वाणिज्य बैंकहरुको अर्धवार्षिक नाफा वृद्धिदर पछिल्लो ४ आर्थिक वर्षकै न्यून, कारण यस्ताे

Feb 21, 2020 04:32 PM Merolagani

-प्रत्येक अवाले

वाणिज्य बैंकहरुको नाफा वृद्धिदर चार वर्ष यताकै न्युन देखिएको छ। बैंकहरुले आर्थिक वर्षको पहिलो ६ महिनामा कमाएको नाफाको समीक्षा गर्दा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा वृद्धिदर सबैभन्दा कम देखिएको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले कुल ३३ अर्ब २० करोड खुद नाफा कमाएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७४ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा उनीहरुको नाफा २४ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो। आर्थिक वर्ष २०७५/७६ को पहिलो ६ महिनामा यिनै बैंकहरुको खुद नाफा ३३.९२ प्रतिशत बढेको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७४/७५ सोही अवधिसम्ममा बैंकहरुको खुद नाफा वृद्धिदर १०.४० प्रतिशत र आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्ममा ४३.७० प्रतिशत रहेका थियो।

बैंकिङ्ग क्षेत्रमा भएको तिव्र प्रतिस्पर्धा र खर्च बढेका कारण बैंकहरुको खुद नाफा वृद्धिदर घट्न पुगेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए। ‘बैंकिङ्ग क्षेत्रमा अहिले कडा प्रतिस्पर्धा छ। पहिला शहरमा मात्र यस्तो प्रतिस्पर्धा थियो तर, अहिले गाउँगाउँमा पनि प्रतिस्पर्धा बढेको छ’, सानिमा बैंकका सिईओ समेत रहेका बैंकर्स संघका अध्यक्ष दहालले भने। ‘यसका साथै वाणिज्य बैंकहरुले अघिल्ला आर्थिक वर्षको तुलनामा धेरै शाखा विस्तार गरेका छन् जसका कारण बैंकको खर्च बढ्न गई नाफा प्रभावित भएको हो’, उनले थपे।

यस आर्थिक वर्ष शुरु भएदेखि नियामक निकायले विभिन्न क्षेत्रमा गरेको कडाईका कारण पनि खुद नाफा वृद्धिमा प्रभावित भएको उनको भनाइ छ।

चालु आर्थिक बर्षको प्रारम्भमै बैंक वित्तीय संस्थाको ऋणमा कडाइ गरिएको थियो। बैंक तथा वित्तीय संस्थामा बुझाउने कागज पत्र र कर कार्यलयमा बुझाउने वासलात एउटै हुनु पर्ने नियम केन्द्रिय बैंकले अघि सारेको थियो। जसले ठुला ऋण प्रवाह प्रभावित भएको थियो भने पछिल्लो समय मझौला ऋणिलाई समेत कर चुक्ता प्रमाणपत्रको आधारमा मात्रै ऋण लिन पाइने व्यवस्था आएपछि बैकिङ कारोबार थप सुस्ताएको हो। यतिबेला बैकिङ च्यानलभन्दा बाहिरी कारोबार बढेको छ। इनफरमल इकोनमि बढेसँगै बैंकको नाफामा संकुचन आएको हो। करका कारण बैंकभन्दा व्यक्तिगत कारोबार बढेपछि यतिबेला निक्षेप तथा कर्जाको मागको वृद्धिदर सुस्ताएको छ। निक्षेप र कर्जाको दर नै सुस्ताएपछि नाफा प्रभावित भएको हो।   

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १९ बैंकहरुको खुद नाफा बढेको छ भने बाँकी बैंकहरुको खुद नाफा घटेको छ। समीक्षा अवधिमा एनएमबि बैंकको खुद नाफा वृद्धिदर अन्य बैंकहरुको तुलनामा बढी रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सो बैंकको खुद नाफा ४७.४० प्रतिशत बढेको हो।

स्रोतः बैंकहरुले प्रकाशित गरेको सम्बन्धित त्रैमासको अपरिष्कृत वित्तीय विवरण

सबैभन्दा कम नाफा वृद्धिदर नेपाल बङ्गलादेश बैंकको रहेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा १.८२ प्रतिशत मात्र बढेको छ। ग्लोबल आइएमई बैंकसँग मर्ज भएको जनता बैंकलाई गणना नगर्ने हो भने नेपाल बैंकको खुद नाफा अन्य बैंकहरुको तुलनामा सर्वाधिक १८.६० प्रतिशत घटेको छ।

पछिल्लो ४ आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको औषत खुद नाफा वृद्धिदर अन्य बैंकहरुको तुलनामा बढी रहेको छ। यस बैंकको चार आर्थिक वर्षको पहिलो ६ महिनाको खुद नाफा वृद्धिदर ९९.८२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा बैंकको नाफा ३५६.७४ प्रतिशत बढेका कारण औषत खुद नाफा बढ्न पुगेको हो।

सबैभन्दा कम औषत नाफा वृद्धिदर भने नबिल बैंकको देखिएको छ। सो बैंकको पछिल्लो ४ आर्थिक वर्षको पहिलो ६ महिनाको औषत खुद नाफा वृद्धिदर ११.६९ प्रतिशत रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।