मुलुकको साझा समस्या सामूहिक रुपमा समाधान गरौं: अर्थमन्त्री

Apr 03, 2020 05:39 PM Merolagani



अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका छन्।

कोरोना रोगको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँगको छलफलमा अर्थमन्त्री खतिवडाले साझा समस्यालाई साझा रुपमै समाधान गर्नुपर्ने समय आएकाले सबैजना आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताएका हुन्। 

मन्त्री डा. खतिवडाले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको संक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पु¥याउने कामलाई प्राथमिकतामा राखेको समेत जानकारी गराए।

सरकारले समयमा नै चालेको कदमहरुबाट हालसम्म संक्रमित व्यक्तिको संख्या सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सराह्ना गरिएको बताए। 'संघीय संरचना अनुरुप जनप्रतिनिधिहरुको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज हुने भएकोले स्थानीय तहलाई संक्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रिय रुपमा परिचालित गर्न पाइएको छ', उनले भने।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको जानकारी गराउदै उनले नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र विदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कुटनीतिक तहमा पहल भएकोे समेत स्पष्ट पारे।

मन्त्री खतिवडाले विश्वभर मानव जातिको सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्षले विना स्वार्थ कोरोना न्यूनीकरण तथा रोकथाममा लाग्नुपर्ने बताए। कोरोना संक्रमण रोकथामका लागि अरु मुलुकहरुले चालेका कदमहरुको सूक्ष्म विश्लेषण गर्ने र नेपालले अपनाउनुपर्ने थप सावधानी तथा कोरोना जोखिम समाप्ति पछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गरिने उनले बताए।

छलफलमा सहभागीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयहरुले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ बताए। स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पु¥याउन ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड दिए।

साथै, सामाजिक सुरक्षामा ध्यान दिदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिहरुको मनोवल बढाउनुपर्ने, आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने, मितव्ययिताको नीति अबलम्वन गर्नुपर्ने तथा खरिद बिक्री पारदर्शी बनाउनु पर्ने लगायतका विषयमा छलफलमा सहभागिहरुले जोड दिएका थिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीश चन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीले आफ्ना धारणा राखेका थिए। छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, सदस्यहरु, अर्थ सचिव, राजस्व सचिव र राष्ट्रिय योजना आयोगका सचिव लगायत सहभागी थिए।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।