नेटिङकाे माग गदै लगानीकर्ता भन्छन्, ब्रोकरलाई नेटिङ, हामीलाई 'नथिङ'

Feb 14, 2020 10:02 AM merolagani

रविन पौडेल

लामो समयदेखि ब्रोकर कम्पनीलाई नेटिङको सुविधा दिएको तर लगानीकर्तालाई भने उक्त सेवाबाट वञ्चित गरिएको भन्दै लगानीकर्ताले गुनासो गरेका छन् । नेटिङ सुविधा नदिएकै कारण छिटो छिटो  लगानी गर्न नपाएको भन्दै लगानीकर्ताले गुनासो गरेका हुन् ।

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले ब्रोकर कम्पनीलाई नेटिङ सेवा दिएको भए पनि लगानीकर्तालाई  नदिएपछि उनीहरूले कसैलाई काखा र कसैलाई पाखा गरिएको आरोप लगाएका हुन् । ब्रोकर कम्पनीले पाएको उक्त सुविधा क्लाइन्ट लेभलमै(लगानीकर्ताकै तहमा)  ल्याउनु पर्ने पूँजी बजार लगानीकर्ता सङ्घका अध्यक्ष उत्तम अर्यालले बताए ।

अर्थमन्त्री युवराज खतिवडाले समेत छिटो छिटो कारोबार गरेर नाफा कमाउन सुझाएका छन् । तर छिटो छिटो कारोबार गर्ने पद्धति  रोकिएकोमा भने लगानीकर्ताको गुनासो छ। 'एकातिर छिटो छिटो कारोबार गर भनेर हौसला दिने उता कारोबारमा भने खुट्टा बाँध्ने प्रवृत्ति ठिक भएन' अर्का लगानीकर्ताले भने ।

लगानीकर्ताले शेयर खरिद गरेकै भोलिपल्ट पैसा तिर्नु पर्ने तर बेचेको शेयरको पैसा लिन भने तीन दिन कुर्नु पर्ने स्थिति रहेको अर्यालले बताए। किनेको र बेचेको शेयरको हिसाब गरेर बाँकी रहेको पैसा लिने पद्धति नेटिङ सिस्टम लगानीकर्ताको तहमा दिए त्यसले कारोबारीलाई फाइदा हुनुको साथै कारोबार रकम बढ्न समेत टेवा पुर्‍याउने अर्यालले बताए ।

ब्राेकर कम्पनीलाई समेत त्यसले फाइदा पुर्‍याउने अर्यालको तर्क छ । किनकि धेरै कारोबार गर्दा ब्रोकर कमिसन बढी उठ्छ भने किनेको र बेचेको शेयरको समेत नेटिङ गर्न पाउँदा उनीहरूले तिर्नु पर्ने रकम समेत कम हुने उनले बताए।

तर सिडिएससिका प्रवक्ता सुरेश न्यौपानेले रकममा मात्रै नेटीङ सुविधा दिन सकिने भएकोले शेयरमा यस्तो सुविधा नदिएको बताए।  ब्रोकर कम्पनीसम्म मात्रै नियमनको अधिकार हुने भएकोले त्यो सुविधा रकमको नेटिङ गर्न दिएको न्यौपानेको भनाइ छ । न्याैपानेका अनुसार याे सुविधा दिनै नसकिने भने हाेइन। सुविधा उपलब्ध गराउनै पर्ने निर्देशन आए नीति नियम र पूर्वाधार तयार गर्नु पर्ने हुन्छ, न्याैपाने भन्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचलनमा रहेको नेटिङ सुविधा दिए लगानीकर्ताले शेयर बिक्री गरेको र किनेको हिसाब गरेर बाँकी रहेको रकम मात्रै तिर्न सक्छन् । जसले बजार थप चलायमान हुने लगानीकर्ताहरू बताउँछन् । 

  • नेटिङ भनेको के हो?

नेटिङ दुई वा दुईभन्दा बढी कारोबारमा गरिने सन्तुलन हो। धेरै कारोबार गर्दा खरिद र बिक्रीबिच गरिने ब्यालेन्स अर्थात् कारोबारमा संलग्न दुई वा दुईभन्दा धेरै पार्टीहरूबिच गरिने ब्यालेन्स हो।

उदाहरणका लागि कुनै लगानीकर्ताले एकै दिन दोस्रो बजारबाट १२० रुपैयाँको कुनै कम्पनीको शेयर खरिद गर्‍यो र १०० रुपैयाँको कुनै कम्पनीको शेयर बिक्री गर्‍यो भने उसले २० रुपैयाँमात्र तिर्नु पर्ने गरी गरिने ब्यालेन्सलाई नै नेटिङ भनिन्छ।

धेरै देशहरूमा नेटिङ प्रणाली अवलम्बन गरेको पाइन्छ। नेटिङ शेयर बजारको कारोबारमा मात्र नभई अन्य कारोबारहरूमा समेत लागू गर्न सकिन्छ।

  • नेटिङ लागु गर्दा के फाइदा?

नेटिङ बैङ्क तथा वित्तीय संस्थाको कारोबार मात्र नभएर धेरै क्षेत्रमा हुने कारोबारहरूमा लागू गर्न सकिन्छ। शेयर बजारमा नेटिङले बजारलाई थप चलायमान बनाउन सहयोग पुर्याउछ। नेटिङले लगानीकर्ताहरूलाई शेयर बजारप्रति आकर्षित गर्छ भने कारोबारलाई स्वतः स्फूर्त रूपमा चलायमान बनाउँछ। नेटिङले क्रेडिट जोखिमलाई घटाउन मद्दत गर्छ। त्यस्तै यसले कारोबारको सेटलमेन्टलाई सहज बनाउँछ भने पैसाको कम भुक्तानी हुने हुँदा तरलता समेत सहज गर्छ।

यसबाट दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले थोरै पूँजी भए पनि धेरै कारोबार गर्न सक्छन्। आफूले खरिद गरेको शेयर र बिक्री गरेको शेयरको ब्यालेन्स गरी नपुगेको पैसा मात्र तिर्नुपर्ने भएपछि लगानीकर्ता कारोबारमा थप प्रोत्साहित हुन्छन्।

नेटिङले भुक्तानीको लागि हुने कारोबार संख्यालाई समेत घटाउँछ। हरेक कारोबारमा भुक्तानी गर्नुपर्ने शेयर धनीले एउटै भुक्तानीमा शेयर कारोबार गर्न सक्छन्। यसले लगानीकर्ताको समय समेत बचत हुन्छ। जस्तो कि लगानीकर्ताले कुनै कम्पनीको २ हजारको र अर्को कम्पनीको ५ हजारको शेयर किन्यो र १ हजार, २ हजार र ३ हजारको शेयर पटक पटक गरी बेच्दा उसले एकै पटकमा १ हजार रुपैयाँ मात्र भुक्तानी गर्दा हुन्छ।

  • नेपालमा किन लागु गर्ने?

लगानीकर्तालाई सहज भुक्तानीको नेटिङ लागू गर्नु जरुरी रहेको देखिन्छ। नेटिङ लागु गर्दा लगानीकर्ता पटक पटक गरिरहनुपर्ने भुक्तानीकाे झन्झटबाट मुक्त हुनेछन् भने एकैपटकमा रकम लिन वा दिन सक्छन्।

सानो पूँजी भएका लगनकर्ताको लागि नेटिङ अझै प्रभावकारी हुन सक्छ। साना पूँजी भएका लगानीकर्ताहरूलाई बजारमा कारोबार गर्न पूँजीको अभाव कम हुन्छ  भने कारोबारलाई समेत बढाउँछ।

शेयर बजार घट्दा कतिपय लगानीकर्ता घाटामा शेयर बेच्न नचाहने र थप शेयर खरिद गर्ने पैसा समेत नहुँदा उनीहरू शेयर कारोबार नै नगरी बस्छन्। तर नेटिङको सुविधाले यस्तो अवस्थामा समेत लगानीकर्तालाई शेयर कारोबारमा प्रेरित गर्छ।

अन्तर्राष्ट्रिय परिवेशलाई हेर्ने हो भने धेरै देशहरूमा नेटिङ लागू गरेको देख्न सकिन्छ। अहिलेको अर्थतन्त्रमा नेटिङ सामान्य भइसकेको छ। हरेक देशमा नेटिङ प्रभावकारी हुँदै गएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।