सातामा साढे ५८ अंक घट्यो नेप्से

Mar 13, 2020 01:38 PM Merolagani



यस साता नेप्से परिसूचक ५८.५२ अंक अर्थात ४.०८ प्रतिशत घटेर एक हजार ३७७.१८ विन्दुमा पुगेर बन्द भएको छ।

पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन खुला रहेको बजारमा यस साता १८७ कम्पनीको ५५ हजार ६८१ पटकको कारोबारमा ५ अर्ब ५० करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड ४० लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।

साताको पहिलो दिन नारी दिवस र दोस्रो दिन होली भएका कारण बन्द रहेको नेप्से मंगलबारदेखि खुलेको थियो। बजार खुलेको पहिलो कारोबार दिनमा नै नेप्सेमा तीन पटक नकारात्मक सर्किट लागेर कारोबार अवधिभन्दा अगाडि नै बजार बन्द भएको थियो।

गत साताको पहिलो कारोबार दिनदेखि ओरालो लाग्ने क्रममा रहेको नेप्से तीव्र गतिमा झर्दा लगानीकर्ताहरु आत्तिएका थिए। विश्वभर फैलिएको कोरोनाको त्रासका कारण अहिले शेयरबजार घटिरहेको ब्रोकरहरु बताउँछन्। पछिल्लो समय कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने समाचारहरु बाहिरिएसँगै त्यसको नकारात्मक प्रभाव सबै देशका शेयरबजारमा देखिएको छ।

नेप्से परिसूचक ओरालो लागेसँगै कूल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन १८ खर्ब ३२ अर्ब रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम कारोबार दिन घटेर १७ खर्ब ६१ अर्बमा सीमित भएको छ।

यस साता सर्वाधिक अंक घट्नेमा जीवन बीमा उपसमूह परेको छ। सो उपसमूहको परिसूचक यस साता ४८९.२४ अंक घटेको छ। त्यसैगरी, यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक २३३.५३ अंक र होटलको ११३.९३ अंक घटेको छ।

यस साता कारोबार रकम र कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ भने शेयर संख्याका आधारमा एनएमबि बैंक अगाडि रहेको छ। यस साता नेपाल लाइफ इन्स्योरेन्सको २ हजार ७२४ पटकको कारोबारमा ५२ करोड ७ लाख रुपैयाँ बराबरको ४ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, एनएमबि बैंकको यस साता एक हजार ९९८ पटकको कारोबारमा २८ करोड ४३ लाख रुपैयाँ बराबरको ६ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस साताको मोस्ट पपुलर बाइ स्टक युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर लगायतका रहेका छन् भने पपुलर सेल स्टकमा स्वाभिमान लघुवित्त, सेन्ट्रल फाइनान्स, इन्फिनिटी लघुवित्त लगायतका रहेका छन्।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।