कोरोना भाइरस, विश्व अर्थतन्त्र र नेपाल

Mar 18, 2020 06:57 PM merolagani

डा.नीलम ढुंगाना तिम्सिना

कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक

चीनको वुहानबाट डिसेम्बर २०१९ देखि प्रारम्भ भएको मानिएको नोबल कोरोना भाइरस अहिले दक्षिण कोरिया, जापान, मध्यपूर्व, यूरोप, अमेरिका हुँदै विश्वभरि फैलिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ११० भन्दा बढी राष्ट्रहरूमा विस्तार भइसकेको यो भाइरसबाट १,१०,००० मानिसहरू संक्रमित भएको र उल्लेख्य संख्यामा मानिसहरूकाे मृत्यु भएका समाचारहरू सार्वजनिक भइरहेका छन् । चीन लगायत विश्वका अधिकांश मुलुकहरूमा स्कूल, कलेज, विश्वविद्यालयहरू बन्द भएका छन् । विमानस्थलहरू बन्द गरिएका छन् । विमान सेवाहरू बन्द गरिएका छन् । चीनले यो रोगको प्रारम्भ भएको शहरलाई सबैबाट सम्पर्क विच्छेद गरिसकेको छ । नेपालले समेत चीनको वुहानमा रहेका आफ्ना नागरिकलाई नेपाल फर्काई सकेको छ । कतार, बहराइन, कुवेतलगायत केही मुलुकहरूले नेपालीहरूलाई आफ्नो मुलुकमा आउन प्रतिबन्ध लगाइसकेका छन् । नेपालले पनि संक्रमित केही देशका नागरिकहरूलाई केही समयका लागि अन अराइभल भिसा दिन बन्द गरेको छ । भारतले हवाई मार्ग हुँदै आउने विदेशी नागरिकरूलाई आवागमनमा निश्चित अवधिको लागि प्रतिबन्ध लगाएको छ भने नेपालसँगका केही नाकाहरू पनि बन्द गरेको छ । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकट घोषणा गरेको छ । अमेरिकामा पनि संकटकाल लागेको छ । इटालीमा करोडौँ जनता क्वारेन्टाइनमा बसेका छन् । जताततै, यो भाइरसको चर्चा, सचेतता र निगरानी बढेको छ । विश्व मानव जीवन आक्रान्त हुनुका साथै आर्थिक अवरोधहरू बढेर गएका छन् ।

यसरी कोरोना भाइरसले विश्वव्यापी रूपमा मानव स्वास्थ्यमा असर पारिरहँदा विश्व अर्थतन्त्रमा चाहिँ यसको कस्तो असर परिरहेको छ त ? त्यस्तै, नेपालको अर्थतन्त्रमा कस्तो असर पर्नसक्छ ? त्यसको सामना गर्न के कस्ता उपायहरू अपनाउनु पर्ला ? आदि जिज्ञासाहरूउठ्नु स्वाभाविकै हो । अमेरिका र चीनको व्यापार युद्धजनित कर व्यवहार, ब्रेक्जिटसम्बन्धी अनिश्चितता र विश्वमा बढिरहको भूराजनीतिक तनावका कारण सुस्ताएर विस्तारै उठ्न थालेको विश्व आर्थिक वृद्धि र विश्व व्यापारले पुनः एक पटक चुनौतीको सामना गर्नुपरेको छ । विश्व अर्थतन्त्र र वित्तीय बजारका लागि भाइरस आउटब्रेक एउटा ठूलो चुनौतीको रूपमा खडा भएको छ । ओइसीडीलगायत धेरै विश्वव्यापी संस्थाहरू र बैंकहरूले विश्वको आर्थिक वृद्धिदरको लक्ष्यलाई घटाएर पूर्वानुमान गर्न थालेका छन् । ओइसीडी अन्तरिम इकोनोमिक आउटलुक फोरकास्ट (मार्च २, २०२०) का अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर सन् २०१९ को २.९ प्रतिशतको तुलनामा २.४ प्रतिशतमा झर्ने अनुमान गरेको छ । यो सामान्य अवस्थामा ३.३ प्रतिशत हुने पूर्वानुमान थियो । त्यस्तै, चीनको आर्थिक वृद्धिदर सन् २०१९ को ६.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । भारतको आर्थिक वृद्धिदर सन् २०२० मा ५.१ प्रतिशत रहने अनुमान छ ।

विश्व आपूर्ति चक्र, भ्रमण र वस्तु बजारमा चीनको मुख्य र बढ्दो भूमिकाका कारण चीनमा भएको आर्थिक संकुचन र उत्पादनमा आएको कमीलाई समग्र विश्व अर्थतन्त्रले अहिले महसूस गरिरहेको छ । यसका साथै विश्वका अन्य विभिन्न मुलुकहरूमा फैलिएको कोरोना संक्रमण, त्यसबाट सिर्जित लक डाउन र आर्थिक संकुचनको असरले समेत कुनै न कुनै रूपमा विश्व आर्थिक वृद्धि र व्यापारलाई प्रभावित पारेको छ । यसका साथै विश्वमा स्टक मूल्य र बण्डको प्रतिफल समेत घट्न थालेको छ ।

चीनले संक्रमित शहरहरूलाई लक डाउन गरी करौडौं मानिसको आवतजावत र आवागमनमा रोक लगाएको छ र व्यावसायिक क्रियाकलापको सञ्चालनमा समेत प्रतिबन्ध लगाएको छ । यसले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा सुस्ती ल्याउने निश्चित छ, जसले विश्व अर्थव्यवस्थामा समेत सुस्ती ल्याउने हुन्छ ।

भाइरस संक्रमित मुलुकहरूमा उद्योगधन्धा, कलकारखाना बन्द हुँदा उत्पादन घटेको छ भने त्यहाँका श्रमिक मजदुरहरूले विदा पाउँदा बेरोजगारी पनि बढेको अनुमान छ । मानिसहरूको आय घट्न थालेको छ । सरकारको राजस्व गुमेको छ । उपभोक्ताहरूले खुद्रा पसलहरू, डिपार्टमेण्टल स्टोरहरू, रेष्टुरेण्टहरू, भ्रमण, हवाईयात्रा आदिमा गर्ने खर्च ह्वात्तै घटेको कारण सेवा क्षेत्र पनि संकुचित हुन पुगेको छ । कोरोना भाइरस संक्रमणको मुख्य केन्द्र चीनको पर्चेजिङ्ग म्यानेजर इण्डेक्स (आर्थिक गतिविधिको एक मुख्य परिसूचक) २०२० को फेब्रुअरीमा ४०.३ मा झरेको छ भने सेवा क्षेत्रको यो परिसूचक १५ वर्ष यताकै न्यून अर्थात् २६.५ मा झरेको छ । चीन मात्र होइन कोरोना संक्रमित अधिकांश मुलुकहरू र चीनसँग व्यापारिक सम्बन्ध भएका सम्पूर्ण मुलुकहरूमा आर्थिक गतिविधिहरू संकुचित भएका छन् । उद्योग, कलकारखाना, यातायात, भ्रमण सबै बन्द हुँदा पेट्रोलियम पदार्थको माग कम हुन गई मूल्यमा भारी गिरावट आएको छ । विश्वको कुल पर्यटनको दश प्रतिशत र एशियाको २५ प्रतिशत अंश ओगट्ने चिनिया पर्यटकको आवागमन नहुँदा पर्यटन आय घट्ने देखिएको छ ।

यी सम्पूर्णं असरहरलाई न्यूनीकरण गर्दै विश्व अर्थतन्त्रलाई सुधारको दिशामा लैजान विभिन्न प्रयासहरू भएका छन् । कोरोना भाइरस संक्रमण रोक्नका लागि गरिने स्वास्थ्यसम्बन्धी उपचारात्मक र प्रतिरोधात्मक प्रयासहरू पहिलो र आधारभूत प्रयासहरू हुन् भने, अर्थतन्त्रलाई थप सुस्तीबाट जोगाउन नीतिगत दरमा कटौती गर्ने, अर्थतन्त्रमा तरलता प्रवद्र्धन गर्ने, परम्परागत मौद्रिक उपकरणहरूले मात्र सम्भव नभएमा परिमाणात्मक सहजीकरणलगायतका गैरपरम्परागत उपायहरू समेत अवलम्बन गर्ने, वित्त नीतिको भूमिका बढाउने जस्ता प्रयासहरू विश्व स्तरमा नै शुरू भइसकेका छन् ।

फेडरल रिजर्भ बैंकले कोरोना संक्रमण भएका यता आफ्नो नीतिगत दरमा पहिले ५० बेसिस प्वाइण्टले घटाई १ देखि १.२५ प्रतिशतमा झारेको थियो भने भर्खरै मात्र शून्यमा झारिसकेको छ । बैंक अफ इंगल्याण्डले पनि नीतिगत दरलाई ०.७५ प्रतिशतबाट ०.२५ प्रतिशतमा झारिसकेको छ । अन्य धेरै मुलुकहरूले पनि आफ्नो नीतिगत दरमा कटौती गरेका छन् । फेडरल रिजर्भले ट्रेजरी र मोर्टगेजमा आधारित सुरक्षण पत्रहरू खरिद गरी परिमाणात्मक सहजीकरण कार्यक्रम अघि सार्ने घोषणा गर्नुका साथै ७०० अर्ब डलर बराबरको स्टिमुलस कार्यक्रम समेत लागू गरेको छ । धेरै बैंकहरूको रिजर्भ रिक्वायरमेण्ट शून्यमा झारिदिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्ना १८९ सदस्य राष्ट्रहरूलाई कोरोना भाइरससँग जुध्न आवश्यक परेको खण्डमा ऋण सहयोग गर्न १ ट्रिलियन डलर परिचालन गर्ने घोषणा गरेको छ । भारतले नीतिगत दरमा कटौती गरिहालेको छैन । तथापि गैरपरम्परागत मौद्रिक उपायहरू र वित्त नीतिगत प्रयासहरूलाई सघन बनाएको छ । साथै, भारतले १ करोड डलरको क्षेत्रीय सहयोग कोष र २ अर्व डलरको स्वाप विण्डो खोलेको छ ।

  • नेपालमा पर्ने आर्थिक प्रभाव

कोरोना भाइरसका कारण आएको विश्वव्यापी प्रभावको हुरीबाट नेपाल मात्र अछुतो रहने भन्ने कुरा हुन सक्दैन । यहाँ पनि प्रभाव त अवश्य नै पर्दछ । नेपालमा चीनबाट उल्लेख्य परिमाणमा व्यापारिक मालवस्तुहरू आयात हुने गरेको सन्दर्भमा ती सामानहरूआउन नसक्दा पसलहरू बन्द हुने, कामदारहरूले विदा पाउने स्थिति भएको छ । चिनिया सहयोगमा सञ्चालित विकास आयोजनाहरूको काम, नयाँ वर्ष बनाउन चिनियाँ कामदारहरू फर्किन नसकेका कारण रोकिएको छ । सस्ता चिनियाँ सामानहरू आउन नसक्दा उपभोक्ताहरूको उपभोग खुम्चिएको छ भने अर्कातिर महँगीको मारमा परेका छन् । नेपाल भ्रमण गर्न आउने पर्यटकहरूको उल्लेख्य हिस्सा ओगट्ने चिनियाँ पर्यटकको आवागमन बन्द हुनाले पर्यटन आय न्यून हुने निश्चितै छ । नेपाल भ्रमण वर्ष २०२० स्थगित भएको छ । होटेल अकुपेन्सी १० प्रतिशतमा खुम्चिएको छ । होटेल, रेष्टुरेण्ट, हवाई यातायात क्षेत्रले ठूलो नोक्सानी व्यहोरिरहेका छन् । कच्चा पदार्थको अभाव र मजदूरहरूको आवागमन बन्द हुनाले उत्पादन घट्न थालेको छ । अर्कातिर, अनिवार्य वस्तुवाहेकको अन्य वस्तुहरूको माग पनि कम हुन थालेकोले पनि उत्पादन र व्यापार दुबै सुस्त हुन थालेको अनुमान छ । अतः कोरोना भाइरस आउटब्रेकले गर्भमा आर्थिक सुस्ती पनि सँगै लिएर आएको आभास भएको छ ।

मध्यपूर्वका मुलुकहरूमा उल्लेख्य संख्यामा नेपाली कामदारहरू काम गर्न जाने गरेकोमा अहिले कतार, कुवेत, बहराइन लगायत मुलुकहरूले नेपालबाट कामदारहरू नलिने घोषणा गरेपश्चात् नेपालको वैदेशिक रोजगारीमा धक्का लागेको छ । यसबाट भविष्यमा प्राप्त हुने विप्रेषण आव्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिन्छ । संक्रमित सवै मुलुकहरूबाट पर्यटक नआउने हुनाले सो आय घट्ने, संक्रमित मुलुकहरूको आफ्नै आर्थिक संकुचनको कारणले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, ऋण र अनुदानमा कटौती हुने हुन सक्छ । भारतीय आर्थिक सुस्तीको नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव त झनै टड्कारो छ । डलरको मूल्य बढ्नाले आयात मूल्य बढ्ने त छंदैछ । मुलुकमा कोरोनाको संक्रमण कसैलाई भएको प्रमाणित नभए पनि संक्रमण होला कि भन्ने त्रासको कारणले लक डाउन होला भन्ने भयले मानिसहरूमा सामान धेरै किनेर सञ्चय गर्ने प्रवृत्ति बढेर गएको छ । यसले कालोबजारी र कृत्रिम अभाव बढेर गएको छ । महँगी समेत बढेको छ ।

नेपालीको अहोभाग्य नै हो भन्नु पर्दछ कि विश्व नै कोरोनाग्रस्त भइसक्दा पनि नेपालमा संक्रमण फैलिएको छैन । नेपाली नमस्कार संस्कृति, जवान जनशक्तिको बाहुल्यता, घरमा खाना पकाएर खाने संस्कार, अधिकतर पानी उमालेर पिउने बानी र तुलनात्मक रूपमा बलियो रोग प्रतिरोधात्मक शक्ति आदिको कारणले नेपाल हालसम्म सुरक्षित नै रहेको हुनसक्छ । तथापि यहाँ पनि ढुक्क हुनसक्ने स्थिति छैन । यसका लागि सर्वसाधारण, नागरिक समाज, निजी क्षेत्र र सरकार सबैको संयुक्त प्रयासको आवश्यकता पर्दछ । कोरोना संक्रमणको. सम्भावनालाई रोक्न, प्रतिरोध गर्न र उपचार गर्न सरकारले त पक्कै पनि सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्छ, गर्दैछ र गर्नेछ । यसमा सबैले आ–आफ्ना क्षमताले भ्याएसम्म आर्थिक, सामाजिक र नैतिक सहयोग र समर्थन गर्नुपर्ने र विपदको बेला एकजुट हुनुपर्ने आवश्यकता छ । स्वास्थ्यसम्बन्धी प्रयास पहिलो दर्जामा आउँछ ।

आर्थिक रूपले नेपाली अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावहरूलाई निस्तेज पार्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिमा भाइरस संक्रमणबाट आर्थिक रूपले प्रभावित क्षेत्रहरूलाई सहुलियत दरमा कर्जा दिने, पुनरकर्जा सुविधा दिने घोषणा गरेको छ ।

पर्यटकहरूको आगमन स्वात्तै घट्नाले होटेल अकुपेन्सी ८० प्रतिशतबाट ४० प्रतिशतमा झरेको छ । होटेलहरूले बैंकबाट लिएको उल्लेख परिमाणको ऋण तिर्न कठिनाई पर्ने देखिएको छ । बैंकहरूमा होटेल, पर्यटन र जलविद्युत क्षेत्रमा प्रवाह गरेको ठूलो परिमाणको कर्जा निष्क्रिय हुने अनुमान गर्न थालिएको छ । चीनबाट कच्चा पदार्थ आयातमा कमी आउनाले नेपालको औषधी व्यवसायमा असर परेको छ । यी सम्पूर्ण कारणहरूले सरकारलाई प्राप्त हुने राजस्व पनि घट्न जाने देखिएको छ । वार्षिक बजेटमा अनुमानित ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्न चुनौतिपूर्णं देखिएको छ ।

उद्यमी, व्यवसायीहरूले पनि सुस्ताएको उद्योग व्यवसाय क्षेत्रलाई माथि उठाउन विभिन्न मागहरूसरकारसमक्ष राखेका छन् । यस्तो अवस्थामा मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले निश्चित अवधिका लागि ब्याजदर कम गरिदिने, प्रभावित उद्योग व्यवसायका बैंक कर्जाहरूको साँवा ब्याज तिर्ने समय अवधि बढाई दिने, कर्जा पुनसंरचना, पुनरतालिकीकरण गर्ने सुविधा दिने, सहुलियत दरमा पुनरकर्जा दिने, निर्देशित कर्जा कार्यव्रmम, लघु वित्तलाई अझ बढी सघन बढाउने जस्ता उपायहरू अवलम्बन गर्न सक्छ । कतिपय अवस्थामा परिमाणात्मक सहजीकरणका उपायहरू पनि अवलम्वन गर्नसक्छ । तर यस्तो सहयोग निश्चित समयका लागि मात्र हुनु पर्दछ ।

मौद्रिक अधिकारीको रूपमा केन्द्रीय बैंकले गर्ने सपोर्टका प्रयासहरू यस्तो अवस्थामा संक्रमणजन्य आर्थिक सुस्तीसँग जुध्न अपर्याप्त हुन सक्छन् । अन्य मुलुकहरूको अनुभवबाट पनि यस्तो अवस्थामा सरकारले वित्त नीतिलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने हुन्छ । कृत्रिम अभाव, कालोबजारी नियन्त्रण, आपूर्ति व्यवस्थामा सुनिश्चितता, जनतालाई ढाढस, सान्त्वना, आफूले अथक प्रयास गरिरहेको महसूस गराउने प्रयास, कर कटौती, सरकारी खर्चमा वृद्धि आदितर्फ जोड दिनु आवश्यक छ । स्यानिटाइजर, मास्क निःशुल्क वितरण, क्वारेन्टाइनको व्यवस्था, दक्ष जनशक्ति र संक्रमण परीक्षणको सुलभ र सहज व्यवस्था आदि हुनु आवश्यक छ । वित्त स्थिरक उपायरूले यस्तो संकटसँग जुध्न प्रत्यक्ष किसिमको प्रभावकारी भूमिका खेल्ने हुनाले त्यसको अहम् महत्व हुन्छ ।

बादलभित्र पनि चाँदीको घेरा हुन्छ भने झैं अहिलेको अवस्थालाई केही सकारात्मक रूपबाट पनि मूल्यांकन गर्न सकिन्छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएबाट नेपालमा पनि तेलको मूल्यमा कमी आउँछ । यसबाट महँगी नियन्त्रण गर्न सहज हुन्छ । मास्क उत्पादन गरेर निर्यात गर्न सकिन्छ । जनतामा सरसफाई, रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरूको बारेमा जनचेतना बढेको छ । वैदेशिक रोजगारी र विप्रेषण भरपर्दो र दीर्घकालीन स्रोत होइन भन्ने कुरा प्रमाणित भएको छ । मुलुकको कुनाकन्दरा, गाउँघरमा बाँझै रहेका जमीनहरूमै पसिना बगाउनु नै भरपर्दो मार्ग हो भन्ने देखिएको छ । व्यापार गरेर मात्र हुँदो रहेनछ, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगमै जोड दिनुपर्दोरहेछ भन्ने ज्ञान भएको छ ।

संक्रमणबाट सिर्जित आर्थिक प्रभाव न्यूनीकरण गर्नमा निजी क्षेत्रले पनि सहयोग गर्नु आवश्यक छ । संकटको घडीमा मानवीय नाताले पनि कृत्रिम अभाव, कालोबजारी र महँगी बढाएर बढी मुनाफा कमाउनेतर्फ लाग्नु सर्वथा उचित होइन भन्ने कुरालाई पनि नजरअन्दाज गर्नु हुँदैन । सर्वसाधारणले पनि आफू बाहेक अरूको ख्यालै नगरी धेरै सामान एकै पटक खरिद गरेर सञ्चय गरी कृत्रिम अभाव सिर्जना गर्नु उचित हुँदैन । यही वेला हो बाँच र बाँच्न देऊ । सर्वजन हिताय, सर्वजन सुखायको मूल मन्त्रको कार्यान्वयन गर्ने । सबै क्षेत्रको सामूहिक प्रयास हुने हो भने कोरोना भाइरसको संक्रमण र त्यसबाट पर्ने आर्थिक, वित्तीय प्रभावलाई पनि निस्तेज पार्न सकिन्छ भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।