लकडाउनले स्वाट्टै घट्यो विद्युतको माग, ढुक्क भएर विद्युत् खपत गर्न प्राधिकरणको आग्रह

Mar 25, 2020 03:11 PM merolagani



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो । 

विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ । घरायसी प्रयोजनका लागि मात्रै विद्युत्को प्रयोग भइरहेकाले अहिले विद्युत्को लोड घटेको हो।

लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युत्को अधिकतम माग (पिक डिमाण्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ । पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो।

मंगलबार राति विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ। बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ । मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट रहेको प्राधिकरणले जनाएको छ।

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग पनि ह्वातै घटेको छ । लकडाउनभन्दा पहिले विद्युत्को अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको छ । काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत्को माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत्को माग १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने। ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्याँसको अभावमा भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ।’

घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउन लकडाउनको बेला पनि कर्मचारीहरु चौबीसै घण्टा तयारी अवस्थामा रहेको बताए।

विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन । घिसिङकाअनुसार, अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ । उनले राति विद्युत्को लोड घटेकाले प्राधिकरणका विद्युत्गृह बन्द गर्नु पर्ने अवस्था रहेको बताए। प्राधिकरणले आफ्ना स्वामित्वका, निजी क्षेत्रका विद्युत्गृहबाट उत्पादित विद्युत्बाट आपूर्ति गरिरहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।