसको बेग्लै पैसा तिर्नु पर्छ । जस्तै हामीले चलाएको वर्ड भन्ने एकप्लिकेशनमा केही फिचर हामीले  थपघट गर्ने हो भने माइक्रो सफ्टलाइ भन्नु पर्छ । त्यो सम्भव हुन निकै गाह्राे छ ।

यसैले धेरै जसोले आफैले बनाउनुको कारण आफूले बनाएको सफ्टवेयरको सोर्स कोडको अधिकार आफैँसँग हुन्छ । पछि केही चेन्ज गर्नु पर्‍यो भने सजिलै गर्न सकिन्छ । टेलर मेड बनाउन सकिन्छ ।टेलर मेड भनेकाे आफ्नो जीउ अनुसार नापेर लुगा सिलाउनु भन्ने अर्थ हाे । त्यसैले रेडिमेड भन्दा टेलर्समै सिलाएको मिल्ने भएकोले धेरै जसो स्टक एक्चेन्जहरुले  टेलर मेड सफ्टवेयर चलाएका हुन् । यहाँ रेडिमेड राम्रो हुँदैन भन्न खोजिएकाे पक्कै होइन । त्यो महँगो र आफू अनुकूल नहुन सक्ने भएकोले  टेलर मेड रोजिएको हो भन्न खाेजिएकाे हाे । धेरै आम्दानी हुनेले त  रेडिमेड नै किन्न सक्छन् । 

नेपाल स्टक एक्सचेन्जले जडान गरेको सफ्टवेयर कस्तो हो ? कसले बनाएको हो ? बनाउने कम्पनी कस्तो हो ? अर्को भागमा  ।          

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।