कोरोना भाइरसले धनीको सम्पत्ती घट्यो, गरिबको चुल्हो बल्न छाड्यो

Jul 31, 2020 11:41 AM Merolagani

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण धनीले पहिला कमाएको सम्पत्ती गुमाउँदै गएका छन् भने गरिबको घरमा चुल्हो बल्न छाडेको छ।

अहिले धनी वर्ग कोरोनाका कारण गुमेको सम्पत्ती कसरी प्राप्ति गर्ने भन्नेमा र गरिब वर्ग सहज रूपमा बिहान बेलुकाको हातमुख जोर्न कसरी सकिन्छ? भन्ने चिन्तामा छन्। दुबै वर्ग अहिले आ–आफ्नै ‘चिन्ता’ मा छन्।

कोरोनाका कारण दुबै वर्ग (धनी र गरिब) चिन्तामा भएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन्। ‘धनी वर्गले त सम्पती मात्रै गुमाउँदैछन्,’ उनले भने, ‘गरिब नागरिकको त चुलो बल्न छाडेको छ।’ दुबैको साझा समस्या ‘चिन्ता’ बनेको उनको भनाइ छ।

के धनी के गरिब दुबै वर्गलाई अहिले चयन छैन्? दुबै वर्ग अहिले चिन्तामा छन्।

पछिल्लो समय नेपालमा कोरोना भाइरस समुदायमा स्तरमा फैलिन्छ कि भन्ने भय बढेको छ। समुदायमा फैलियो भने यसले झनै नागरिकको आर्थिक अवस्था डामाडोल बनाउने अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन्।

‘क्यालीफोर्निया, स्पेन, अष्ट्रेलिया, सिंगापुर, चाइना लगायतका मुलुकमा कम भइसकेको कोरोना भाइरस पुनः फैलिएको छ,’ उनले भने, ‘नेपालमा पनि त्यसैगरी कोरोना भाइरसले भयावह रूप लिएको खण्डमा त्यसले अर्थतन्त्रलाई अझै तहसनहस बनाउने छ।’

कोरोना भाइरसको महामारीले नेपालमा मात्र होइन विश्वव्यापी रूपमा नै त्रास फैलाएको छ। विश्वको अर्थतन्त्रलाई नै ठूलो असर पारेको छ। सन २००८/०९ मा विश्व अर्थतन्त्रमा आएको मन्दीलेभन्दा अहिलेको कोरोना भाइरसले अर्थतन्त्रलाई तहसनहस पार्ने देखिएको छ।

विश्वभर कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने उपायको खोजी गर्न थालिएको छ। नेपालमा पनि कोरोना भाइरसले अर्थतन्त्रमा परेको प्रभावलाई कम गर्ने उद्देश्यले राष्ट्र बैंकले साउन २ गते मौद्रिक नीति मार्फत विभिन्न सहुलियतका कार्यक्रम ल्याएको छ।

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले कोरोना भाइरसले पुर्याएको क्षतिलाई कम गर्न विभिन्न राहत प्याकेजको घोषणा गरेको छ। अष्ट्रेलिया, बेलायत, भारतलगायतका मुलुकले पनि राहत प्याकेजका कार्यक्रम ल्याएका छन्।

अमेरिकाले साना तथा मझौला उद्योगलाई उद्धार गर्ने गरि राहत प्याकेज ल्याएको छ। दैनिक जीवन निर्वाह गर्ने व्यक्तिको बीमा गरिदिनुका साथै कोरानाका कारण रोजगारी गुमाएका नागरिकलाई नगद १२५० डलर दिने घोषणा गरिसकेको छ।

कोरोना भाइरसले अर्थतन्त्रमा पु्र्याएको क्षतिलाई कम गर्न भारतले पनि राहत प्याकेज ल्याएको छ। भारत सरकारले ल्याएको उक्त प्याकेजले पनि आर्थिक अवस्था कमजोर भएका भारतीय नागरिकको बीमा गरिदिने र दैनिक जीवन निर्वाहका लागि जिन्सी तथा नगद नै दिने भएको छ।

कारोना भाइसरले पुर्याएको क्षतिलाई उकास्न बेलायत, अष्ट्रेलियालगायतका देशले पनि राहत प्याकेज ल्याएका छन्। अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वव्यापी रुपमा अर्थतन्त्र मन्दीमा गएको घोषणा गरेको छ। आइएमएफले विश्वको अर्थतन्त्रलाई उकास्न २५ खर्ब डलर आवश्यक पर्ने बताएको छ।

महामारीको आर्थिक चपेटबाट बाहिर ल्याउन धेरै ठूलो आर्थिक प्याकेजको जरुरी रहेको आइएमएफले बताएको छ। हालसम्म ८० भन्दा बढी देशहरूले आइएमएफबाट आपतकालीन सहयोगको लागि अनुरोध गरेका छन्।

विश्वका धेरै मुलुकले राहत प्याकेज ल्याएर साना तथा मझौला उद्योग र नागरिकको जीवनस्तर सहज पार्ने उद्घोष गरिरहेका छन्। कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पनि नराम्रो धक्का दिएको छ।
अहिले पनि २९ प्रतिशत नागरिक गरिबीको रेखामुनी छन्। त्यसमा पनि २१ प्रतिशत नागरिक अत्यान्त गरिब छन्। ती नागरिकको आय अत्यन्त न्यून छ।

अत्यन्त गरिब वर्गको त ७ दिनलाई खाना जोहो गर्ने पैसा पनि नपुग्ने अर्थविद् अधिकारी बताउँछन्।

कोभिड–१९ महामारीले विश्वभर मानवीय संकटका साथै आर्थिक संकट उत्पन्न भएको छ। विश्व अर्थतन्त्र सन् १९३० को दशकको महामन्दीपछिको सबैभन्दा ठूलो संकुचनमा गएको छ। विश्वले एकै पटक स्वास्थ्य संकट र आर्थिक संकट व्यहोर्नु परेका कारण गरिबी, बेरोजगारी र आय असमानता बढ्ने अनुमान गरिएको छ।

कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी रुपमा अवलम्बन गरिएका उपायहरूबाट उत्पादनदेखि आपूर्तिसम्मका श्रृंखला अवरुद्ध भई विश्व अर्थतन्त्र संकुचनमा गएको हो। अन्तरराष्ट्रिय मुद्राकोषले जुन २०२० मा अद्यावधिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ।

विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०१९ मा १.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ८ प्रतिशतले संकुचन हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ। उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०१९ मा ३.७ प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण छ।

एशियाली अर्थतन्त्र सन् २०२० मा १.६ प्रतिशतले संकुचन हुने अन्तरराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ। यसमध्ये भारतको अर्थतन्त्र ४.५ प्रतिशतले संकुचन हुने र चीनको अर्थतन्त्र १ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ।

नेपालको पनि आर्थिक वृद्धिदर खुम्चिएर नकारात्मक हुने हो कि भन्ने चिन्ता अर्थविद्हरूले गर्दै आएका छन्। अघिल्ला तीन वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरेको नेपालले गत वर्ष र चालु आर्थिक वर्षमा भने आर्थिक वृद्धिदर ज्यादै न्यून हुने प्रक्षेपण गरिदै आएको छ।


comments powered by Disqus

कारोबार भइरहेको कम्पनी बन्द हुँदा लगानीकर्तामा मनाैबैज्ञानिक असर,यसरी बन्द हुन्छ कम्पनी

Aug 06, 2020 06:52 PM
  • सुधा देवकाेटा

केही दिन पहिले दोस्रो बजारमा कारोबार भइरहेको श्रीराम सुगर मिलले सञ्चालनमा आउन नसक्ने भन्दै कम्पनी बन्द गर्ने निर्णय बजारमा आएसँगै यसले चर्चा पाएको छ । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता आफूले लगानी गर्ने कम्पनी बन्द भएको खण्डमा के होला भन्ने प्रश्नकाे उत्तर खाेज्न थालेका छन् ।