राष्ट्र बैंकको नियमनमा बल्ल आउन थाले बैंकहरु,निर्देशन अनुसार सूचकहरु कायम गर्दै

Mar 12, 2020 06:41 PM merolagani



रबिन पाैडेल

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको माैद्रिक नीतिमा ब्यवस्था गरेअनुसार वित्तीय सूचकहरु कायम गर्न वाणिज्य बैंकहरु अघि बढेका छन्। आगामी ४ महिनाभित्र मौद्रिक नीतिले ब्यवस्था गरे अनुसारको वित्तीय सूचकहरु कायम गर्नुपर्ने बाध्यतामा रहेका बैंकहरुले त्यसतर्फ ध्यान केन्द्रित गर्न थालेका हुन । 

केन्द्रिय बैंकले सार्वजानिक गरेको तथ्याङ्क अनुसार छैठौै महिनासम्म बैंकहरुले वित्तीय सूचक सुधारमा खासै ध्यान दिएका थिएनन् ।तर सातौं महिनामा आएर भने बैंकहरु सूचक सुधारमा  अघि बढेका छन्। राष्ट्र बैंकले माैद्रिक नीतिको अर्धवार्षिक समिक्षामा समेत कुनै लचकता नअपनाएपछि बैंकहरु वित्तीय सूचक कायम गर्नेतर्फ अघि बढ्नुपर्ने बाध्यतामा परेका हुन्।

बैंकहरुले पछिल्लो समय कुल निक्षेपमा कल डिपोजिटको हिस्सा घटाएका छन्। २७ वटा वाणिज्य बैंकहरुले पुस मसान्तको तुलनामा कल डिपोजिटको हिस्सा औषतमा ०.३५ प्रतिशतले घटाएको राष्ट्र बैंकको प्रकाशित गरेको माघ महिनाको बिवरणमा देखिएको छ । 

चालु आर्थिक वर्षको माघ मसान्तमा बैंकहरूको अन्य सबै खाताको निक्षेप घटेको  छ ।तर मुद्धतिको निक्षेप बढ्दा बैंकहरुको समग्र निक्षेप संगलन ०.२१ प्रतिशतले बढेको छ। बैंकहरुको मुद्धति निक्षेप १.६६ प्रतिशतले बढेको छ भने चल्ती र बचत खाताको निक्षेप क्रमश ४.०७ र ०.५५ प्रतिशतले घटेको छ। सातौं महिनासम्ममा २७ वटा वाणिज्य बैंकको कल डिपोजिटमा ३ खर्ब ३५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा यस्तो निक्षेप ३ खर्ब ३७ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।

गत पुस मसान्तसम्ममा २४ प्रतिशत कल डिपोजिट रहेको एनसिसि बैंकले उक्त अनुपातलाई घटाएर १९ प्रतिशतमा झारेको छ। केही बैंकले कल डिपोजिटको हिस्सा बढाएपनि ठूला बैंकहरुले भने उक्त हिस्सा घटाएर राष्ट्र बैंकले तेाकेको अनुपातकै हाराहारीमा ल्याइसकेका छन्।

यस अवधिमा बैंकहरुको औषत कर्जा निक्षेप अनुपात ७७.३१ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १३.७१ प्रतिशत कायम गरेका छन्। यी सूचकहरु भने राष्ट्र बैंकको निर्देशन अनुसार नै छन्।

प्राथामिता प्राप्त क्षेत्रमा कर्जा प्रवाह केही बढाएका छन तर नेपाल राष्ट्रै बैंकले तोकेअनुसारको लक्ष्य भने अझै कायम गरेका छैनन्।वाणिज्य बैंकहरुले अन्य सूचकहरुमा केही सुधार गरेपनि स्प्रेड रेटमा भने अझै अटेरी देखिएका छन्। बैंकको नाफा घट्ने डरले सातौं महिनासम्म बैंकहरु स्प्रेड रेट घटाउने पक्षमा देखिएका छैनन्।

  • निक्षेप संकलन र कर्जा प्रवाह थोरै बढ्यो

त्यसैगरी बैंकहरुको कर्जा प्रवाह पनि केही बढेको छ। चालु आर्थिक वर्षको सातौं महिनासम्ममा बैंकहरुले ३० खर्ब ६८ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरीे २७ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पुस मसान्तको तुलनामा बैंकहरूको कर्जा प्रवाह ०.४२ प्रतिशतले बढेको हो।

यस अवधिमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २ खर्ब ८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरी १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।त्यसैगरी सिभिल बैंकले सबैभन्दा थोरै ५० अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

  • कुन बैंकको निक्षप र कर्जा कति?

 

(नाेटः रकमलाई १० लाखमा देखाइएकाे छ)