निरन्तरको लकडाउनले धर्मराउन थाल्यो ३० अर्ब लगानीको दूग्ध व्यवसाय

May 21, 2020 07:26 PM Merolagani

ज्योति शाह ।
फागुनको पहिलो साता कपिलवस्तुकी सुनिता पौडेलले ६० हजार रुपैयाँ नगद तिरेर लैनौ जर्सीगाई किनिन्। गाईले एक पटक दुहुँदा तीन लिटरका दरले दैनिक ६ लिटर दूध दिन्थ्यो। घरका लागि दूध छुट्याएर दिनमा औषत पाँच लिटर दूध सुनिताले डेरीलाई बेच्थिन्।

घरबाट पाँच मिनेटको साईकल यात्राको दूरीमा रहेको दूग्ध संकलन सहकारीलाई उनले दूध बिक्री गर्थिन्। गाईलाई दाना र अन्य खर्च कटाएर दूधबाट सुनिताले घर खर्चका लागि राम्रै आम्दानी गर्दै आएकी थिईन्। चैत ११ गते पनि सुनिता दूध लिएर संकलन केन्द्र पुगिन् तर संकलकले 'आज ल्याउनु भयो लिएँ, भोलीबाट दूध नल्याउनु होला' भनेको उनी सम्झिन्छिन्।

देशभर कोरोनाका कारण लकडाउन शुरु भएको र दूधको खपत नभएकाले दूध संकलन हुन नसक्ने जानकारी सहकारीले गराएको सूनिता बताउँछिन्। ‘दूध बिक्न छाड्यो, दैनिक सात लिटर दूध के गर्ने? छेलो खेलो भएको छ,’ सुनिताले भनिन्। लकडाउनले आम्दानीको स्रोत रोकिदा दुई महिना यता घर धान्न धौधौ परेको तथा छिमेकीलाई बाँड्नु परेको उनले सुनाईन्। कोरोनाका कारण साना ठूला सबै कृषक तथा डेरी व्यवसाय संकटको अवस्थाबाट गुज्रिएको नेपाल डेरि एशोसिएसनले जनाएको छ।

लाखौँ लिटर दूध सहर आउन सकेनन्   

नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ। जसमध्ये सामान्य अवस्थामा दूध उत्पादक किसानबाट संकलकमार्फत शहरमा दैनिक ३१ लाख लिटर दूध आउने गरेको नेपाल डेरी एशोसिएसनले जनाएको छ। जसमध्ये १७ प्रतिशत औपचारिक रुपमा प्याकेजिङ भएर बजार जाने गरेको र बाँकी दूध विभिन्न च्यानलबाट बजारमा बिक्रि हुने गरेको एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए। यसरी दूध बिक्रि हुँदा शहरबाट गाउँमा दैनिक पाँच करोड रुपैयाँ जाने गरेको उनको भनाई छ। दूध उत्पादनमा लगभग आत्मनिर्भर रहेको मुलुकमा कोरोनाका कारण गंभिर संकट आएको एशोसिएसनले जनाएको छ। महासचिव दाहालका अनुसार ३१ लाख लिटर दैनिक बजारमा आउने दूधमा अहिले ८० प्रतिशतले गिरावट आएको छ।

दैनिक ३ लाख लिटर दूध बिक्री गर्न आउछन् किसान

निजी क्षेत्रले दूध बजार आउनै नसकेको भनिरहँदा नेपाल दुग्ध विकास संस्थानमा थेगी नसक्ने गरी दूध आइरहेको दुग्ध विकास संस्थानका योजना तथा बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले बताए। झाका अनुसार दुग्ध विकास संस्थानको कथा बेग्लै छ। विशेष गरी यस अघिका वर्षमा चैतदेखि भदौसम्मको समय दुग्ध व्यवसायका लागि सुख्खा सिजन हो। यो अवधिमा कम मात्र दूध सङ्कलन हुने गर्छ। यो अवधिमा धेरै दूध सङ्कलन गर्न किसानलाई थप आकर्षक योजना ल्याउने गरिन्छ। लकडाउन अघि संस्थानले यस बर्षका लागि किसानलाई आकर्षक प्याकेज सहित अन्य योजना बनाएर ठिक्क पारिरहेको थियो। जसमा किसानलाई इन्सेन्टिभ दिने, प्राइभेट डेरीबाट दूध किन्ने र अन्तर्राष्ट्रिय बजारबाट धुलो दूध किन्ने रहेका छन्। तर, लकडाउनले पुरै योजना उल्टाइदिएको झाले बताए।

यतिबेला यसै पनि दूध कम आउने समय हो। तर, लकडाउनले निजी क्षेत्रका व्यवसायीले दूध उठाउन छाडेपछि सबै किसान दूध बेच्न दुग्ध विकास संस्थान पुगेका छन्। यतिबेला दैनिक तीन लाख लिटरसम्म दूध संस्थानमा आउने गरेको छ। खपत हुने दूध बिक्री गर्ने नभएकोलाई प्रशोधन गरी अन्य उत्पादन गर्न थालिएको थियो। दुई महिनाको अवधिमा संस्थानले बिक्री नभएको दूधलाई मिल्क पाउडर र बटर बनाउने गरेको छ। नेपालमा तीन ठाउँमा मात्रै दूधलाई पाउडरमा परिणत गर्न सकिन्छ। एक विराटनगर दुग्ध विकास संस्थान र सुजल डेरीले पाउडर बनाउन सक्छ।

यतिबेला विराटनगर दुग्ध विकास संस्थाले दैनिक क्षमता अनुसारको पाउडर बनाउँदै आएको छ। क्षमताभन्दा बढी दूध आएपछि संस्थानले सुजललाई समेत पाउडर बनाउन प्रयोगमा ल्यायो। यसरी उत्पादित अन्य उत्पादनको स्टक बढ्दै गयो। हालसम्म साढे आठ सय ३० मेट्रिक टन धुलो दूध उत्पादन भईसकेको छ। ६ सय मेट्रिक टन बटर उत्पादन भएको छ।

लगातार उत्पादन हुने तर खपत नहुने भएपछि स्टक राख्ने ठाउँकै अभाव भएको छ भने लगानी समेत बढ्दै गएको छ। पछिल्लो समय एक अर्ब रुपैयाँसम्मका उत्पादन संस्थानमा थुप्रिएका छन्। जसको बिक्री नभएको कारण प्रशासनिक खर्च व्यवस्थापन गर्न र किसानलाई भुक्तानी गर्न समेत मुस्किल हुन थालेको झाले बताए। उत्पादित सामाग्री राख्ने ठाउँ नभएपछि यतिबेला किसानले ल्याएको दूध खरिदलाई कटौती गर्नुको विकल्प नरहेको झाको भनाइ छ।

केही समयदेखि दूध बिक्री समेत घटेको छ। यतिबेला दैनिक ८० हजार लिटर दूध प्याकिङ गरी बजारमा बिक्री हुने गरेको छ भने लकडाउन अघि एक लाख २० हजार लिटर दूध बिक्री हुने गरेको थियो।

काठमाडौँ उपत्यकामा ७० हजार लिटर दूध बिक्री भइरहेको छ। लकडाउन अघि उपत्यकामा एक लाख लिटरभन्दा बढी बिक्री हुने गरेको थियो। समग्रमा यति बेला ३५ प्रतिशतसम्म दूधको व्यापार खस्किएको झा बताउछन्।

उता हिमाली क्षेत्रमा समेत संस्थानले व्यवसाय शुरु गरेको थियो। 'भिजिट नेपाल'लाई लक्षित गर्दै संस्थानले याकको चिज उत्पादन शुरु गरेको थियो। गत वर्ष उसले याकको दूधबाट ५५ मेट्रिक टन याक चिज बनाएर स्टक राखेको छ। जुन 'भिजिट नेपाल' रद्द हुनु र लकडाउनले त्यो उत्पादन स्टकमा नै थन्किएको छ। किसानलाई दूधको भुक्तानी गरिसकिएको छ। यता उत्पादन बिक्री भएकै छैन। यो वर्ष पुन: दूध सङ्कलन गर्ने सिजन शुरु भएको छ। अब दूध लिने नलिने दुविधामा संस्थान छ। लिए उत्पादन गर्न सक्ने क्षमता छैन, नलिए किसान पलायन हुने खतरा रहेको झाले बताए।     

तीन अर्ब घाटा

घर परिवारको खपत बाहेक ठूलो मात्रामा दूधको खपत हुने क्षेत्र विद्यालय, होटल, पार्टी प्यालेस जस्ता ठाउँ बन्द हुँदा कृषक तथा व्यवसायीले ठूलो नोक्सानी ब्यहोर्नु परेको व्यवसायीको गुनासो छ। लकडाउनको दुई महिना अवधिमा दूग्ध व्यवसायमा लाग्ने व्यवसायी तथा कृषकले झण्डै तीन अर्ब रुपैयाँ नोक्सानी बेहोरेको दाहालको दाबी छ।

दश अर्बको उत्पादन मौज्दात

दूग्ध पदार्थ खेर जान नदिन उपलब्ध स्रोत साधन प्रयोग गरेर बटर र धूलो बनाउन व्यवसायीहरुले काम गरिरहेको उनले बताए। आईसक्रीम, पनिर जस्ता दूग्धजन्य पदार्थको खपत नभएका कारण बटर र धुलो दूध गरेर झण्डै १० अर्ब रुपैयाँको उत्पादन मौज्दात रहेको एशोसिएसनले जनाएको छ।

दूग्ध पदार्थको बिक्रिमा आएको ह्रासले देशभरका पाँच लाख तीन सय कृषक परिवारमा सिधा असर परेको बताइएको छ। देशभर दूग्ध व्यवसायमा २० हजार रोजगारी संकटमा परेको छ। लकडाउन लम्बिदै गए, बजार बन्दको अवस्था रहे, मौज्दात वस्तुको उपभोग्य समय अवधि सकिन थाल्ने छ। लकडाउनमा बिक्री नभएर वैकल्पिक उत्पादनमा खर्च गरिएको रकम समेत डुब्नेछ। त्यसले  ठूलो घाटा हुने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्।

सरकारबाट अपेक्षा

डेरी सञ्चालकको नगद पूँजी उत्पादन नबिके पछि फ्रीज भएको र डेरी खुलेको दिनबाट सञ्चालनमा कठिनाई हुने व्यवसायीको चिन्ता छ। ठूलो मात्रामा दूग्धजन्य वस्तु मौज्दात रहेका डेरीहरुलाई सरकारले सहुलियतमा ऋण उपलब्ध गराउनु पर्ने, ऋण लिएर यो क्षेत्रमा लागेका कृषक तथा व्यवसायीलाई ब्याज दरमा छुट दिनु पर्ने दाहाल बताउँछन्। सरकारले बजेटमार्फत बिजुली महसुलमा छुट दिनुपर्ने, आयात हुने दूग्धजन्य पदार्थलाई बन्देज लगाउनु पर्ने र रुग्ण उद्योगको परिभाषामा राखेर दूग्ध उद्योगी तथा कृषकलाई सहुलियत दिनुपर्ने व्यवसायीले माग गरेका छन्।

दुग्ध विकास बोर्ड के गर्दैछ?

यता दुग्ध विकास बोर्डले दुग्ध व्यवसायमा परेको प्रभाव र त्यसको समाधानका लागि अध्ययन  समन्वय गरिरहेको दुग्ध बिक्री बोर्डका एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्र यादवले जानकारी दिए। उनका अनुसार स्कुल, होटेल, कल कारखाना, विवाह, भोज, उत्सव लगायत नहुँदा दूध बिक्री ३५ प्रतिशत घटेको छ। किसानले उत्पादन गरेको दूध खरिद गर्न कुनै कन्ज्युस्याई गरिएको छैन। जति पनि दूध आएको छ त्यसलाई खरिद गर्ने र बिक्री नभएको दूधलाई अन्य उत्पादन ‘एसएमपि’ गरिने गरिएको छ। यतिबेला विराटनगर, पोखरा र चितवनका उद्योगबाट काम गर्न लगाइएको यादवले बताए।

बोर्डले कसैगरी पनि किसानले उत्पादन गरेको दूध खेर नजाओस् भन्ने हेतुले काम गरिरहेको छ। ढुवानीमा समस्या नआओस् भनेर दूधका गाडीलाई यस्तो बेलामा समेत निर्बाध कुद्न पाउन भनेर समन्वय गरिएको छ। त्यही भएर लकडाउनमा समेत दूधको अभाव हुन दिइएको छैन। यतिबेला उब्रिएको दूधबाट अन्य उत्पादन गरिँदैछ। तर, त्यो उत्पादनको उपभोग मिति एक वर्षसम्म हुन्छ। त्यो एक वर्षपछि खेर जाने अवस्था हुनसक्छ। त्यो उत्पादन खेर नजाओस् भन्नको लागि राहतमा समेत दूध र दूधबाट बनेका परिकार दिन सरकारलाई अनुरोध गरिएको छ। किनकि, कोरोनाबाट बच्न मानव शरीरमा इम्युनिटि पावर बढी चाहिन्छ। त्यो बढाउने सबैभन्दा बढी भिटामिन दूध मै हुने गर्छ। दूध भनेको कम्पिलिट फुड हो। दूधमा कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनरल्स जस्ता तत्व हुन्छन्। फेरि इम्युनिटि पावर बढाउने ल्याक्टो एलमोनिम र ल्याक्टो ग्लोबिन पनि दूधमै हुन्छ।

'दूध बिना राहत पूर्ण हुनै सक्दैन। चामलबाट कार्बोहाइड्रेट प्राप्त हुन्छ, दालबाट प्रोटिन। दूध पिए शरीरलाई चाहिने सबै भिटामिन पाइन्छ।' यसैले राहतमा दूध वितरण गरियोस् भनेर बोर्डले लगातार प्रयास गरिरहेको यादवको जिकिर छ। विदेशमा राहतमा दूध अनिवार्य राखिन्छ। तर, नेपालमा चामल र दाललाई प्राथमिकता दिइन्छ। जबकि दूध अनिवार्य गर्नुपर्ने हो। सर्वसाधारणले पनि दूधभन्दा अरू परिकार नै बढी खाने गरेका छन्। भातमा ८५ प्रतिशत दूध दैनिक उपभोक्ताले उपभोग गर्छन्। बाकी १५ प्रतिशत अन्यले उपभोग गर्ने हो। तर, नेपालमा ठिक उल्टो छ। ८५ प्रतिशत अन्यले र १५ प्रतिशत उपभोक्ताले मात्रै उपभोग गर्ने गरेका छन्।

राहतका लागि मात्रै नभएर जहाँ, जसले दूध उत्पादन गरिरहेको छ। उसलाई पनि दूधको सेवन गर्न बोर्डको अनुरोध छ। पहिलेभन्दा बढी दूध किसान आफैले खपत गर्ने र बाँकी रहेको मात्र बिक्रीका लागि ल्याउन बोर्डले अनुरोध गरिरहेको छ। स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सर्वसाधरणलाई समेत दूधको सेवन गर्न प्रोत्साहित गर्न थालिएको छ। यसले उनीहरूको स्वास्थ्य समेत राम्रो हुने र दूधको उत्पादन समेत खेर नजाओस् भनेर यस्तो अनुरोध गरिएको यादवले बताए

बोर्डले यो व्यवसायमा संलग्न व्यक्तिहरुका लागि समेत राहतको माग गरेको छ। बोर्डले दूध वितरणमा खटिएका व्यक्ति, दूध उत्पादन गर्ने किसान, उद्योग, एसोसिएशन लगायतलाई निश्चित राहतको व्यवस्था गरिदिन  सरकारलाई समेत अनुरोध गरिएको यादवले बताए। 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।