प्रोफिट बुक गर्न थाले लगानीकर्ता, हिमालयन डिष्टिलरीको शेयरमूल्यमा सर्किट

Feb 13, 2020 03:36 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। कारोबारको अधिकांश समय सकारात्मक रहेको नेप्से, अन्तिम समयमा घटेको हो।

यस दिन कारोबारको साढे तीन घण्टासम्म सकारात्मक रहेको नेप्से, अन्तिम आधा घण्टामा घटेको हो। अल्पकालीन लगानीकर्ताहरु प्रोफिट बुक गर्नतर्फ लागेपछि बजार करेक्सन भएको हो।

पछिल्ला तीन कारोबार दिन नेप्से निरन्तर बढेर बन्द भएको थियो। यस दिन पनि कारोबारको अधिकांश समय बजार सकारात्मक रहेपछि अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेको एक ब्रोकरले बताए। यस दिन बजारमा सामान्य करेक्सन भएपनि आगामी साता बजार पुनः सकारात्मक दिशामा अघि बढ्ने उनको भनाइ छ।

अधिकांश सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। कम्पनीहरुको नाफामूलक वित्तीय विवरणले लगानीकर्ताहरुको मनोबल बढाएको छ। यसका साथै पछिल्लो समय धितोपत्र बजार विस्तार तथा सुधारका कार्यले गति लिएपछि लगानीकर्ताहरु मनोबल झन् बढेको छ।

नेप्से परिसूचक यस दिन १.३९ अंक घटेर एक हजार ३४४.५९ विन्दुमा झरेको छ। यस दिन नेप्से ओरालो लागेपनि कारोबार रकम भने बढेको छ। बिहीबार १७२ कम्पनीको १७ हजार ६९८ पटकको कारोबारमा १ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ बराबरको ३७ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी अगाडि रहेको छ। सो कम्पनीको यस दिन १२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब १० करोडको शेयर किनबेच भएको छ भने एशियन लाइफको साढे ६ करोडबराबरको शेयर कारोबार भएको छ।

यस दिन हिमालयन डिष्टिलरीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२२ रुपैयाँ बढेर एक हजार ३५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, गणपति माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ८.९३, राधी विद्युत कम्पनीको ७.४८ र एनएलजीको ६.४० प्रतिशत बढेको छ।

बिहीबार १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत बढेको छ। त्यसैगरी, उत्पादन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ।

नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य यस दिन ५.१० प्रतिशत घटेको छ भने ओरियन्टल होटल, कालिका पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।